कास्कीमा निर्वाचनको अन्तिम तयारी पूरा, २ अस्थायी मतदान स्थल सहित १ सय ५३ मतदान स्थलमा मतदानको तयारी पूरा(भिडियो सहित)

-


     पोखरा क्लिक     
     फागुन २० गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा २०, फागुन

भोलि (विहिबार) हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनको कास्कीमा अन्तिम तयारी पूरा भएको छ । कास्कीका २ वटा अस्थायी मतदान स्थल सहित १ सय ५३ वटा मतदान स्थलको आवश्यक तयारी पूरा भएको कास्कीका मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्बासेले बताउनु भयो ।

हालसम्म कास्कीमा सबै तिर शान्तिपूर्ण रुपमा मतदान स्थलमा मतदान केन्द्रको समेत आन्तरिक व्यबस्थापन गरिएको उहाँले जनाउनु भयो । विहिबार बिहान ७ः०० बजेदेखि बेलुका ५ बजेसम्म मतदान स्थलमा प्रबेश गरेका मतदाताहरुले मत दिन पाउने भएको बेल्बासेले जनाउनु भयो । जिल्ला निर्वाचन कार्यालयका अनुसार कास्कीमा कुल ३ सय ६५ जना मतदान अधिकृत खटिनु भएको छ भने जस मध्य २० प्रतिशतले ७३ जना महिला मतदान अधिकृत रहनु भएको हो । २ सय ९२ जना पुरुष मतदान अधिकृत निर्वाचनमा खटिन भएको हो ।

कास्की कारागारमा भने २ जना महिला सहित ३८ जना मात्र मतदाता रहनु भएको छ । साँढे ७ सय भन्दा बढी बन्दी रहेकोमा कास्की कारागारबाट मतदान गराउनको लागि ३८ जनाको मात्र नाम सिफारिस भई आए बमोजिम उहाँहरुले मात्र मतदान गर्न पाउने भएको मतदान अधिकृत गोविन्द श्रेष्ठले बताउनु भयो । विगत दुई सातादेखि नेपाली सेनाले कारागारको सुरक्षा गर्दै आएको छ भने फागुन १९ गतेदेखि बन्दीहरुलाई भेटघाटमा हाल रोक लगाइएको छ । जिल्ला समन्वय समितिको परिसरमा कर्मचारीहरुको लागि अस्थायी मतदान केन्द्र रहेकोले यहाँ समानुपातिक तर्फको मात्र मतदान हुने भएको मतदान अधिकृत सरस्वती गिरीले बताउनु भयो । करिब ३ हजार जना कर्मचारी अस्थायी मतदानाको रुपमा रहेको बताउदै उहाँले ७० प्रतिशत जसो कर्मचारी निर्वाचनमा खटिएको जनाउनु भयो ।

कास्की जिल्लाका तीन निर्वाचन क्षेत्रमा १ हजार ४ सय ४२ कर्मचारी खटिनु भएको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्रनाथ न्यौपानले बताउनु भयो । कास्कीमा मतदाताको सङख्या ३ लाख ८ हजार ५ सय ७२ रहेको छ । कास्कीमा महिला तर्फ १ लाख ६० हजार १ सय ५३ र पुरुष तर्फ १ लाख ४८ हजार ४ सय १५ जना र ४ जना अन्य रहेको उहाँले जनाउनु भयो । तीनवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट स्वतन्त्रसहित ४९ जना उम्मेदवार चुनावी मैदानमा रहनु भएको छ । तीमध्ये ४३ जना विभिन्न राजनीतिक दलका र ६ जना स्वतन्त्र उम्मेदवार रहनु भएको हो । कास्की–१ र कास्की–२ मा १७÷१७ जना तथा कास्की–३ मा १५ जना उम्मेदवार प्रतिस्पर्धामा रहनु भएको हो ।