इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी हवाइ आक्रमणमा मारिएको दाबी, ४० दिनको शोक घोषणा, एक हप्ता सार्वजनिक बिदा,

-


     पोखरा क्लिक     
     फागुन १७ गते २०८२ मा प्रकाशित


काठमाण्डौं

ट्रम्पले आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म मार्फत उक्त जानकारी सार्वजनिक गरेका हुन्। उनले अमेरिकासँगै इजरायल ले राजधानी तेहरान मा गरेको संयुक्त आक्रमणमा खामेनी मारिएको उल्लेख गर्दै यसलाई “न्याय भएको” टिप्पणी गरेका छन्।

यसअघि अन्तर्राष्ट्रिय समाचार संस्था अमेरिकी टेलिभिजन नेटवर्क तथा इजरायली सञ्चारमाध्यमहरूले पनि ८६ वर्षीय खामेनी मारिएको दाबी गरेका थिए। इजरायलका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै विभिन्न सञ्चारमाध्यमले उक्त समाचार प्रसारण गरेका हुन्। इरानको अर्धसरकारी समाचार संस्था लाई उद्धृत गर्दै अमेरिकी पत्रिकाले पनि खामेनीको मृत्यु भएको उल्लेख गरेको छ। पछिल्लो विवरणअनुसार खामेनीसँगै उनकी छोरी, ज्वाइँ, बुहारी र नाति समेत मारिएको दाबी गरिएको छ। इरानी सरकारी टेलिभिजन र विभिन्न मिडिया आउटलेटहरूले समेत सर्वोच्च नेता खामेनीको मृत्यु भएको पुष्टि गरेको बताइएको छ। यद्यपि आक्रमणको प्रारम्भिक चरणमा केही इरानी अधिकारीहरूले खामेनी सुरक्षित रहेको दाबी गरेका थिए।

४० दिने राष्ट्रिय शोक घोषणा– खामेनीको निधनको शोकमा इरानमा ४० दिने राष्ट्रिय शोक घोषणा गरिएको छ। साथै ७ दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको समाचार सार्वजनिक भएका छन्। शनिबार बिहान अमेरिका र इजरायलले संयुक्त रूपमा इरानका विभिन्न स्थानमा हवाइ हमला गरेको बताइएको छ। राजधानी तेहरानस्थित खामेनीको निवास नजिकै ठूला विस्फोटका आवाज सुनिएको र धुवाँका मुस्लो देखिएको भिडियो तथा तस्बिर सार्वजनिक भएका थिए।

आक्रमणपछि राष्ट्रपति ट्रम्पले इरानी नागरिकहरूलाई “सत्ता आफ्नो नियन्त्रणमा लिने सुनौलो अवसर” आएको भन्दै अभिव्यक्ति दिएका थिए। सन् १९८९ देखि इरानको सर्वोच्च नेताको जिम्मेवारी सम्हाल्दै आएका ८६ वर्षीय खामेनीको मृत्युले मध्यपूर्वको राजनीतिक अवस्था थप जटिल बन्न सक्ने विश्लेषण गरिएको छ। अन्तर्राष्ट्रिय समुदायले घटनाक्रमलाई गम्भीर रूपमा नियालिरहेको छ।