
पोखरा ११, वैशाख,
पोखरा प्रवद्र्धन केन्द्र र पोखरा क्लिकको आयोजना तथा सहारा क्लब पोखराको सहकार्यमा पोखरामा मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ । पोखरा–१७ दोबिल्लास्थित सहारा फुटवल एकेडेमीको खेल मैदानमा शनिबार बिहान ९ः३० बजे हुने खेलमा पोखरा क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्व, उद्योगी व्यवसायी, पर्यटन तथा खेलकुदकर्मी, जनप्रतिनिधि, सहारा क्लव एवं आयोजकको सहभागिता रहने सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए ।

२६ रोपनी क्षेत्रफलमा फैलिएको उक्त एकेडेमीले बालबालिकाको खेलकुद विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताउँदै क्लबका उपाध्यक्ष एवं एकेडेमी संयोजक विनु राना मगरले यस कार्यक्रमले खेल पर्यटनलाई प्रवद्धर्न गर्ने बताइन् । एकेडेमीमा हाल १६ जिल्लाका ३० जना बालक रहेको उनले जनाइन् । सो अवसरमा पहिलो “पोखरा नाइट स्ट्रिट रेस २०८२÷०८३ को समीक्षा तथा शुभकामना आदानप्रदान कार्यक्रम पनि आयोजना गरिने भएको छ । खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सहारा क्लबसँगको सहकार्यमा एकेडेमी परिसरमा उक्त कार्यक्रम आयोजना गर्न लागिएको पोखरा प्रवद्र्धन केन्द्रका अध्यक्ष दीननाथ बरालले जानकारी दिए ।

“जाग्छ पोखरा, दौडाउँछ पोखर” भन्ने मूल नारासहित आयोजित पहिलो “पोखरा नाइट स्ट्रिट रेस २०८२÷०८३ गत चैत २८ गते सम्पन्न दौडमा नेपालसहित पाँच देशका १४५ जना धावकहरुको सहभागिता रहेको थियो । खुलातर्फ दार्चुलाका मुकेश थापा विजेता बन्दा पर्वतका सुवास गुरुङ दोस्रो र अकलबहादुर पालले तेस्रो स्थान प्राप्त गर्न सफल भएका थिए । विदेशी विधातर्फ फ्रान्सका स्याम्यूलले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गर्न सफल भएका थिए भने महिलातर्फ पुष्पा शर्मा लिम्बु र यू–१६ विधामा राम ढुंगाना विजेता भएका थिए ।
पोखरा महानगरपालिका वडा नं. ९ को समन्वय र प्रदेश खेलकुद परिषद् गण्डकीको सहकार्यमा सम्पन्न प्रतियोगितामा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर हस्पिटल पार्टनर तथा नेलम्बो नेपाल मेडिकल पार्टनरका रुपमा रहेका थिए । कार्यक्रममा विभिन्न संघसंस्थाको सहकार्य र सहयोग समेत रहेको थियो ।



