२० औँ पोखरा अन्तर्राष्ट्रिय म्याराथन शनिबार विहान ठिक ७ बजे दौड सुरु हुने, नेपाल सहित २१ देशका ३५०६ धावक २१ इभेण्टमा प्रतिष्प्रर्धा गर्दै, ७६ जना पुरस्कृत हुने

-


     पोखरा क्लिक     
     फागुन १ गते २०८२ मा प्रकाशित


दीननाथ बराल.

पोखरा १, फागुन

खेलकुदको शहर पोखरामा भोलि (शनिबार) २० औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०८२ हुने भएको छ । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिबार बिहान ठिक ७ः०० बजे उक्त दौड पोखरा रंगशालाबाट सुरु हुने भएको मञ्चका अध्यक्ष दील बहादुर गुरुङले पोखराक्लिकलाई बताउनु भयो । उहाँका अनुसार बिहान ६ः०० रिपोटीङ हुने भएको छ ।

म्याराथन सहितको २१ वटा इभेण्टको लागि आवश्यक अन्तिम तयारी पूरा भएको समेत बताउदै उहाँले यस वर्ष पोखरा म्याराथन अन्तर्गत ४२ किलोमिटरको म्याराथन, हाप म्याराथन (२१ किलोमिटर) सहितका २१ वटा इभेण्टमा प्रतिस्पर्धा हुने बताउनु भयो । ३ हजार ५ सय ६ जना धावकरु सूचिकृत भएको उल्लेख गर्दै मञ्चका अध्यक्ष गुरुङले ‘रन फर फन’ सहित करिब १० हजार जना शनिबार पोखरा म्याराथन दौडको अभियानमा सहभागि हुने दाबी गर्नु भयो ।

खुल्ला म्याराथन ४२.१९५ किमि, राष्ट्रिय तथा प्रदेशस्तरीय म्याराथन, ४५ वर्ष माथिको म्याराथन, हाफ म्याराथन महिला–पुरुष, १० किमि दौड, विद्यालयस्तरीय ५ किमि दौड, भेट्रान्स, कर्पोरेट दौड तथा ‘रन फर फन’ समावेश गरिएको उहाँले जनाउनु भयो । प्रतियोगितामा अमेरिका, बेलायत, न्यूजिल्याण्ड, केन्या, नाइजेरिया, बेल्जियम लगायत विभिन्न देशबाट धावकहरूको सहभागिता रहने भएको मञ्चका सचिव महेश पौडेलले बताउनु भयो ।

यस वर्ष २१ वटा स्पर्धामा ७६ जना विजेतालाई कुल रु १९ लाख ९८ हजार नगद पुरस्कार वितरण गरिने भएको अध्यक्ष गुरुङले जनाउनु भयो । म्याराथनतर्फ प्रथम हुनेले रु ४ लाख, द्वितीयले रु २ लाख र तृतीयले रु १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । चौथोदेखि आठौँ स्थानसम्मका खेलाडीलाई पनि नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । साथै, दूरी पूरा गर्ने सबै खेलाडीलाई ३ हजार ७ सय फिनिसर मेडल प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिनुभयो । पोखराको नगरी परिक्रमा गरी पोखराको बाराहीघाट खेल मैदानमा प्रतियोगिता समापन हुने भएको हो । धावकहलाई आफ्नो टोल तथा क्षेत्रमा आउदा स्थानिय आमा समुह, क्लव तथा विभिन्न संघ संस्थाहरुले स्वागत गर्ने भएको मञ्चका पूर्व अध्यक्ष तेजबहादुर गुरुङले बताउनु भयो ।