साहित्यकार मदन भण्डारी भुइँमान्छेका साथी

-


     असफल गौतम    
     चैत्र १६ गते २०८२ मा प्रकाशित


समयको गति सधैँ एकै भए पनि समय उहीँ हुँदैन रहेछ । त्यसैले होला पोखरेली साहित्यिक वृत्तमा २०८१ चैत्र १६ गतेको बिहान सदाको जस्तो सुनौलो रहेन । पोखरेली साहित्य आकाश धुम्म देखियो । भुइँमान्छेका साथी बनेर आफ्नो जीवनलाई अगाडि बढाएका साहित्यकार मदन भण्डारीको भौतिक शरीर ७१ वर्षको उमेरमा सदाका लागि अस्तायो ।

इलामको फिक्कलमा जन्मेर पोखरालाई कर्मथलो बनाएर अगाडि बढेका मदन भण्डारी जति राष्ट्रसेवक थिए त्यो भन्दा बढी साहित्यसेवक र सङ्गठक थिए । हकी र निडर स्वभावका भण्डारीले जागिरे जीवनका क्रममा होस्, समाजसेवा र साहित्यसेवाका क्षेत्रमा होस् कहिल्यै कसैको गुलामी गरेनन् । बरु आफ्नो सामथ्र्यले भ्याएसम्म सदासर्वदा भुइँमान्छेका सारथि बनेर बाँच्ने अभिलाषा पालिरहेका थिए ।

साहित्य सिर्जना गर्नु, साहित्यिक संगठन बनाउनु, पछिल्लो पुस्तालाई लेखनमा प्रोत्साहित गर्नुलाई नै आफ्नो मुख्य कर्म ठान्ने भण्डारीले पोखरामा क्रियाशील धेरै साहित्यिक संघसंस्थाको उन्नयनमा योगदान दिए । झोलामा रहेका संघसंस्थालाई विधिवत गराउँदै खुट्टा टेकाए । संस्थाको जीवन्तताका लागि अक्षयकोषको व्यवस्था गरे । पत्रिका प्रकाशनका लागि पहल गरेँ । तर जस कहिल्यै आफूले लिन चाहेनन् नेपथ्यबाट पछिल्लो पुस्तालाई जुर्मुराउन उत्साहित, प्रोत्साहित गरिरहे अखबारी लेखनका माध्यमबाट वेथिति विरुद्ध खबरदारी, राम्रा कामका लागि पहरेदारी र पुस्तान्तरणका लागि साझेदारी गरिरहे । कलम समाउँदै गर्नेहरूलाई राम्ररी समाउन सक्ने बनाए । सिर्जना गर्न खोज्नेहरूलाई मार्ग निर्देशन गरे । पाइला अगाडि बढाउँदै गरेकाहरूलाई प्रोत्साहित गरिरहे । उनको योगदानको स्मरण हरेक क्षेत्रले गर्ने अपेक्षा गर्न सकिन्छ ।

पोखराका आफ्नै विविध आयाम र अध्याय छन् । ती विविध अध्यायमध्ये भण्डारीले थपेर छोडेको एक अध्याय हो अखबारी समीक्षा लेखन । भण्डारीले जुन समय अखबारी समीक्षा लेख्थे त्यो समय पोखरामा वर्तमानका जस्ता छ्याप्छ्याप्ती साहित्य समीक्षकका अनुहार फेला पर्दैनथे । साहित्यको उन्नयनका लागि हुने हिजो आजका साहित्यिक समीक्षा, मेला, महोत्सव, उत्सवका शृङ्खलाको विवकास नभएको बेला भण्डारीको त्यही लेखन स्रष्टाप्रतिको प्रतिनिधि धारणा बन्न पुग्थ्यो । खरो अखबारी लेखन र राजनीतिक टिप्पणीमा रुचि राख्ने भण्डारी चाकडी र चाप्लुसी रुचाउनेहरूलार्ई ए फलाना साहू, धेरै नसताऊ भनेर लेख्न सक्ने सामथ्र्यका स्रष्टा हुन् । किनकि नेपाली साहित्यमा आफ्नो कलममा विश्वास गर्ने, कर्ममा अडिग रहने स्रष्टा साधक आजसम्म कमै भेटिएका छन् । तर आज समय फेरिएको छ । वर्तमानमा दशकौंदेखिको हामी अघिल्लो अग्रज पुस्ता भन्नेको दासत्व र पछिल्लो समय थपिँदै गएको स्वयम्को लेखकीय दासत्वका कारण आजको साहित्य श्रीवृद्धिका नाममा फस्टाउँदो भ्रष्टाचारको उर्वरताका बीच बिचौलिया र दलालहरूको कब्जामा परेको बेला मदन भण्डारीले बेथितिको धमिलो पानीमा स्वार्थका माछा मारेर गुजारा चलाउनेहरूले बनाएको विरासत ढलाउनका लागि जीवनकालको अन्तिम घडीसम्म पनि कलम चलाइरहे । उनले नेपाली राजनीति, भाषा वाङमयका क्षेत्रमा गरेको निःस्वार्थ योगदानको चर्चा जति गरे पनि अपूरो र अधुरै देखिन्छ ।

भण्डारी छातीको घाउ र ललिताको लास उपन्यासका लेखक, जनयुद्ध जारी छ कृतिका सहलेखक हुन् । हिजो देशमा परिवर्तनका लागि भएको हतियारका जनयुद्ध रोकिए पनि विद्रोहको युद्ध जारी छ भन्ने भण्डारीले छातीको घाउ उपन्यासमा शहीद पुत्रीहरूले समाजमा भोग्नु परेको दर्दनाक र सर्मनाक यथार्थलाई उजागर गरेका छन् । भण्डारीको पछिल्लो ललिताको लास उपन्यासमा पछिल्लो राजनीतिक घटना क्रमलाई अभिलेखिकरण गरेका छन् । आज पनि समाजमा शहीद पुत्री (सपु) हरूले उपेक्षित जीवन बाँच्न परिरहेको छ । नेपाली राजनीतिमा ललिता प्रकरण त कार्यपालिका, व्यवस्थापिका हुँदै न्यायापालिकासम्म पुगेर जनमानसलाई जगजागेर भएको विषय भयो नै ।

भण्डारीले पोखराका धेरै साहित्यिक संघसंस्थामा पसिना बगाएका छन् । उनका पसिना सिञ्चित संघसंस्थाले संस्थाको विधि विधान अनुसारका कर्म गर्दै अगाडि बढे भने त्यही कर्म नै भण्डारीप्रतिको साच्चै सम्मान हो ।
भण्डारी पछिल्लो समय जरोटुप्पो संरक्षण साहित्य समाज नेपालका परिकल्पनाकार र संस्थापक महासचिवसमेत हुन् । पछिल्लो समय उनी सोही संस्थामा क्रियाशील रहेँ । उनले रोपेर छोडेको साहित्यिक वृक्षले आज जरा गाड्दै रहेको अवस्था छ । नेपाली साहित्यका जरा भानुभक्तदेखि साहित्यको टुप्पो मानिएको वर्तमान पुस्तालाई साहित्य लेखन, प्रोत्साहन र परिमार्जनमा संस्था आफ्नै पृथक आयामसहित अगाडि बढिरहेको छ ।

खादा, माला, आसन, भाषणलाई कम प्राथमिकता दिँदै कार्यक्रमको आरम्भमा सुन्ने समयको अवधारणा राखेर रचना सुनाउने, आमन्त्रित साहित्य साधक नै कार्यक्रमका प्रमुख पात्र ठान्ने, संस्थाको संस्थागत गानसहित कार्यक्रमलाई अगाडि बढाउने अवधारणामा संस्था आज अगाडि बढिरहेको छ । उनले देखाएको पदचापलाई पछ्याउँदै आफ्ना संघसंस्थालाई साहित्यिका पाठशाला ठान्नेहरूले पनि आज भण्डारी जस्ता भुइँमान्छेले अवलम्बन गरेको नीतिलाई अंगीकार गर्नुले उनको दूरदर्शीतालाई देखाएको पाइन्छ ।

समाजमा हिजोदेखि आजसम्म खिर्राको रुखलाई स्याउ खेती भनेर व्याख्या गर्नेहरू व्याप्त छन् । त्यसैले उनी त्यसैले भण्डारी त्यो भ्रम छर्नेहरूसँग वाक्क थिए त्यसैले स्याउ खेती र खिर्राको बोट शीर्षकमा यसरी कविता लेख्थे :
बीस औं शताब्दी
मान्छेको रगतले
लछ्याप्पै भिज्यो
एक्काइसौं शताब्दी
झनै भयावह बन्दै छ
बुद्धको देशमा
युद्ध जनयुद्ध थोपरियो
थुप्रै–थुप्रै दुई खुट्टे जन्तुहरू
अकाल–अकाल मरे
हो, केही मान्छेहरूले
देश र जनताकै लागि भनेर
आत्म बलिदान गरे
ती शहीदहरू जून तारा बनेर
आकाशमा चम्किरहेका छन्
घरी–घरी लाजले
बादलको घुम्टोले मुख छोप्छन्
माथिबाट तल हेर्दा देख्छन्
महान् तथा गौरवशाली
क्रान्तिका नायकको
खलनायकमा रूपान्तरण
पुस्तान्तरण
आफ्नै दौतरी
अर्कोको पिठ्युमा छुरी रोप्छ
रोप्छ खिर्राको बोट
र भन्छ यही हो स्याऊ खेती ।

आज पनि समाज यस्तै–यस्तै छ । एक्काइसौ शताब्दी झन् भयावह बन्दै गइरहेको छ । देश र जनताका लागि आत्म बलिदान गर्नेहरू उपेक्षित भइरहेका छन् । जुका र खुरहरूले राज्यमा हाली मुहाली गरिरहेका छन् । यो देश यस्तो देश भएको छ जहाँ योग्यता धेरै भएकै कारण अवसरबाट बञ्चित हुनुपर्छ । यो देश यस्तो देश भएको छ । जहाँ १९८ रूपैयाँको ज्यालादारी जागिर खानका लागि तीन लाख घुस खुवाउन पर्छ । यो देश यस्तो देश भएको छ । टेबुल माथिबाट काम लिएर टेबुल मुनिबाट सुसार गर्नुपर्छ । त्यो मात्र नभएर आफ्नै दौतरीले पिठ्युमा छुरी रोप्छ । जसको वास्तविक यथार्थता भण्डारीले आफूँ बाँचेकै समय र समाजमा भोगे, हामीले पनि भोगिहेका छौँ ।

साहित्य साधनामा लाग्दा लाग्दै प्रेसरले ढलाउँदासमेत हिम्मत र साहसले रोगलाई जितेर आफूलाई अगाडि बढाउँदै सिर्जनामा लागेका भण्डारीलाई हामीले २०८१ चैत्र १६ गते गुमाउन पुग्यौँ । आज हामी माझ उनको भौतिक शरीर नभए तापनि उनले देखाएको बाटो छ । उनले हात समाएर साहित्यिक राजमार्गमा हिँडाएका यात्रीहरू छन् । उनले कैयौँ स्रष्टा साधकले अगाडि बढाएको साहित्यिक पाइलो सम्भावनाले भरिएको छ भनेर देखाएको राजमार्ग छ । अब उनीहरूले भण्डारीको योगदानको कदरका लागि केही गर्न आवश्यक छैन । नेपाली वाङ्मयको श्रीवृद्धिका लागि खिर्राको बोट रोपेर स्याउखेतीको प्रचार नगरिदिए पुग्छ । त्यो हुन सक्यो भने उनको आत्मले शान्ति पाउने छ । आज चैत्र १६ गते पहिलो वार्षिक पुण्यतिथिमा लेखनाथ साहित्य प्रतिष्ठानले प्रतिष्ठानका संस्थापक सहसचिवको स्मृतिसहित पोखरामा स्मृति कार्यक्रम सम्पन्न गरेको छ । यसै सन्दर्भमा भण्डारीप्रति भावपूर्ण श्रद्धासुमन !