
पोखरा,
‘समृद्धि तथा श्रीबृद्धिका लागि दर्शन बचत सहकारी’ भन्ने नाराका साथ सञ्चालित दर्शन बचत तथा ऋण सहकारी संस्था लि। ले शनिबार एक विशेष कार्यक्रमका बीच आफ्ना शेयर सदस्यहरूका लागि कौसी खेती सम्बन्धी प्राविधिक तालिम सम्पन्न गरेको छ ।
सहकारीले सदस्यहरूलाई अर्गानिक खेतीतर्फ प्रोत्साहित गर्ने उद्देश्यले प्राङ्गारिक मल, झोल मल बनाउने विधि र कौसी खेतीका विविध प्राविधिक पक्षबारे जानकारी गराएको हो । प्रशिक्षक कान्ती पौडेल अधिकारीले सहभागीहरूलाई घरमै उपलब्ध हुने वस्तुहरूबाट झोल मल बनाउने तरिका, कौसीमा गमला वा ग्रो ब्यागको व्यवस्थापन, र रोग किरा नियन्त्रणका प्राविधिक उपायहरूका बारेमा प्रशिक्षण दिनुभएको थियो । उहाँले घरको फोहोर व्यवस्थापन गर्दै कौसीबाटै स्वस्थ तरकारी कसरी उत्पादन गर्न सकिन्छ र झोल मलको प्रयोग कसरी गर्ने भन्नेबारे जानकारी गराउनुभएको थियो ।
नेपाल ठकुरी संगम परिवार कास्कीका अध्यक्ष याम बहादुर हमालले सहकारी केवल आर्थिक कारोबारमा मात्र सीमित नभई सदस्यहरूको स्वस्थ जीवनशैली र आत्मनिर्भरताका लागि पनि सचेत रहनुपर्ने बताउदै तालिमको भरपुर फाईदा लिन सम्पुर्ण सहभागीलाई अनुरोध गर्नुभएको थियो । सहकारी अध्यक्ष राजाराम शाहीले बढ्दो सहरीकरणसँगै सहरका कौसीमा पनि तरकारी तथा फलफूल खेती प्रवद्र्धन गर्ने र कौसी खेती गरिरहेकालाई थप प्रोत्साहित गर्न कार्यक्रम गरेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि सदस्य केन्द्रित यस्ता रचनात्मक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
तालिममा सहभागी महानुभावहरूलाई कौसी खेती सुरु गर्न प्रोत्साहन मिलोस भनेर संस्थाको तर्फबाट कौसी खेतीका लागि आवश्यक ग्रो ब्याग ९न्चयध द्यबन०, विभिन्न थरीका उन्नत बीउबिजन, बिरुवाको वृद्धिका लागि उपयोगी झोल मल निःशुल्क वितरण गरिएको थियो । संस्थाका अध्यक्ष राजाराम शाहीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष लक्ष्मण मल्लले स्वागत गर्नुभएको थियो । कार्यक्रममा ठकुरी महिला परिवार कास्कीकी उपाध्यक्ष सोफी खाँण, संस्थाकी निवर्तमान अध्यक्ष विष्णु कुमारी उच्चै र सल्लाहकार आशा सेन लगायतले तालिम लाभदायक रहेको र आगामी दिनमा पनि यस्तो कार्यक्रम आवश्यक रहेको बताउनुभयो ।




