
दीननाथ बराल,
पोखरा ११, चैत,
पर्यटनको राजधानि पोखरामा आज (बुधबार) देखि दोस्रो संस्करणको ‘नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६’ सुरु भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको प्रस्तुती तथा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) को आयोजनामा पोखराको लेकसाइडस्थित तालबाराही चोक नजिकको खेल मैदानमा उक्त अटो शो सञ्चालन भएको हो ।
यही चैत १५ गतसम्म संचालन हुने उक्त अटो शोको गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यबस्था मन्त्री प्रकाश बहादुर केसीले उद्घाटन गर्नु भएको हो । कार्यक्रममा बोल्दै उहाँले उक्त महोत्सवले पोखराको पर्यटन प्रबद्र्धनमा थप टेवा पुग्ने बताउनु भयो । देशमा हाल भित्रिएका नयाँ मोडलका गाडीहरु एकै ठाँउमा बिक्रि र प्रर्दशनीले गाडी खरिद गर्नेहरुको लागि समेत सहज हुने उहाँले बताउनु भयो । मनत्री केसीले विभिन्न ब्राण्डका गाडी तथा मोटरसाइकल तथा स्कुटरहरु समेत सार्वजनिक गर्नु भएको थियो । प्रदेशकै सबैभन्दा ठूलो अटो प्रदर्शनीका रूपमा लिइएको यस कार्यक्रममा विभिन्न ३२ ब्रान्डका आधुनिक सवारी साधनहरूको प्रदर्शन तथा बिक्री–वितरण हुने भएको पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) का अध्यक्ष दीपेन्द्र कोइरालाले बताउनु भयो ।

प्रदर्शनीमा १६ ब्राण्डका चारपाङ्ग्रे १० ब्राण्डका दुईपाङ्ग्रे, ६ ब्राण्डका लाइट कमर्शियल र हेभी कमर्शियल सवारी साधनहरूका साथै लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, अटो एसेसरिज तथा वित्तीय संस्थाहरूका गरी २० वटा स्टल रहने उहाँले जनाउनु भयो । यस अटो शोमा अत्याधुनिक प्रविधिसहितका रोबोटहरूको समेत प्रदर्शन गरिएको छ भने युनिट्री जी वान ह्युमानोइड रोबोट, युनिट्री गो टु र अन्य आकर्षक रोबोटहरू प्रदर्शनीका विशेष आकर्षण रहेको महासचिव विनय थापाले बताउनु भयो । यसबाट सर्वसाधारणलाई नवप्रवर्तन र प्रविधिको प्रत्यक्ष अनुभव दिलाउने लक्ष्य राखिएको उहाँले जनाउनु भयो ।

पाँच दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा करिब ४५ हजार आगन्तुक सहभागी हुने अपेक्षा गरिएको छ । टिकटमा विशेष छुटको व्यवस्था गरिएको छ भने खल्ती एपमार्फत टिकट खरिद गर्दा दैनिक पहिलो १०० साधारण टिकटमा ५० प्रतिशत र पहिलो १०० विद्यार्थी टिकटमा १०० प्रतिशत क्यासब्याकको सुविधा प्रदान गरिने वाडाका कोषाध्यक्ष असोक चालिसेले बताउनु भयो । पोखरा महानगरपालिका प्रवद्र्धक रहेको यस कार्यक्रमको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजले गरिरहेको छ ।

यस प्रदर्शनीले अटो व्यवसाय प्रवद्र्धन, क्षेत्रीय बजार विस्तार, आधुनिक प्रविधिबारे जानकारी आदानप्रदान तथा आन्तरिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने वाडाका बरिष्ठ उपाध्यक्ष शिव श्रेष्ठले बताउनु भयो । अटो क्षेत्रमा देखिएका समस्या पहिचान गरी समाधानका उपाय खोज्ने साझा प्लेटफर्मका रूपमा समेत यो कार्यक्रम उपयोगी हुने अपेक्षा गरिएको वाडाका उपाध्यक्ष निरन केसीले बताउनु भयो । उक्त कार्यक्रममा विभिन्न व्यवसायीक कम्पनीहरुले छुट प्याकेज ल्याएको आयोजकले जनाएको छ ।




