
काठमाडौं,
काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाल पक्राउ परेका छन्। आज (मंगलबार) बिहान काठमाडौँ उपत्यका प्रहरी कार्यालयको टोलीले सुविधानगरस्थित निवासबाट नियन्त्रणमा लिएको प्रहरी श्रोतले जनाएको छ ।
रिजालमाथि गत भदौ २३ र २४ गते भएको तथाकथित “जेनजी आन्दोलन” मा दमन गरेको आरोप लागेको छ। सो समयमा उनी काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) का रूपमा कार्यरत थिए। आन्दोलनपछि उनी एक महिनाभित्रै उक्त पदबाट बाहिरिएका थिए । यस प्रकरणमा गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले विस्तृत अनुसन्धान गर्दै रिजाललाई दोषी ठहर गरी कारबाहीका लागि सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा उनी पक्राउ परेका हुन्। उक्त घटनासँग जोडिएर यसअघि नै पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखक पनि पक्राउ परिसकेका छन्।
प्रहरी स्रोतका अनुसार, अब यस घटनामा संलग्न अन्य व्यक्तिहरूमाथि पनि अनुसन्धान तीव्र पारिनेछ। जेनजी आन्दोलनका क्रममा भएको भनिएको दमनको विषयले राजनीतिक तथा सामाजिक रूपमा ठूलो तरंग सिर्जना गरिरहेको छ। यस घटनाको थप विवरण आउँदै जाँदा तपाईंलाई अद्यावधिक जानकारी गराइनेछ।






