
दीननाथ बराल,
पोखरा २३, वैशाख,
पोखरा लेडी जेसीजले युवाहरूको नेतृत्व विकास, सीप अभिवृद्धि र सामाजिक उत्तरदायित्व प्रवद्र्धन गर्ने लक्ष्यसहित ‘जेसीज सप्ताह २०२६’ आयोजना गर्ने भएको छ । ‘सीप र सेवाः सफल व्यक्ति, सुदृढ समाज’ भन्ने मूल मन्त्रका साथ सप्ताहव्यापी कार्यक्रम यही वैशाख २५ देखि ३१ गतेसम्म सञ्चालन गर्ने भएको आज(बुधबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
सार्वजनिक गरिएकोे कार्यक्रम तालिका अनुसार पहिलो दिन वैशाख २५ गते कन्या क्याम्पसमा उद्घाटनसँगै छात्रा लक्षित साइबर अपराध तथा बैंकिङ साक्षरता सम्बन्धी कार्यक्रम हुने भएको छ । उक्त कार्यक्रमको संयोजन सन्तोषी अर्यालले गर्नु हुने भएको छ भने दोस्रो दिन वैशाख २६ गते मादी गाउँपालिका–६ स्थित श्री महारुद्र माध्यमिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको हो । विशेष गरी ग्रामीण बासिन्दालाई लक्षित यस शिविरमा करिब २÷३ सय जनालाई सेवा दिने तयारी गरिएको संयोजन डा. नमिता अधिकारीले बताउनु भयो ।
तेस्रो दिन वैशाख २७ गते पोखरा–२० मा संघसंस्थाका पदाधिकारीलाई लक्षित माइन्यूट लेखन तथा वित्तीय साक्षरता तालिम सञ्चालन हुने छ । चौथो दिन वैशाख २८ गते पोखरा–१९ मा कृषक लक्षित कृषि स्वास्थ्य सचेतना तालिम तथा मल वितरण कार्यक्रम आयोजना हुने छ । पाँचौँ दिन वैशाख २९ गते पोखरा–३० मा संघसंस्थाका कोषाध्यक्ष तथा सचिव लक्षित विद्यालय पोशाक वितरण गरिनेछ भने सोही दिन आर्थिक रूपमा कमजोर विद्यार्थीका लागि लेखा व्यवस्थापन तथा उद्घोषण तालिम पनि सञ्चालन हुने छ ।
छैटौँ दिन वैशाख ३० गते पोखरा–२५ मा जनसमुदाय लक्षित प्रजनन स्वास्थ्य तथा बाँझोपन सम्बन्धी सचेतना तथा निःशुल्क शिविर आयोजना गरिनेछ । सप्ताह कार्यक्रमको समापन वैशाख ३१ गते सरोकारवालाको सहभागितामा गरिने छ ।
कार्यक्रमका मूल संयोजक विनिता केसीले सप्ताहभरि सञ्चालन हुने गतिविधिहरूले सीप विकास, स्वास्थ्य सचेतना, वित्तीय ज्ञान विस्तार तथा सामुदायिक सशक्तीकरणमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो । संस्थाकी अध्यक्ष सुनिता गौतम भण्डारीले कार्यक्रम सफल बनाउन सबै सरोकारवाला निकाय तथा सर्वसाधारणलाई सक्रिय सहभागिताको आह्वान गर्नुभयो ।
वि.सं. १९८९ मा स्थापना भएको पोखरा लेडी जेसीज १८ देखि ४० वर्ष उमेर समूहका महिलाहरूको संस्था हो, जसले नेतृत्व विकाससँगै समुदायमा प्रत्यक्ष योगदान पु¥याउँदै आएको छ । सप्ताहव्यापी कार्यक्रम सञ्चालनका लागि करिब ११ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान गरिएको महासचिव सृजना आले (ईसा) ले बताउनु भयो ।



