गण्डकी प्रदेशमा ४ बर्ष पछि भाडा समायोजन

-


     पोखरा क्लिक     
     वैशाख २३ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, २३ बुधबार,

गण्डकी प्रदेश सरकारले करिब ४ वर्ष पछि सार्वजनिक सवारी साधनको भाडादर समायोजन गरेको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको मन्त्रिस्तरीय निर्णयअनुसार नयाँ भाडादर आज (बुधबार÷वैशाख २३) देखि लागू हुने गरी सार्वजनिक गरेको हो ।

यसअघि २०७८ फागुन १ गते निर्धारण गरिएको भाडादरलाई संशोधन गर्दै हालको बजार मूल्यवृद्धि, विशेषगरी पेट्रोलियम पदार्थको मूल्यमा आएको तीव्र वृद्धि, तथा १३ वटा सूचक र प्रदेशको भौगोलिक अवस्थालाई आधार मानेर नयाँ दर कायम गरिएको मन्त्रालयकी प्रवक्ता मुना अधिकारीले बताउनु भयो । मन्त्रालयले नयाँ भाडादर लागू भएसँगै सबै सवारी साधनलाई सोही दरमा यात्रु ओसारपोसार गर्न निर्देशन दिएको छ । तोकिएको दरभन्दा बढी भाडा असुलेमा आवश्यक कारबाही गरिने प्रवक्ता अधिकारीले चेतावनी दिनु भएको छ । नयाँ समायोजनअनुसार गण्डकी प्रदेशमा सार्वजनिक सवारी साधनमा न्यूनतम ५.५५ प्रतिशतदेखि अधिकतम २४ प्रतिशतसम्म भाडा वृद्धि गरिएको छ । लामो दूरीका बसमा २३.५१ प्रतिशत, नगर बसमा २२.५५ प्रतिशत, ट्रकमा १४.५७ प्रतिशत र जिपमा ५.५० प्रतिशतसम्म भाडा बढाइएको छ । पोखरा उपत्यकामा सिटी बसको न्यूनतम भाडा २० रुपैयाँबाट बढाएर २४ रुपैयाँ कायम गरिएको छ भने ३ किलोमिटरभन्दा माथि प्रति किलोमिटर २.५ रुपैयाँबाट बढाएर ३ रुपैयाँ पु¥याइएको छ ।

ट्याक्सी सेवामा फ्ल्याग डाउन ८० रुपैयाँ यथावत राखिएको भए पनि पल्स दर बढाइएको छ । अब प्रति २ सय मिटर ११ रुपैयाँ तिर्नुपर्नेछ (पहिले १० रुपैयाँ थियो) । १५ किलोमिटरभन्दा माथि प्रति किलोमिटर ४३ रुपैयाँ लाग्नेछ । रात्रिकालीन सेवामा भने प्रति २ सय मिटर १७ रुपैयाँ निर्धारण गरिएको छ । बेलुका ९ बजे देखि बिहान ४ बजेसम्मको लागि रात्रिकालिन समय निर्धारण गरिएको हो । सामान ढुवानी गर्ने ट्रकको भाडा पनि उल्लेखनीय रूपमा बढाइएको छ । प्रति टन प्रति किलोमिटर ११.७२ रुपैयाँबाट बढाएर १५ रुपैयाँ कायम गरिएको छ । लामो समयसम्म भाडादर समायोजन नहुँदा यात्रु र व्यवसायीबीच विवाद हुँदै आएको थियो । इन्धनको मूल्य २०७८ मा पेट्रोल १३६ रुपैयाँ र डिजेल १२० रुपैयाँबाट बढेर हाल क्रमशः २१९ र २३७ रुपैयाँ पुगेपछि भाडा समायोजनको दबाब बढेको थियो ।

प्रदेश सरकारले यातायात क्षेत्रलाई व्यवस्थित बनाउन थप नियमहरू पनि लागू गरेको छ । ट्याक्सीमा जीपीएससहित मिटर जडान अनिवार्य गरिने, चालकले परिचयपत्र देखिने गरी राख्नुपर्ने, तथा सार्वजनिक सवारीमा निश्चित स्थानमा मात्र रोक्ने व्यवस्था गरिने बताइएको छ । विद्युतीय सवारी साधनको हकमा भने पुरानै भाडादर कायम राखिएको छ, जसले विद्युतीय सवारी प्रयोगलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ । लामो समय भाडा समायोजन नहुदा आफुहरु ठुलो मारमा परेको यातायात व्यवसायीहरुले गुनासो गर्दै आउनु भएको थियो । राष्ट्रिय यातायात व्यवसायी महासंघका प्रदेशका अध्यक्ष केदार प्रसाद पौडेलले अहिलेको अबस्थामा कम्तिमा पनि ३० प्रतिशत भाडा समायोजन हुनुपर्ने माग गर्नुभयो ।