पोखरेली पत्रकारको प्रतिबद्धताः अझ सुरक्षित र सम्मानजनक सञ्चार

-


     पोखरा क्लिक     
     चैत्र १२ गते २०८२ मा प्रकाशित


पोखरा,

पोखराका पत्रकारहरूले बालबालिकाको अधिकार, गोपनीयता र सम्मानलाई केन्द्रमा राखेर समाचार बनाउने प्रतिबद्धता जनाएका छन्। बालमैत्री सञ्चार अभ्यासलाई सुदृढ बनाउने उद्देश्यसहित ‘पोखरा प्रतिबद्धता पत्र–२०८२’ सार्वजनिक गरिएको कार्यक्रममा बोल्दै पत्रकारले उक्त कुरा बताएका हुन् ।

राष्ट्रिय बाल अधिकार परिषद् र गण्डकी प्रदेशका सञ्चारकर्मीहरूबीच विहिबार भएको प्रदेशस्तरीय अन्तर्क्रिया कार्यक्रमपछि यो प्रतिबद्धता सार्वजनिक गरिएको हो । कार्यक्रममा बोल्दै प्रेस काउन्सिल नेपाल का सदस्य केशवशरण लामिछानेले पत्रकारितामा कहिलेकाहीँ लापरवाहीका कारण बालअधिकार उल्लङ्घन हुने गरेको उल्लेख गर्दै जिम्मेवार अभ्यास आवश्यक रहेको बताए । उनले आचारसंहिता उल्लङ्घन भएमा कारबाही हुन सक्ने चेतावनी समेत दिए ।

त्यसैगरी नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेलले बालबालिकाको हितका लागि पत्रकारहरू अझ सचेत भएर काम गर्ने बताए। कार्यक्रममा बालमैत्री सञ्चार निर्देशिका, पत्रकार आचारसंहिता र संवेदनशील रिपोर्टिङबारे सहजीकरण पनि गरिएको थियो। साथै, बालअधिकारको संरक्षण र प्रवर्द्धनमा सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिइएको थियो । यो घोषणापत्रमार्फत सञ्चारमाध्यमले आजका साझेदार र भोलिका कर्णधारका रूपमा हेर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।