विविध कार्यक्रमबीच सहारा बाल आधारभूत विद्यालयको २९औँ वार्षिकोत्सव सम्पन्न

-


     पोखरा क्लिक     
     चैत्र १७ गते २०८२ मा प्रकाशित


पोखरा,

पोखरा महानगरपालिका–९ मा रहेको सहारा बाल आधारभूत विद्यालयले आफ्नो २९औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालय परिसरमा आयोजित उक्त समारोहले शैक्षिक उपलब्धि, सामाजिक सहकार्य र विद्यार्थीको प्रतिभालाई एकैसाथ उजागर गरेको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विक्रम थकालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा वडा नं। ९ का अध्यक्ष दिपेन्द्र मर्सानीको उपस्थिति रहेको थियो। कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक लोचना कुमारीले स्वागत मन्तव्य व्यक्त गर्दै विद्यालयका वार्षिक गतिविधि समेटिएको प्रतिवेदन प्रस्तुत गर्नुभयो। वार्षिकोत्सवकै अवसरमा विद्यालयको ऐतिहासिक पृष्ठभूमि समेटिएको “शैक्षिक दर्पण” नामक स्मारिका प्रमुख अतिथि दिपेन्द्र मर्सानीले विमोचन गर्नुभयो। उक्त प्रकाशनले विद्यालयको स्थापना, विकासक्रम तथा उपलब्धिहरूलाई समेटेको छ। कार्यक्रममा हिमश्री फूड्स प्रा।लि।का निर्देशक प्रकाश के।सीले कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरूका लागि खाजा सौजन्य प्रदान गर्नुभएको थियो। उहाँले विद्यालयलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताउँदै आगामी दिनमा पनि निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

विद्यालयले गत शैक्षिक सत्रमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरेको थियो। साथै, विद्यालयमा स्थापित अक्षयकोषमार्फत विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको थियो। विद्यालयलाई निरन्तर सहयोग पुर्‍याउने विभिन्न व्यक्ति तथा संघसंस्थाहरू—सपना गुरुङ, हिमश्री फूड्स प्रा।लि।, एलजी एशोसिएसन यूके, नेलम्बो नेपाल, कृष्णटोल आमा समूह, सवि गुरुङ, रक्षा गुरुङ, विनु राना, प्रमिला घले र दिक्षा अधिकारीलाई सम्मान गरिएको थियो। त्यस्तै, विद्यालयका शिक्षकद्वय सागर पौडेल र विद्यादेवी गुरुङलाई पनि विशेष सम्मान प्रदान गरिएको थियो।

कार्यक्रममा शिक्षाप्रेमी महेश गुरुङ, शिक्षा महाशाखाका शिक्षा अधिकृत जीवन प्रसाद रेग्मी, सरस्वती श्रेष्ठ, रुपा के.सी. सहारा क्लब पोखराका निवर्तमान अध्यक्ष केशवराज बराल तथा अक्षयकोष दाता सपना गुरुङ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । प्रमुख अतिथि दिपेन्द्र मर्सानीले विद्यालयले २९ वर्षको सफल यात्रा पूरा गरेकोमा बधाई व्यक्त गर्दै “शैक्षिक दर्पण” प्रकाशनले विद्यालयको पहिचान अझ सुदृढ बनाएको उल्लेख गर्नुभयो। उहाँले विद्यालयको नेतृत्वदायी टोलीको कार्यशैलीप्रति प्रशंसा व्यक्त गर्दै स्थानीय तहबाट आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता जनाउनुभयो। कार्यक्रमको समापनमा अध्यक्ष विक्रम थकालीले विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो। उहाँले विद्यालय स्थापना कालदेखि अहिलेसम्म सहयोग गर्ने संस्थापक, दाता, संघसंस्था तथा सल्लाहकारहरूप्रति कृतज्ञता व्यक्त गर्दै कार्यक्रम सफल बनाउन योगदान दिने शिक्षक, विद्यार्थी, अभिभावक र सम्पूर्ण अतिथिहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो। उक्त वार्षिकोत्सव कार्यक्रमले विद्यालयको शैक्षिक गुणस्तर, सामाजिक उत्तरदायित्व र सामुदायिक सहकार्यलाई थप मजबुत बनाउने अध्यक्ष थकालीले विश्वास व्यक्त गर्नुभयो ।