फेवातालमा पौडी खेल्दा डुबेर एक युवाको ज्यान गयो

-


     पोखरा क्लिक     
     जेठ ७ गते २०८३ मा प्रकाशित


पोखरा, ७ जेष्ठ

पोखराको प्रसिद्ध पर्यटकीय स्थल फेवातालमा पौडी खेल्ने क्रममा डुबेर कास्कीका एक युवकको ज्यान गएको छ । पोखरा महानगरपालिका–११, काहुँखोलाका करिब २७ वर्षीय रिवाज गुरुङ फेवातालमा पौडी खेल्दै गर्दा बेपत्ता भएका थिए । घटनाबारे खबर पाएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण कालिका कास्कीबाट उद्धार टोली परिचालन गरिएको थियो। टोलीको नेतृत्व सशस्त्र प्रहरी सहायक निरीक्षक अमृत क्षेत्रीले गरेका थिए र उनीसँग १३ जना सदस्यको टोली थियो। टोलीमा विशेषज्ञ डाइभर र डिएम टिम पनि समावेश थिए ।

उद्धार टोलीले रातभरै खोजी कार्य जारी राख्दा रिवाज गुरुङलाई अचेत अवस्थामा फेवातालबाट उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो। तर अस्पतालमा चिकित्सकहरूले जाँच गर्दा उनलाई मृत घोषणा गरेका थिए । सशस्त्र प्रहरीका अनुसार गर्मी बढेसँगै तालमा पौडी खेल्नेहरूको संख्या बढेको छ, तर पर्याप्त सावधानी नअपनाउँदा यस्ता दुखद घटनाहरू दोहोरिन थालेका छन्।