
पोखरा,
जिल्ला प्रहरी कार्यालय कास्कीले फागुन महिनामा अपराध नियन्त्रण, अनुसन्धान तथा सार्वजनिक सुरक्षाका क्षेत्रमा उल्लेखनीय काम गरेको जनाएको छ। प्रहरीका अनुसार महिनाभर १८३ वटा अपराधका मुद्दा दर्ता भएका छन् भने १३८ जना प्रतिवादी पक्राउ परेका छन्।
फैसला कार्यान्वयन अन्तर्गत फरार रहेका २६ जना प्रतिवादी पक्राउ परेका छन्। उनीहरूबाट १२ वर्ष ११ महिना २८ दिन कैद सजाय कार्यान्वयन हुनुका साथै १ करोड २५ लाख ११ हजार ५५० रुपैयाँ बिगो रकम असुल गरिएको प्रहरीले जनाएको छ।महिला, बालबालिका र ज्येष्ठ नागरिकसँग सम्बन्धित सामाजिक हिंसाका ६७ वटा उजुरी दर्ता भएका छन् भने ११ वटा घरेलु हिंसाका घटना प्रहरीमा पुगेका छन् । हराएका नागरिकको खोजी कार्यमा पनि प्रहरीले प्रगति गरेको छ। फागुन महिनामा ६७ जना हराएको निवेदन परेकोमा ४६ जना फेला पारिएको प्रहरीले जनाएको छ । लागुऔषध नियन्त्रणतर्फ प्रहरीले ठूलो परिमाणमा बरामदगी गरेको छ। फागुन महिनामा ब्रुफिन ७४८, डाईजापाम ७२६ र फेनारगन ७४७ एम्पुल, साथै ब्राउन सुगर ७।३१ ग्राम, ट्यापेण्डाडोल २५६ ट्याब्लेट र गाँजा २९८ ग्राम बरामद गरिएको छ। यस सम्बन्धमा १४ जना पक्राउ परेका छन्।
सवारी दुर्घटनातर्फ फागुनमा १७ वटा दुर्घटना भएका छन्। ती घटनामा ६ जनाको मृत्यु र २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरिबहादुर बस्नेतले बताउनु भयो । सवारी चेकजाँचका क्रममा प्रहरीले ४ हजार ३ वटा कारवाही गर्दै ३४ लाख ५० हजार ५०० रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ । विपद् व्यवस्थापनतर्फ ९ वटा आगलागी र १ वटा नदी कटानका घटनामा प्रहरी परिचालन गरिएको थियो। आगलागीबाट करिब २४ लाख ८५ हजार रुपैयाँ बराबरको क्षति भएको छ। प्रहरीले अपराध न्यूनीकरणका लागि जनचेतना कार्यक्रम पनि सञ्चालन गरेको छ । फागुन महिनामा ४० वटा सामुदायिक कार्यक्रममार्फत ९६६ जना र ३ वटा विद्यालय कार्यक्रममार्फत २०२ जना विद्यार्थीलाई प्रशिक्षण दिइएको छ।
प्रहरीका अनुसार नागरिक सुरक्षालाई थप प्रभावकारी बनाउन क्राइम हॉटस्पट म्यापिङ, सादा पोसाकमा प्रहरी परिचालन, लागुऔषध नियन्त्रण अभियान तथा समुदाय–प्रहरी सहकार्य कार्यक्रम निरन्तर सञ्चालन गरिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले आगामी दिनमा पनि अपराध नियन्त्रण, सामाजिक हिंसा रोकथाम र समुदायसँगको सहकार्यलाई प्राथमिकतामा राख्ने जनाएको छ।





