बुलेटबाट ब्यालेटसम्मः हेमबहादुर थापाको समाजवादी अभियान, कास्की–२ मा पर्यटन र कृषिको उज्यालो भविष्य खोज्दै

-


     पोखरा क्लिक     
     फागुन १७ गते २०८२ मा प्रकाशित


पोखरा, १७ फागुन,

कुनै समय काँधमा एसएलआर बोकेर राज्यसत्ता विरुद्ध लडेका एक कमाण्डर आज मतपेटिका मार्फत जनमत खोज्दै छन्। ‘आमोद’ नामले जनयुद्धकालमा चिनिएका हेमबहादुर थापा (किरण) अहिले बुलेट छाडेर ब्यालेट हुदै जनताको माझ समाजबादीको यात्रा अघि बढाएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कास्की निर्वाचन क्षेत्र नम्बर–२ बाट उनलाई उम्मेदवार बनाएको छ।

जनयुद्धदेखि जनमतसम्म-२०४० साल वैशाख १ गते कास्कीको पोखरा–३३ भरतपोखरीमा जन्मिएका किरणको राजनीतिक यात्रा विद्यार्थी आन्दोलनबाट सुरु भयो। अखिल क्रान्तिकारीको कास्की जिल्ला अध्यक्ष हुँदै उनी जनमुक्ति सेनामा प्रवेश गरे। जिल्ला प्लाटुन सदस्यबाट ‘परिवर्तन स्मृति ब्रिगेड’ कम्पनीका राजनीतिक कमिसार र विशेष टास्क फोर्स बटालियनका सहायक कमाण्डरसम्मको जिम्मेवारी सम्हाले। पाल्पा, स्याङ्जा, कपिलवस्तु र सुनवलका आक्रमण मोर्चामा अग्रपंक्तिमा लडेका उनी तीनगिरे भिडन्तका एक पात्र पनि हुन्। जनयुद्धकालमा उनी ‘आमोद’का नामले परिचित थिए। उनका अनुसार, “त्यो समय व्यवस्था बदल्ने संघर्ष थियो, अहिले अवस्था बदल्ने संघर्ष हो।”शान्ति प्रक्रियापछि धेरै कमाण्डरले नेपाली सेनाको जर्सी रोज्दा उनले भने राजनीति रोजे। “ब्यारेक होइन, जनताको बीचमा बसेर परिवर्तन गर्नुपर्छ भन्ने विश्वास थियो,” उनी भन्छन्।

विचारमा अडान, जीवनमा सरलता– किरणको राजनीतिक यात्रामा उतारचढाव पनि कम छैन। बाबुराम भट्टराई नेतृत्वको दलबाट २०७४ सालमा कास्की–२ बाट चुनाव लडे पनि सफलता हात लागेन। त्यसबेला एमालेका रवीन्द्र अधिकारी विजयी भएका थिए। पार्टीभित्रको वैचारिक मतभेदपछि उनले वाम एकताको पक्ष रोजे र अन्ततः पुनः माओवादी धारमा फर्किए। अहिले उनी नेकपाका केन्द्रीय सदस्य छन्। केन्द्रीय तहमा पुगे पनि जीवनशैली सरल छ। पद र प्रतिष्ठाभन्दा सेवा र संगठन निर्माणमा रुचि राख्ने उनी कहिल्यै ‘हाइफाइ’ नेताका रूपमा चिनिएनन्। पार्टीले सम्पत्ति पार्टीकरण गर्ने निर्णय गर्दा ६ रोपनी जग्गाको लालपुर्जा बुझाएको प्रसंग उनले अझै स्मरण गर्छन्—“निर्णय लागु नभएपछि फिर्ता आयो, तर भावना सधैं त्यही छ।”

शिक्षा र विकासमा योगदान-राजनीतिक संघर्षसँगै किरणको अर्को पहिचान शैक्षिक क्षेत्र हो। सरस्वती टीका बहुमुखी क्याम्पसका संस्थापक अध्यक्ष, पृथ्वीनारायण क्याम्पस र जनप्रिय क्याम्पसका सञ्चालक समिति सदस्य, विभिन्न विद्यालयका सल्लाहकारका रूपमा उनले काम गरेका छन्। दम्सादी खोलाको झोलुङ्गे पुलदेखि पुँडीटार पुलसम्मका पूर्वाधार निर्माणमा उनको पहल उल्लेखनीय छ। कानूनमा स्नातक र समाजशास्त्रमा स्नातकोत्तर अध्ययनरत किरण साहित्यप्रेमी पनि हुन्। कथा, कविता लेख्ने र एक समय ‘आदर्श नेपाल’ दैनिक सञ्चालन गर्ने अनुभवले उनलाई बौद्धिक नेताका रूपमा चिनाएको छ।

अबको एजेन्डाः पर्यटन र कृषिबाट समृद्ध कास्की–२– यसपटकको चुनावमा किरणको मूल एजेन्डा स्पष्ट छ—पर्यटन र कृषिबाट कास्की–२ को आर्थिक रुपान्तरण। उनका अनुसार कास्की–२ मा ग्रामीण पर्यटन, कृषि पर्यटन, अर्गानिक खेती, दुग्ध तथा फलफूल प्रशोधन उद्योगको अपार सम्भावना छ। “भरतपोखरी, पुँडीटार, डाँडाकोट, काहुँखोला—यी सबै क्षेत्रलाई कृषि–पर्यटन क्लस्टरका रूपमा विकास गर्न सकिन्छ,” उनी भन्छन्।

उनको योजना अनुसारः– कृषिमा सहकारीमार्फत उत्पादन, प्रशोधन र बजार सुनिश्चित गर्ने, युवालाई विदेश पलायन होइन, उद्यमशीलतामा जोड्ने,पोखराको पर्यटन प्रवाहलाई ग्रामीण क्षेत्रमा विस्तार गर्ने, साना किसानका लागि बीमा, अनुदान र प्राविधिक सहयोग सुनिश्चित गर्ने, “हिजो व्यवस्था बदल्न बुलेट बोकेँ, आज जनताको अवस्था बदल्न ब्यालेट खोज्दै छु,” किरणको भनाइ छ।

‘तारा सहितको समाजवाद’को अभियान-किरण आफूलाई ‘भुइँमान्छेको नेता’ भन्छन्। सामाजिक न्याय, समान अवसर र समतामूलक विकास उनको मूल नारा हो। उनी भन्छन्, “समाजवाद कागजमा होइन, खेतबारी र होटल–लजमा देखिनुपर्छ। किसान र पर्यटन व्यवसायीको मुहार उज्यालो भए मात्र परिवर्तन सार्थक हुन्छ।” फागुन २१ को निर्वाचनमा विजयी भए कास्की–२ लाई नमुना क्षेत्र बनाउने उनको अठोट छ। बुलेटबाट ब्यालेटसम्मको यात्रा तय गरेका किरण अब जनताको मनबाट ‘मनुमोदन’ खोज्दै छन्—पर्यटन र कृषिबाट उज्यालो कास्की–२ बनाउने सपना सहित।