
दीननाथ बराल,
पोखरा, वैशाख २०,
पोखरा बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बासिन्दाले वैकल्पिक व्यवस्था सुनिश्चित गरेर मात्र स्थानान्तरण गर्न माग गरेका छन् । उचित व्यवस्थापन नगरी हटाउने प्रयास भए चरणबद्ध आन्दोलन गर्ने धम्की दिएका हुन् ।
भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार संघर्ष समिति कास्कीले आइतबार बसपार्क क्षेत्रमा आयोजित पत्रकार सम्मेलन मार्फत आफूहरूको माग समेत सार्वजनिक गरेको छ । समितिका संयोजक प्रेमबहादुर गुरुङले लामो समयदेखि बसोबास गर्दै आएका नागरिकलाई राज्यले व्यवस्थित विकल्प नदिई हटाउन खोजे समस्या झन् जटिल बन्न सक्ने बताउनु भयो । पोखरा महानगरपालिकाले सार्वजनिक जग्गामा निर्माण गरिएका संरचना ३५ दिनभित्र हटाउन सूचना जारी गरेपछि बसपार्क क्षेत्रका करिब ४ सय ७५ घरधुरीमा अन्योल र चिन्ता बढेको समितिको भनाइ छ । महानगरको वैशाख ३ गतेको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको थियो । बसपार्क क्षेत्रमा २०३२ सालदेखि बसोबास गर्दै आएका बासिन्दालाई व्यवस्थित स्थानान्तरणबिना हटाउनु न्यायोचित नहुने संयोजक गुरुङले धारणा राख्नु भएको छ । “हामी व्यवस्थित विकल्प पाए बसपार्क खाली गर्न तयार छौं, तर विकल्पविना हटाइए प्रतिकारमा उत्रिन बाध्य हुन्छौं,” उहाँले भन्नुभयो ।
समितिले चरणबद्ध कार्यक्रम पनि घोषणा गरेको छ । वैशाख २१ गते जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने र सोही दिन पृथ्वीचोकमा ¥यालीसहित कोणसभा गर्ने योजना रहेको छ। वैशाख २३ गते बस्ने बैठकले थप कार्यक्रम तय गर्ने जनाइएको छ । समितिका सल्लाहकार ओमबहादुर पौडेलले शहर विकासमा सुकुम्बासीलाई मात्र दोष दिनु उचित नहुने उल्लेख गर्दै अन्य अतिक्रमित सार्वजनिक संरचनातर्फ पनि ध्यान दिनुपर्ने बताए। सदस्य अर्जुन मल्लले व्यवस्थापनबिना डोजर प्रयोग गर्ने सोच व्यवहारिक नहुने धारणा राख्नु भयो । बसपार्क क्षेत्र लामो समयदेखि अव्यवस्थित बसोबासको केन्द्रका रूपमा रहँदै आएको छ । बसपार्क निर्माणका लागि २०३१ सालमा अधिग्रहण गरिएको करिब २ सय ५ रोपनी जग्गामध्ये केही भाग सडक विस्तारमा परेपछि हाल झण्डै १ सय ८७ रोपनी क्षेत्र बाँकी रहेको बताइन्छ। स्थानीयका अनुसार अहिले बसपार्क प्रयोजनका लागि पर्याप्त खाली जग्गा समेत उपलब्ध छैन । यता महानगरपालिकाले भने सार्वजनिक जग्गा अतिक्रमण हटाउने नीति अन्तर्गत स्वेच्छाले संरचना हटाउन आग्रह गर्दै अटेरी गरे कानुनी प्रक्रिया अघि बढाउने बताउँदै आएको छ ।




