
पोखरा,
त्रिभुवन आर्मी क्लवलाई सडेन डेथमा पराजित गर्दै नेपाल पुलिस क्लबले प्रथम पोखरा महिला गोल्डकपको उपाधी जितेको छ । आर.एस.पोखरा फुटबल क्लबको आयोजनामा पोखरा रंगशालाको फुटवल मैदानमा आइतबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई पुलिसले टाईब्रेकरमा ४—४ गोल भए पछि सडेन डेथमा जित हासिल गरेको हो ।
९० मिनेटको निर्धारित समयमा दुबै तर्फ गोल हुन नसके पछि खेल सिधै टाईब्रेकरमा पुगेको थियो । टाईब्रेकरमा पनि दुबै तर्फ ४—४ गोल भए पछि सडेन डेथमा आर्मीकी इन्दीरा राईको पेनाल्टी सुटलाई पुलिसकी गोलरक्षक उसा नाथले उत्कृष्ट बचाउ गरिन् । पुलिसकी सविना चौधरीले पेनाल्टी सुटमा गोल गरिन् । पोखरामै पहिलो पटक भएको महिला गोल्डकपको उपाधिसंगै पुलिसले ५ लाख रुपैयाँ हात पारेको छ । उपविजेता आर्मीले ३ लाख रुपैया प्राप्त गरेको छ । पहिलो हाफको २७ मिनेटमै आर्मी १० खेलाडीमा सिमित भएको हो । पुलिसकी निर्मला विकले बल अघि बढाउने क्रममा आर्मीकि डिफेन्डर विमला विकले डि एरिया नजिक लडाएपछी रातो कार्ड पाएकी थिइन ।
नेपाल पुलिसकी समिक्षा घिमिरे प्लेयर अफ दि म्याच घोषित भइन । पेनाल्टिमा पुलिसका लागि रेखा पौडेल, समिक्षा घिमिरे, पुजा राना, सविना चौधरी र वर्षा चौधरीले गोल गर्दा गोलरक्षक उषा चौधरीको पेनाल्टी आर्मीकी गोलरक्षकले बचाउ गरिन् ।
आर्मीका लागि अनिता लाम्जेल, दिपा शाही, हिमा चौधरी र चन्द्रा भण्डारीले गोल गर्दा अन्जना थुलुंग राईको प्रहार पोष्टबारमा लाग्दै बाहिरियो भने इन्दिरा राईको प्रहारलाई पुलिसकी गोलरक्षक उषाले जोगाइन् ।
पुलिसकी निर्मला सर्वोत्कृष्ट
विधागत पुरस्कारतर्फ पनि पुलिसकै दबदबा रह्यो । पुलिसकी निर्मला विक सर्वोत्कृष्ट खेलाडी घोषित भइन । उनले ३० हजार रुपैयाँ प्राप्त गरिन् । यस्तै उत्कृष्ट गोलरक्षक पुलिसकी उषा नाथ रेखा पौडेल सर्वाधिक गोलकर्ता बनिन् । रेखाले जारी प्रतियोगितामा कुला पाँच गोल गरिन् । पहिलो खेलमा आयोजक विरुद्ध उनले पाँच गोल गरेकी थिइन् ।
उत्कृष्ट दुवैले समान १५ हजार रुपैयाँ प्राप्त गरे । अनुसासित टिमको पुरस्कार आर एस पोखरा फुटबलले प्राप्त ग¥यो । तीन दिनसम्म चलेको प्रतियोगितामा कुल चार टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा पुलिस, आर्मीसंगै संकटा र आयोजक आर।एस। पोखरा फुटबल क्लबको सहभागिता रहेको थियो । विजयी खेलाडीहरुलाई पश्चिम पृतनाका पृतनापति उपरथी भोलानाथ थापा, गण्डकी प्रदेश प्रहरी कार्यालयका एसएसपी तुलबहादुर कार्की, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङ लगायतले पुरस्कार वितरण गर्नु भएको आयोजक संस्थाका अध्यक्ष रमेश कार्कीले बताउनु भयो ।




