
दीननाथ बराल,
पोखरा, १ जेठ,
पर्यटनको राजधानि पोखरामा रात्रिकालिन व्यवसाय रातभर संचालन हुदै आएको अबस्थामा एकाद ठाँउमा प्रश्न उठ्न थालेसंगै व्यवसायीहरुले पहिलाकै अबस्थामा फर्काउने गरी रात्रि २ः०० बजेसम्मको लागि व्यवसाय संचालनको अनुमति दिन माग गर्नु भएको छ । पोखराको लेकसाइड, ड्यामसाइड लगायत पर्यटकीय क्षेत्रमा बढ्दो हो–हल्ला, ध्वनी प्रदूषण, अव्यवस्थित गतिविधि र शान्ति सुरक्षामा असर परेको भन्दै व्यवसायीहरुले अनुगमनलाई प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय कास्कीसँग माग पेश गर्दै आज (शुक्रबार) ध्यानाकर्षण गराउनु भएको हो ।

पोखराका पर्यटन व्यवसायीहरुको छाता संस्था पोखरा पर्यटन परिषद सहित होटल संघ पोखरा नेपाल, टान गण्डकी, रेवान पोखरा सहित पोखराका करिब दुई दर्जन पर्यटन तथा व्यवसायिक संघसंस्थाले शुक्रबार प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई संयुक्त ध्यानाकर्षण पत्र बुझाउँदै ४२ बुँदे आचारसंहिताको कडाइका साथ कार्यान्वयन गर्न माग गर्नु भएको हो । उहाँहरुले राति २ बजेपछि सम्पूर्ण रात्रिकालिन व्यवसाय सञ्चालनमा रोक लगाउन समेत माग गर्नु भएको परिषदका अध्यक्ष तारानाथ पहारीले पोखराक्लिकलाई जनाउनु भयो । यसअघि जिल्ला प्रशासन कार्यालय कास्की, पोखरा महानगरपालिका तथा पर्यटन व्यवसायीबीच भएको सहमतिअनुसार लेकसाइड, ड्यामसाइड लगायत केही क्षेत्रलाई ४२ बुँदे आचारसंहिता पालना गर्ने शर्तमा २४ सै घण्टा वा रातभर सञ्चालन गर्न दिने निर्णय गरिएको थियो । तर, प्रभावकारी अनुगमन नहुँदा सहमति कार्यान्वयन हुन नसकेको व्यवसायीहरुको गुनासो छ ।
ध्यानाकर्षण पत्रमा पछिल्लो समय सबै प्रकारका पसलबाट जथाभावी मदिरा बिक्री हुने, सडकमा अनावश्यक हो–हल्ला गर्ने, रातभर ठूलो आवाजमा मोटरसाइकल कुदाउने तथा पड्काउने, लागुऔषध प्रयोग र झै—झगडाका घटना बढ्दै गएको परिषदका अध्यक्ष पहारीले गुनासो गर्नुभयो । यस्ता गतिविधिले पर्यटक तथा स्थानीयवासी त्रसित बनेको र पोखराको पर्यटकीय छविमै नकारात्मक असर परेको उहाँले जनाउनु भयो ।
त्यसैगरी, विभिन्न चोक तथा सडक क्षेत्रमा होटलका कर्मचारी वा सञ्चालकले मोटरसाइकल तथा स्कुटर प्रयोग गरी पर्यटकलाई जबर्जस्ती होटलतर्फ लैजान खोज्ने, प्रलोभन देखाउने तथा पछ्याउने कार्य बढेको भन्दै त्यस्ता गतिविधिमा संलग्नमाथि कारबाही गर्न माग गरिएको होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनु भयो । व्यवसायीहरुले यस्ता घटनाले पर्यटकको स्वतन्त्र रोजाइ र सुरक्षामाथि असर पुगेको उहाँले जनाउनु भयो । पत्रमा पर्याप्त सीसीटीभी क्यामेरा जडान तथा मर्मत अभाव, सुरक्षा साधनको कमी र समयमै दोषी नियन्त्रण गर्न कठिनाइ भइरहेको उल्लेख गर्दै पर्यटन क्षेत्रको शान्ति सुरक्षा कायम गर्न प्रशासनले नियमित अनुगमन र कडाइ गर्नुपर्नेमा जोड दिइएको छ । ध्यानाकर्षण पत्रमा पोखरा महानगर वडा नं. ६ का वडा अध्यक्ष विष्णुबहादुर भट्टराई लगायत विभिन्न पर्यटन तथा व्यवसायिक संघसंस्थाका प्रतिनिधिहरुको हस्ताक्षर रहेको छ ।





