कास्कीमा ६० देखि ६५ प्रतिशत मत खस्ने अनुमान, हालसम्म ४० प्रतिशत खस्यो

-


     पोखरा क्लिक     
     फागुन २१ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, २० फागुन,

कास्कीमा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतदानमा दिउँसो १ः३० बजेसम्म करिब ४० प्रतिशत मत खसेको छ। जिल्लाभर मतदान शान्तिपूर्ण रूपमा जारी रहेको प्रदेश निर्वाचन कार्यालय पोखराले पोखराक्लिकलाई जनाएको छ।

प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्रनाथ न्यौपानेका अनुसार बिहान ११ बजेसम्म करिब २० प्रतिशत मत खसेको थियो। त्यसपछि मतदाताको सहभागिता बढ्दै जाँदा १ः३० बजेसम्म करिब ४० प्रतिशत मत खसेको हो। हालको सहभागितालाई आधार मान्दै कास्कीमा कुल ६० देखि ६५ प्रतिशतसम्म मत खस्ने अनुमान गरिएको उहाँले बताउनुभयो।

जिल्लाभरका मतदान केन्द्रमा कुनै अप्रिय घटना नभई शान्तिपूर्ण रूपमा मतदान भइरहेको मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्बासेले जानकारी दिनुभयो। उहाँका अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुका ५ बजेसम्म मतदान केन्द्रमा प्रवेश गरेका मतदाताले मतदान गर्न पाउने व्यवस्था गरिएको छ।

मतदान सम्पन्न भएपछि मतपेटिका सम्बन्धित मतगणना स्थलमा ल्याइने र सर्वदलीय बैठकपछि आजै मतगणना सुरु गर्ने तयारी गरिएको छ। कास्की–१ को मतगणना पोखरा–१२ स्थित वडा कार्यालयमा, कास्की–२ को मतगणना जिल्ला निर्वाचन कार्यालयमा र कास्की–३ को मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको कृषि मन्त्रालयको भवनमा हुने बताइएको छ।

यसैबीच अस्थायी मतदान केन्द्र रहेको कास्की कारागारमा शतप्रतिशत मतदान भएको छ। मतदान अधिकृत गोविन्द श्रेष्ठका अनुसार मतदाता नामावलीमा रहेका ३७ जना कैदीबन्दीले नै मतदान गरेका छन्। बिहान ७ बजे सुरु भएको मतदान करिब साढे दुई घण्टामै सम्पन्न भएको थियो। कारागारमा ६ सय ९७ जना कैदीबन्दी रहे पनि नामावलीमा समावेश भएका ३७ जनाले मात्रै मतदान गर्न पाएका हुन्।

त्यसैगरी कर्मचारीका लागि जिल्ला समन्वय समिति कास्कीको परिसरमा स्थापना गरिएको अस्थायी मतदान केन्द्रमा समानुपातिक तर्फको मतदान भइरहेको छ। उक्त केन्द्रमा करिब २ हजार ५ सय कर्मचारीले मतदान गर्ने अपेक्षा गरिएको छ। कास्कीका करिब ७० प्रतिशत कर्मचारी निर्वाचनमा खटिएको निर्वाचन अधिकृत सरस्वती गिरीले जानकारी दिनुभयो।

कास्कीमा कुल ३ लाख ८ हजार ५ सय ७२ मतदाता रहेका छन्। जिल्लाभर २ अस्थायी मतदान स्थलसहित १ सय ५३ मतदान स्थलमार्फत मतदान भइरहेको छ। कास्कीमा ३ सय ६५ मतदान केन्द्र रहेका छन् । कास्कीको सुरक्षा व्यबस्था शान्ति पूर्ण रुहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले बताउनु भयो ।