
पर्यटकीय राजधानी पोखरामा पहिलोपटक आयोजना हुने रात्रिकालीन दौड प्रतियोगिता (नाइटरन) का लागि बिहीवारदेखि अनलाइन फर्म खुला गरिएको छ । नेपाली नयाँ वर्षको पूर्व सन्ध्यामा “जाग्छ पोखरा, दौडाउँछ पोखरा”उद्घोषका पोखरा क्लिक र पोखरा प्रवद्र्धन केन्द्रको आयोजनामा चैत २८ गते शनिबार हुने प्रतियोगिताका लागि फर्म भर्न पोखरा क्लिकको अनलाइन पोर्टमा क्लिक गर्नुपर्ने छ ।

प्रतियोगितामा निश्चित संख्या पुगेपछि फारम बन्द गरिने र १२ वर्षभन्दा कम उमेरका बालबालिकालाई प्रतियोगितामा सहभागी नगराइने प्रतियोगिता संयोजक दीननाथ बरालले जानकारी दिए । आयोजकले सहभागी खेलाडीको बीमा गर्ने र रिफ्लेक्टिभ (चम्किने) टिसर्ट उपलब्ध गराउने जनाउँदै सहभागीे धावकलाई हेडल्याम्प प्रयोग गरेर दौडमा भाग लिन पनि बरालले अनुरोध गरेका छन् ।
अनलाइन फारम भर्नसमस्या परेमा पोखरा महानगरपालिका वडा नं. ९ सँग पनि सहकार्य गरी दर्ता प्रक्रिया पूरा गर्न सकिने व्यवस्था आयोजकले गरेको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको सहकार्य, पोखरा–९ को समन्वय तथा विभिन्न संघसंस्थाको सहयोगमा हुने प्रतियोगितालाई मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरले हस्पिटल पार्टनरकारूपमा सहयोग गर्ने भएको हो ।प्रतियोगिताका लागि अटोवेज प्रा.लि., सिटिजन फर्निचर, परिचय एड्भटाइजिङ, जिल्ला खेलकुद विकास समिति कास्कीलगायतका संघसंस्थाको सहयोग रहेको केन्द्रका सचिव सागर सुनारले जानकारी दिए । पोखराको बाराहीघाटबाट सुरु हुने पाँच किलोमिटरको दौड सेन्टरप्वाइन्ट, हल्लनचोक, जिरो किलोमिटर, सिर्जनाचोक, सभागृहचोक, न्यूरोड, चिप्लेढुंगा र महेन्द्रपुल हुँदै झण्डा पार्क फल्चासम्म दूरीमा सञ्चालन हुनेछ ।



