पोखरा–२२ मा प्रथम भलिबल तथा ब्याडमिन्टन प्रतियोगिता हुने

-


     पोखरा क्लिक     
     वैशाख २७ गते २०८३ मा प्रकाशित


पोखरा,

पोखरा महानगरपालिका वडा नं.२२ स्थित कालिमाटी शान्ति स्तूप टोल विकास संस्थाको आयोजनामा आगामी जेष्ठ ९ गते वडा २२ अन्तगत “प्रथम भलिबल तथा ब्याडमिन्टन प्रतियोगिता” आयोजना हुने भएको छ । स्थानीय विद्यार्थी तथा युवाहरूको शारीरिक, मानसिक तथा सामाजिक विकासलाई मध्यनजर गर्दै प्रतियोगिता सञ्चालन गर्न लागिएको संस्थाले जनाएको छ ।

कार्यक्रमलाई सफल बनाउन विभिन्न टोल विकास संस्था, क्लब, आमा समूह, सहकारी संस्था तथा स्थानीय वडाबासीहरूको सक्रिय साथ र सहयोग रहने संस्थाका अध्यक्ष दिनेश बरालले बताए । शनिबार वडा जनप्रतिनिधि कृष्ण कुमारी देवकोटा, कोदि शान्ति स्तूप टोल विकास संस्था, टारी धैयाखेत टोल विकास संस्था, पुम्दीकोट टोल विकास संस्था, बिश्वकर्मा क्लब, सृजनाशील क्लब, कालिमाटी महिला समूह, शान्ति स्तूप आमा समूह, कोदि आमा समूह, ढुङेपानी आमा समूह, जनजागरण आमा समूह, पुम्दी भुम्दी सहकारी संस्था तथा स्थानीयबासीबीच प्रतियोगितालाई व्यवस्थित र प्रभावकारी बनाउने विषयमा बृहत छलफल सम्पन्न भएको छ।

संस्थाका अनुसार खेल मैदान निर्माणका लागि तिहारको अवसरमा घरदैलो अभियानमार्फत आर्थिक सहयोग संकलन गरिएको थियो भने स्थानीय टोलबासीको श्रमदानबाट मैदान निर्माण गरिएको हो । प्रतियोगिताले युवाहरूमा खेल भावना विकास गर्नुका साथै समुदायमा एकता, सहकार्य र सकारात्मक ऊर्जा अभिवृद्धि गर्ने विश्वास आयोजकले लिएको छ। कार्यक्रम सफल बनाउन सम्बन्धित सबै टोल तथा स्थानीयबासीको सहयोग अपेक्षा गरिएको संस्थाले जनाएको छ।

संस्थाका बरालका अनुसार भलिबल प्रतियोगिताको प्रथम पुरस्कार रु। २५ हजार तथा द्वितीय पुरस्कार रु। १५ हजार राखिएको छ। विभिन्न खेल विधामा गरी कुल करिब रु। ६० हजार बराबरको पुरस्कार व्यवस्था गरिएको जानकारी उनले दिएका छन् । साथै, स्थानीयवासीको साथ र सहयोगमा संस्थाले आर्थिक संकलन गरिरहेको तथा खेल मैदान व्यवस्थापन र सम्पूर्ण कार्यक्रम सम्पन्न गर्न करिब रु। २ लाख खर्च अनुमान गरिएको संस्थाले जनाएको छ।