पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आफ्नो जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै मनाए

-


     पोखरा क्लिक     
     चैत्र १८ गते २०८२ मा प्रकाशित


पोखरा,

जन्मदिनको अवसरमा पोखराका मेयर धनराज आचार्यले मानव सेवा आश्रम पोखरा शाखामा पुगेर आश्रित सहयोगापेक्षी बुवा–आमा, दाजुभाइ तथा बालबालिकासँग भेटघाट गरेका छन्। उनले मंगलबार आश्रममा भोजनको व्यवस्था गर्नुका साथै आश्रितहरूसँग समय बिताउँदै आत्मीयता साटासाट गरेका हुन् ।

हरेक वर्षजस्तै यस वर्ष पनि जन्मदिनलाई सेवामूलक कार्यमार्फत मनाउने परम्परालाई निरन्तरता दिँदै मेयर आचार्यले आश्रममा रहेका व्यक्तिहरूलाई भोजन गराएका हुन्। उनले आफ्नो सामाजिक सञ्जाल मार्फत यसबारे जानकारी दिँदै सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्धता दोहोर्‍याएका छन्। सो अवसरमा उनले आश्रम परिसरमा फलफूल प्रजातिको बिरुवा रोपण समेत गरेका थिए, जसले वातावरण संरक्षण र हरियाली प्रवर्द्धनमा समेत सन्देश दिएको छ।

मेयर आचार्यले मानव सेवा आश्रम पोखरा शाखाको निरन्तर प्रगति र विस्तारको कामना गर्दै आश्रमले समाजमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गरेका छन्। सामाजिक सेवामुखी कार्यमार्फत जन्मदिन मनाउने यस्तो पहलले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको स्थानीयले बताएका छन्।