
पोखरा, १८ फागुन,
नेकपा एमाले नेता तथा गण्डकी प्रदेश सभा सदस्य वेद बहादुर गुरुङले कम्युनिष्ट मत बुर्जुवा पार्टीतर्फ नलैजान आग्रह गर्नुभएको छ। सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उहाँले कम्युनिष्ट मत विभाजन भए पनि त्यो कम्युनिष्ट पार्टीभित्रै सीमित हुनुपर्ने बताउनुभयो।
गुरुङले सूर्य चिन्हमा चित्त नबुझे अर्को कम्युनिष्ट पार्टी नेकपाको तारा चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो। “कम्युनिष्ट मत बुर्जुवा पार्टीतिर सर्नु दीर्घकालीन रूपमा वामपन्थी आन्दोलनका लागि घातक हुन्छ,” उहाँले उल्लेख गर्नुभएको छ। उहाँका अनुसार विगतमा नेकपा (एमाले) र माओवादी केन्द्रको आकार घटबढ हुँदा पनि मत कम्युनिष्ट पार्टीभित्रै घुमेको थियो। “एमाले बलियो हुँदा माओवादी केन्द्र कमजोर भएको र माओवादी केन्द्र बढ्दा एमाले घटेको उदाहरण छ,” उहाँले लेख्नुभएको छ। दुवै पार्टी एक हुँदा झण्डै दुई तिहाइ बहुमत पुगेको स्मरण गर्दै उहाँले कम्युनिष्ट मत अन्ततः कम्युनिष्टमै रहनुपर्ने धारणा राख्नुभयो।
गुरुङले यसपटकको निर्वाचनमा कम्युनिष्ट समर्थक मतदाता मत परिवर्तनको नाममा बुर्जुवा पार्टीतिर मोडिए दीर्घकालीन रूपमा वाम शक्तिहरू रक्षात्मक र कमजोर बन्न सक्ने चेतावनी दिनुभयो। “एकपटक बुर्जुवा वर्गतिर गएको मत फेरि कम्युनिष्टमा फर्काउन कठिन हुन्छ,” उहाँको तर्क छ। कम्युनिष्ट आन्दोलनलाई सुदृढ बनाउन मतदाताले वैचारिक आधारमा निर्णय लिनुपर्ने उल्लेख गर्दै उहाँले सूर्य चिन्हमा चित्त नबुझे तारा चिन्हमा मतदान गर्न, तर अन्य पार्टीतिर मत नलग्न आग्रह गर्नुभएको छ।



