कसैले पनि कानून हातमा लिनु हुँदैनः मुख्यमन्त्री पाण्डे, सहारा क्लव सहित ३ पत्रकार सम्मानित (भिडियो सहित)

-


     पोखरा क्लिक     
     चैत्र १६ गते २०८२ मा प्रकाशित


पोखरा, १६ चैत,

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कानून बाधक बनेको अवस्थामा त्यसलाई संशोधन गर्न सकिने स्पष्ट पार्दै कसैले पनि कानून हातमा लिन नहुने बताएका छन्। नेपाल पत्रकार महासंघ कास्की शाखाद्वारा ७१औँ स्थापना दिवसको अवसरमा पोखरामा सोमबार आयोजित पत्रकारिता सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले यस्तो धारणा व्यक्त गरेका हुन्।

उनले वर्तमान राजनीतिक परिस्थितिमा सत्ता पक्ष बलियो र प्रतिपक्ष कमजोर रहेको उल्लेख गर्दै यस्तो अवस्थामा पत्रकारिता क्षेत्रको जिम्मेवारी अझ बढेको तर्क गरे । “अहिलेको अवस्थामा पत्रकारिता कमजोर भयो भने सत्ता निरंकुश बन्न सक्छ,” उनले भने, “पत्रकारले ‘वाचडग’को भूमिका अझ सशक्त रूपमा निर्वाह गर्नुपर्छ।” मुख्यमन्त्री पाण्डेले कानून र संविधान परिवर्तन नभएसम्म सरकारले संयमता गुमाउन नहुने बताए। उनले सरकार बदलाको भावनाबाट प्रेरित भएर अघि बढ्न नहुने चेतावनी दिँदै त्यसो भए स्वतन्त्रता र न्याय दुवै जोखिममा पर्ने उल्लेख गरे । उनका अनुसार न्यायपालिका, पत्रकारिता र नागरिक समाजले आफ्नो जिम्मेवारीबाट विचलित भए लोकतान्त्रिक मूल्यहरू कमजोर हुन सक्छन्। “राज्य बलियो हुँदा निरंकुशताको खतरा बढ्छ, त्यसलाई नियन्त्रण गर्न स्वतन्त्र र जिम्मेवार पत्रकारिता अपरिहार्य हुन्छ,” उनले जोड दिए। कार्यक्रममा मुख्यमन्त्री पाण्डेले आफू प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउँदै आफ्नो कार्यकालमा कुनै पनि पत्रकारमाथि दमन नहुने प्रतिबद्धता व्यक्त गरे । यस अवसरमा अग्रज पत्रकार राजबहादुर गुरुङलाई ‘पोखरा पत्रकारिता सम्मान २०८१’ प्रदान गरिएको थियो भने संस्थागततर्फ सहारा क्लब पोखरा सम्मानित भएको छ । त्यसैगरी, जगन्नाथ सिग्देल स्मृति पत्रकारिता पुरस्कारबाट फणिन्द्र अधिकारी (अकिञ्चन) र एकराज गिरी पुरस्कृत भएका छन्।

विगत तीन दशक देखि पत्रकारिता क्षेत्रमा क्रियाशिल गुरुङ हाल यूनाइटेड खबर अनलाइनमा आवद्ध छन् । सम्मान राशि नगद रु.५० हजार ५ सय ५५ , दोषल्ला र सम्मानपत्र रहेको छ । सूर्यबहादुर केसी मेमोरियल सहारा आवसीय फुटबल एकेडेमीमा हाल विपन्न तथा कठिन परिस्थितीका ३० जना बालकहरु रहेका छन् । क्लवले हरेक बर्ष आहा रारा पोखरा गोल्ड कप समेत आयोजना गर्दै आएको छ भने सामाजिक कार्यमा समेत गर्दै आएको छ ।

सम्मान छनौट समितिमा अग्रज पत्रकार कुसुमकेशव पराजुली, पुण्य पौडेल र गंगाधर पराजुली रहेका थिए । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल सहित पत्रकार रुद्र श्रीस मगर र भिम थापाको पुरस्कार छनौट समितिको सिफारिसमा उक्त पुरस्कार अधिकारी र गिरीलाई दिने निर्णय गरिएको हो । पुरस्कारको राशि २५ हजार ५ सय ५५ रुपैया र सम्मान पत्र रहेको छ । विगत २ दशक देखि पत्रकारिता क्षेत्रमा क्रियाशिल अधिकारी हाल गोरखा पत्र दैनिक र गिरी सफल न्यूजमा आवद्ध छन् । शक्तिशाली सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रता खोस्न सक्ने संकेत गर्दै पत्रकारिताले निश्पक्ष रुपमा प्रतिपक्षको भूमिका निभाउन पर्ने औल्याए । 

कार्यक्रममा संघ संस्थाको तर्फबाट लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुली अधिकारी , प्रेस चौतारी कास्कीका अध्यक्ष मोतीसागर अधिकारी, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, अग्रज पत्रकार कुसुमकेशव पराजुली लगाएत बोलेका थिए । कार्यक्रम नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा सम्पन्न भएको थियो। महासंघले हरेक वर्ष विभिन्न विधामा पत्रकार तथा संस्थाहरूलाई सम्मान गर्दै आएको सचिव भूपाल गुरुङले पोखराक्लिकलाई जनाए । महासंघले हरेक बर्ष कम्तिमा ८ वटा पुरस्कार तथा सम्मान अपर्ण गर्ने गरेको उपाध्यक्ष माधव रेग्मीले बताए ।