पोखरा–२२ पुम्दीभुम्दीमा यात्रुवाहक बसमा एक्कासी आगलागी, ४० यात्रु सुरक्षित

-


     पोखरा क्लिक     
     वैशाख १ गते २०८३ मा प्रकाशित


पोखरा, १ वैशाख,

पोखरा महानगरपालिका वडा नं.२२ पुम्दीभुम्दी स्थित ठूलीबिडी क्षेत्रमा आज (मंगलबार) साँझ यात्रुवाहक बसमा एक्कासी आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय कास्की का सूचना अधिकारी हरिबहादुर बस्नेत का अनुसार बागलुङ बसपार्कबाट स्याङ्जाको वालिङ वयरघारी तर्फ जाँदै गरेको ग १ ख ९५६२ नम्बरको बसमा वायरिङ सर्ट हुँदा आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ।

बस पुम्दीभुम्दी पुगेपछि अचानक आगो लागेपछि चालक र सहचालकले तत्काल सवारी साधन रोकी यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकालेका थिए। बसमा सवार करिब ४० जना यात्रु सकुशल रहेका छन् भने कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। आगलागी सुरु भएसँगै स्थानीयवासी र प्रहरीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिने प्रयास गरिएको थियो। तर आगो तीव्र रूपमा फैलिँदा बस पूर्णरूपमा जलेर नष्ट भएको बताइएको छ। घटनास्थलमा पुगेको प्रहरी टोलीले केही समयपछि आगो नियन्त्रणमा लिएको थियो।

यस घटनाबाट मानवीय क्षति नभए पनि बसमा ठूलो भौतिक क्षति पुगेको छ। प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको र प्राविधिक परीक्षणपछि मात्र आगलागीको यथार्थ कारण पुष्टि हुने जनाएको छ। हालका लागि विद्युत् सर्ट नै आगलागीको मुख्य कारण हुन सक्ने अनुमान गरिएको छ। स्थानीयका अनुसार बसमा आगो लाग्नासाथ उनीहरूले हारगुहार गर्दै यात्रुहरूलाई बाहिर निस्कन सहयोग गरेका थिए। तपाईंलाई थप जानकारी गराउँदा, पूर्व सावधानी र तत्काल उद्धारका कारण ठूलो मानवीय क्षति हुनबाट जोगिएको उनीहरूको भनाइ छ।