
दीननाथ बराल,
पोखरा २०, वैशाख,
कास्कीमा आफ्नै बुबाको हत्या आरोपमा छोरा पक्राउ पर्नु भएको छ । कास्की जिल्लाको रुपा गाउँपालिका–४ बागेडाँडामा आफ्नै ६२ वर्षीय बुबा राम बहादुर घर्तीको हत्या गरी फरार हुनु भएको उहाँका छोरा ३४ वर्षीय भीम बहादुर भुजेललाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।
प्रहरीले घटनाको भोलिपल्टै हत्याको आरोपमा भूजेलले वैशाख १८ गते नै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरिबहादुर बस्नेतले बताउनु भयो । वैशाख १७ गते साँझ करिब ६ः४५ बजे राम बहादुर घर्ती आफ्नै घरमा अचेत अवस्थामा फेला पर्नु भएको उहाँले जनाउनु भयो । घटनास्थलमा पुग्दा उहाँको घाँटीमा गलबन्दी बेरिएको र नाकबाट रगत बगेको अवस्थामा भेटिए पछि प्रहरीले प्रारम्भिक अनुसन्धानपछि घटनालाई शंकास्पद मानेर थप अनुसन्धान अघि बढाएको थियो ।
शव परीक्षणका लागि तत्काल पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिम क्षेत्रीय अस्पताल) पोखरा पठाइएको थियो । घटनास्थलको अवस्थाले मृतकको हत्या भएको हुनसक्ने संकेत देखिएपछि प्रहरीले अभियुक्तको खोजी तीव्र बनाएको थियो ।
अनुसन्धानकै क्रममा मृतकका कान्छा छोरा भीम बहादुर भुजेल संलग्न रहेको खुलेपछि उहाँलाई वैशाख १८ गते पोखरा महानगरपालिका–११, हस्पिटल चोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । हाल पक्राउ परेका भुजेलमाथि मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत कर्तव्य ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी १० दिनको म्याद थप गरेर थप अनुसन्धान भइरहेको डिएसपी बस्नेतले जनाउनु भयो । घटनाको थप अनुसान्धान जारी रहेको प्रहरीले जनाएको छ ।




