
पोखरा,
पोखरामा विभिन्न व्यवसायमा आवद्ध संस्थाका प्रतिनिधिहरूले पोखरा महानगरपालिकामा व्यवसायिक कर तिर्न जाँदा अनावश्यक झन्झट र सास्ती भोग्नुपरेको गुनासो गरेका छन्। हालै आयोजित जुत्ता व्यवसायी संघ कास्कीको टेबल क्यालेन्डर विमोचन कार्यक्रममा बोल्दै व्यवसायीहरूले वर्तमान आर्थिक परिस्थितिमा ऋणधन गरेर व्यवसाय धान्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै कर तिर्न जाँदा समेत विभिन्न बहाना देखाएर समस्या सिर्जना गरिएको बताएका हुन्।
उनीहरूले कर तिर्ने प्रक्रियालाई सरल, पारदर्शी र सहज बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। कार्यक्रममा बुद्ध बजार व्यवसायी एसोसियसन पोखराका अध्यक्ष बुद्धिबहादुर कुँवरले घरधनीले घरबहाल कर तिरेको प्रमाण हुँदाहुँदै पनि अनावश्यक प्रक्रिया थपिएको गुनासो गरे। उनले व्यवसायीमैत्री वातावरण निर्माण गरी सहज रूपमा कर तिर्ने व्यवस्था मिलाउन आग्रह गरे। यसैगरी पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमले उद्योग–व्यवसाय सञ्चालन गर्नेहरू राष्ट्र निर्माणको मेरुदण्ड भएको उल्लेख गर्दै राज्यको सहयोग र स्पष्ट नीतिको अभावमा व्यवसायीहरू मारमा परेको बताइन्। उनले सहुलियत ऋण, कर छुट तथा क्षमता अभिवृद्धिका कार्यक्रम ल्याउन सरकारसँग माग गरिन्।
कार्यक्रमका प्रमुख अतिथि तथा वडा नं। ८ का अध्यक्ष रुद्रनाथ वरालले महानगरपालिकाले राजस्व संकलन प्रणालीलाई नयाँ प्रविधिमा लैजाने क्रममा केही समस्या देखिएको स्वीकार गर्दै घरधनीसँग स्पष्ट लिखित कागजात बनाएर मात्र करसम्बन्धी काम गर्न सुझाव दिए। कपडा व्यवसायी एसोसियसन कास्कीका अध्यक्ष लेखनाथ पौडेलले स्वदेशी उत्पादन तथा प्रयोग प्रवर्द्धनका लागि राज्य र व्यवसायीबीच सहकार्य आवश्यक रहेको बताए। जुत्ता व्यवसायी एसोसियसन कास्कीका अध्यक्ष लीलाम्वर सुवेदीले सुरक्षित व्यवसायिक वातावरण निर्माणका लागि राज्य–व्यवसायी सहकार्य अपरिहार्य रहेको उल्लेख गरे।
संस्थापक अध्यक्ष पवित्रबहादुर नेपालीले व्यवसायीहरूको लगानी सुरक्षित गर्दै विकासमुखी नीति आवश्यक रहेकोमा जोड दिए। कार्यक्रममा अन्य व्यवसायी नेताहरूले पनि साझा समस्या समाधानका लागि एकजुट भएर अघि बढ्नुपर्ने धारणा राखेका थिए। कार्यक्रममा आगामी नयाँ वर्ष २०८३ का लागि टेबल क्यालेन्डर विमोचन गरिएको थियो। संघका महासचिव दीपक पौडेलद्वारा सञ्चालित कार्यक्रममा स्वागत मन्तव्य सचिव हरिप्रसाद भण्डारीले गरेका थिए। संघमा करिब १५० सदस्य आवद्ध रहेका छन्।



