पोखरामा मंगलबार तेस्रो संस्करणको ‘तरबुजा मेला २०८३’ हुने, स्थानिय तरबुजा प्रति केजी ५५ मा उपलब्ध हुदै

-


     पोखरा क्लिक     
     जेठ ४ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,
पोखरा ४, जेठ,

पोखरामा भोलि (मंगलबार) तेस्रो संस्करणको ‘तरबुजा मेला २०८३’ हुने भएको छ । कृषि उत्पादनसँगै कृषि पर्यटनलाई जोड्ने उद्देश्यले मंगलबार पोखरामा पोखरा १३ को वडा कार्यालय परिसरमा तरबुजा मेला हुने भएको पोखरा महानगरले पोखराक्लिकलाई जनाएको छ ।

वडास्तरीय कृषि सञ्जाल पोखरा १३ को व्यवस्थापन र पोखरा महानगरपालिका, पोखरा महानगरपालिका वडा नम्बर १३ र महानगरको कृषि विकास महाशाखाको आयोजनामा उक्त मेला र तरबुजाको प्रर्दशनी सहित केही सहुलियत दरमा प्रतिकजी ५५ रुपैयामा तरबुजा बिक्रि गरीने भएको पोखरा महानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले बताउनु भयो । मेलामा सबैभन्दा ठूलो तरबुजा उत्पादन गर्ने, धेरै क्षेत्रफलमा खेती गर्ने तथा सबैभन्दा गुलियो तरबुजा फलाउने कृषकलाई सम्मान गरिने भएको उहाँले बताउनु भयो । मेलामा तरबुजा प्रदर्शनी, निःशुल्क स्वाद परीक्षण, तरबुजा खाने प्रतियोगिता, सफल किसानका अनुभव आदानप्रदान, प्राविधिक परामर्श, बाली उपचार शिविर तथा विशेष छुटमा ताजा तरबुजा बिक्री वितरणजस्ता आकर्षक कार्यक्रम समावेश गरिएको आर्थिक विकास महाशाखा प्रमुख कडरियाले बताउनु भयो ।
महानगरले कृषकलाई तरबुजा खेतीतर्फ आकर्षित गर्न बीउ तथा मल्चिङ प्लास्टिक खरिदमा ५० प्रतिशत अनुदान उपलब्ध गराएको थियो । महानगरका वडा नं. १३, १४, १६, २१, २२, २३, २६, ३०, ३२ र ३३ मा अहिले व्यावसायिक रूपमा तरबुजा खेती भइरहेको छ ।

पोखरा १३ का युवा किसान रोशन बरालले यस बर्ष करिब २० रोपनी क्षेत्रफलमा तरबुजा खेति गर्नु भएको छ । केही दिन अघि देखि उहाँले तरबुजा पोखराका विभिन्न कृषि हार्ट बजारमा समेत लगेर बिक्रि गर्न सुरु गर्नु भएको छ । पोखरामा उत्पादन हुने तरबुजा स्वादिलो हुनुका साथै रासायनिक मलको प्रयोग कम हुने भएकाले उपभोक्तामाझ लोकप्रिय बन्दै आएको किसानहरु बताउनु हुन्छ । पोखरा १३ का वडाध्यक्ष किरण बरालले कृषकको पसिना र मेहनतको सम्मान गर्दै स्थानीय उत्पादनलाई बजारसँग जोड्ने प्रयासस्वरूप तरबुजा मेला आयोजना गरिएको बताउनु भयो । यसले कृषकको व्यवसाय प्रवद्र्धनमा थप सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । यस वर्ष असिना र निरन्तर वर्षाका कारण केही क्षति भए पनि उत्पादन उत्साहजनक रहने अपेक्षा गरिएको छ । अहिले बजारमा स्थानीय तरबुजा प्रतिकेजी ५० देखि ६० रुपैयाँसम्ममा बिक्री भइरहेको छ भने करिब ४ सय टन उत्पादन हुने अनुमान गरिएको छ ।