पर्यटकलाई हैरानी दिने १६ जना युवती पोखराको लेकसाइडबाट पक्राउ

-


     पोखरा क्लिक     
     वैशाख ७ गते २०८३ मा प्रकाशित


पोखरा,

पोखराको लेकसाइड क्षेत्रमा पर्यटकलाई दुःख हैरानी दिएको आरोपमा १६ जना युवतीलाई कास्की प्रहरीले पक्राउ गरेको छ । रातिको समयमा आन्तरिक तथा बाह्य पर्यटकलाई विभिन्न प्रलोभन देखाई अनावश्यक दुःख हैरानी दिने, लुटपाट गर्ने तथा अनैतिक क्रियाकलापमा संलग्न रहेको भन्दै लामो समयदेखि जनगुनासो आएसंगै प्रहरीले अनुगमन गर्दा पर्यटकलाई हैरानी दिएको अबस्थाबाट १६ जना युवतीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक गणेश पाण्डेले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय कास्की तथा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले वैशाख ५ गते मध्यराति करिब १२ः०० बजेदेखि वैशाख ६ गते बिहान २ः०० बजेसम्म विशेष अभियान सञ्चालन गर्दा लेकसाइड क्षेत्रबाट १६ जना युवतीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकामध्ये अधिकांश १७ देखि २३ वर्ष उमेर समूहका रहनु भएको छ । उहाँहरूमाथि आवश्यक अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । प्रहरीले पर्यटक सुरक्षालाई ध्यानमा राख्दै यस्ता गतिविधि नियन्त्रण गर्न निरन्तर अभियान सञ्चालन गर्ने जनाएको छ ।