पोखरा रात्रि दौड प्रतियोगितालाई फिस्टेल ड्रिम पार्कको साथ

-


     पोखरा क्लिक     
     चैत्र १८ गते २०८२ मा प्रकाशित


पोखरा १८, चैत,

पोखरामा पहिलोपटक यही चैत २८ गते शनिबार पोखरामा आयोजना हुन लागेको रात्रिकालीन दौड प्रतियोगितालाई भव्य र प्रभावकारी बनाउन फिस्टेल ड्रिम पार्कले साथ दिने भएको छ । पोखरा–१७ सीतापाइला महतगौडामा रहेको उक्त पार्क र प्रतियोगिता आयोजकबीच आज (बुधबार) सहकार्यबारे सम्झौता भएको हो ।

प्रतियोगिता संयोजक दीननाथ बराल र पार्कका जनरल म्यानेजर अंकित कुमार सिंहबीच भएको सम्झौताअनुसार प्रतियोगितामा सहभागी उत्कृष्ट २० जना धावकलाई जनही १ हजार रुपैयाँ मूल्य बराबरको टिकट निःशुल्क उपलब्ध गराइनेछ । साथै अन्य सहभागी धावकहरूलाई पार्क प्रवेश तथा विभिन्न वाटर खेलहरूमा ३० प्रतिशत छुट प्रदान गरिने भएको छ भने पार्कले प्रतियोगितालाई सफल पार्न आर्थिक सहित अन्य सहयोग गर्ने भएको हो । उक्त प्रतियोगितालाई सफल पार्न आफूहरु उक्त इभेण्टमा जोडिन पाउँदा निकै खुसी लागेको बताउँदै जनरल म्यानेजर सिंहले पोखराको नयाँ इभेण्ट भएकोले यसबाट पार्कको समेत थप प्रमोशन हुने विश्वास व्यक्त गर्नुभयो ।

करिब ५५ रोपनी क्षेत्रफलमा फैलिएको फिस्टेल ड्रिम पार्क नेपालकै ठूलो वाटरफन पार्कमध्ये एक मानिन्छ । पार्कमा हाल १३ वटा वाटर स्लाइड, लेजी रिभर, वेभ पुल लगायतका आकर्षक जल खेलहरू उपलब्ध छन् भने ड्राइ गेमका विभिन्न विकल्प पनि रहेका छन् । कक्षा ७ सम्मका विद्यार्थीले ६०० रुपैयाँमा खेलहरूको आनन्द लिन सक्छन् भने अन्यका लागि १ हजार रुपैयाँमा सबै खेलहरू एक दिनभरि वाटर गेम प्रयोग गर्न पाइन्छ । ज्येष्ठ नागरिक महिला ६५ वर्ष माथि र पुरुष ७० वर्ष माथिका लागि प्रवेश निःशुल्क गरिएको छ । यसैबीच, पार्कले आफ्नो सेवा विस्तार गर्दै करिब २ करोड रुपैयाँको लागतमा ५० फिटका ठुला चारवटा पिङ निर्माण गर्ने तयारी गरेको छ । साथै, पिकनिक स्पटका रूपमा पनि लोकप्रिय रहेको पार्कमा दैनिक ३ हजारदेखि ६ हजार रुपैयाँसम्म शुल्क लाग्ने व्यवस्था छ । यता, पार्क सञ्चालन गरिरहेको आयु इन्टरटेनमेन्ट लिमिटेडले निकट भविष्यमा सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी गरेको छ । करिब ४ वर्षअघि सञ्चालनमा आएको फिस्टेल ड्रिम पार्कमा हालसम्म ४५ करोड रुपैयाँ लगानी भइसकेको छ भने आगामी दिनमा थप ५५ करोड लगानीसहित पाँचतारे होटल सञ्चालन गर्ने योजना अघि बढाइएको छ ।

गर्मी मौसम सुरु भएसँगै पार्कमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ । रात्रिकालीन दौड प्रतियोगितासँगको सहकार्यले पोखराको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास गरिएको छ । नयाँ वर्षको पूर्वसन्ध्यामा “जाग्छ पोखरा, दौडाउँछ पोखरा” नारासहित आयोजना हुने यस नाइट रनका लागि अनलाइन दर्ता खुला गरिएको र पोखरा क्लिकको अनलाइन पोर्टलमार्फत फारम भर्न सकिने भएको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको सहकार्य, पोखरा–९ को समन्वय तथा विभिन्न संघसंस्थाको सहयोगमा आयोजना हुने प्रतियोगितामा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर हस्पिटल पार्टनर र नेलम्बो नेपाल मेडिकल पार्टनरका रूपमा रहेका छन् । पोखरा महानगरपालिका र पोखरा भ्रमण वर्ष २०२५/०२६ प्रतियोगिताको प्रबद्र्धकका रुपमा रहेका छन भने फिस्टेल ड्रिम पार्क, होटल संघ पोखरा नेपाल, अटोवेज प्रा.लि.सिटीजन फर्निचर, परिचय एड्भरटाइजिङ, जिल्ला खेलकुद विकास समिति कास्की लगायतको सहयोग रहने प्रतियोगिता फेवाताल किनारस्थित बाराहीघाटबाट सुरु भई सेन्टर प्वाइन्ट, हल्लनचोक, जिरो किमी, सिर्जनाचोक, सभागृहचोक, न्यूरोड, चिप्लेढुंगा हुँदै महेन्द्रपुलस्थित झण्डा पार्कमा पुगेर सम्पन्न हुने छ । ५ किलोमिटर दौडको उक्त रुट पोखरा महानगरपालिकाका वडा नं. ५, ६, ७, ८ र ९ समेट्ने र विजेतालाई नगद पुरस्कार प्रदान गरिने आयोजक संस्थाले जानकारी गराएको छ ।