
दीननाथ बराल,
पोखरा, चैत १,
तनहुँको पर्यटकीय गाउँ बन्दीपुरमा ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित पहिलो पटक प्रदेशस्तरीय होमस्टे मार्ट आयोजना हुने भएको छ । आगामी वैशाख १८ र १९ गते हुने उक्त कार्यक्रममा सहभागी हुन चाहने गण्डकी प्रदेशका होमस्टे, फार्मस्टे तथा पर्यटनसँग सम्बन्धित संस्थाहरूलाई आवेदन दिन हाल आह्वान गरिएको छ ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र बन्दीपुर गाउँपालिकाको संयुक्त आयोजनामा तथा गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ) गण्डकी प्रदेशको सह–आयोजनामा उक्त कार्यक्रम हुने तयारी गरिएको हो । मार्टमा सहभागी हुन इच्छुक संस्थाहरूले यही चैत १५ गतेभित्र आवश्यक कागजातसहित आवेदन दिनुपर्ने व्यवस्था गरिएको बन्दीपुर गाउँपालिकाले पोखराक्लिकलाई जनाएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयमा प्रत्यक्ष बुझाउन वा इमेलमार्फत आवेदन पठाउन सकिने भएको छ ।

आवेदनका लागि संस्था, फर्म वा कम्पनी दर्ता प्रमाणपत्र (नवीकरणसहित), स्थायी लेखा नम्बर (प्यान) प्रमाणपत्र तथा आर्थिक वर्ष ०८१÷०८२ को कर चुक्ता प्रमाणपत्र अनिवार्य गरिएको छ । नयाँ दर्ता भएका संस्थाको हकमा भने कर चुक्ता प्रमाणपत्र आवश्यक नपर्ने जनाइएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेका अनुसार यसपटकको गाउँ पर्यटन मार्ट विशेष महत्वको रहनेछ । उनका अनुसार विगत तीन वर्ष लगातार एयपजबचब मा आयोजना हुँदै आएको कार्यक्रम पहिलो पटक पोखरा बाहिर ग्रामीण पर्यटन गन्तव्य बन्दीपुरमा आयोजना गर्न लागिएको हो ।
मार्टमा गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट सञ्चालनमा रहेका सामुदायिक होमस्टे, पर्यटकीय कृषि फार्म (फार्मस्टे), पर्यटन व्यवसायी तथा गैरसरकारी संस्थाहरू सहभागी हुने अपेक्षा गरिएको छ । यसले ग्रामीण पर्यटन, होमस्टे सञ्चालन र स्थानीय उत्पादनको प्रवद्र्धनमा सहयोग पुग्ने बन्दीपुर गाउँपालिकाका अध्यक्ष कमल बहादुर केसीले विश्वास व्यक्त गरे । बन्दीपुरमा सञ्चालन भइरहेको ग्रािमण पर्यटन बन्दीपुर भ्रमण बर्ष २०२६ लाई समेत थप प्रभावकारी बनाउने लक्ष्यसहित मार्ट आयोजना गर्न लागिएको उनले जनाए । बन्दीपुर क्षेत्रमा सञ्चालित होमस्टे तथा ग्रामीण पर्यटन गतिविधिको प्रवद्र्धन गर्दै पर्यटक बसाइ अवधि बढाउने लक्ष्य पनि यस कार्यक्रमले सहयोग पु¥याउने अपेक्षा गरिएको छ । अध्यक्ष केसीले बन्दीपुर भ्रमण बर्ष २०२५ मा ५ लाख पर्यटक भित्राउने लक्ष्य रहेकोमा ६ लाख २५ हजार पर्यटक भित्रिएको दाबी गर्दै यस बर्ष ग्रामिण पर्यटन बन्दीपुर भ्रमण बर्ष २०२६ मा ७ लाख पर्यटक भित्राउने लक्ष्य रहेको बताए ।
गण्डकी प्रदेशका ११ जिल्लामध्ये प्रत्येक जिल्लाबाट कम्तीमा दुई वटा होमस्टे सहभागी गराउने योजना रहेको गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ) गण्डकी प्रदेशकी अध्यक्ष शोभा सापकोटाले बताइन् । यसअघि पोखरामा आयोजना भएको संस्करणमा गण्डकी प्रदेशका २८ वटा होमस्टे र विभिन्न पर्यटन गन्तव्यहरूको सहभागिता रहेको थियो। मार्टमा गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट करिब ३० वटा होमस्टे सहभागी गराउने तयारी गरिएको छ । कार्यक्रम सफल बनाउन स्थानीय पर्यटन सरोकारवालासहित विभिन्न निकायबीच प्रारम्भिक तयारीसम्बन्धी छलफल समेत सम्पन्न भइसकेको जनाइएको छ ।
बन्दीपुर क्षेत्रमा ७ वटा व्यवसायीक होमस्टे रहेका छन् । अर्गानीक खाना, रैथाने अन्नवाली, परम्परागत कला संस्कृतिको समेत प्रबद्र्धन एवं संरक्षण गर्न उक्त भ्रमण बर्ष आयोजना गरिएको बताइन्छ ।





