प्रेमी जोडीलाई अन्नपूर्ण केवलकारले केक सहितको छुट्टै क्याबिनको प्याकेज ल्यायो

-


     पोखरा क्लिक     
     फागुन १ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, १ फागुन,

भ्यालेन्टाइन डे (प्रेम दिवस) लाई लक्षित गर्दै पोखरामा सञ्चालनमा रहेको अन्नपूर्ण केवलकारले प्रेमी जोडीका लागि केकसहितको छुट्टै क्याबिन प्याकेज सार्वजनिक गरेको छ । फेब्रुअरी १४, (शनिबार) का दिन मात्र लागू हुने यो अफरअन्तर्गत अग्रिम बुकिङ गर्ने जोडीले बेलुन र फूलले सिँगारिएको प्राइभेट क्याबिनमा विशेष यात्रा अनुभव गर्न पाउने भएकाछन् ।

प्रेम दिवसलाई अझ स्मरणीय बनाउने उद्देश्यले क्याबिनभित्रै आधा पाउन्ड केक निःशुल्क उपलब्ध गराइने भएको कम्पनीका जनरल म्यानेजर दिनेश पौडेलले पोखराक्लिकलाई बताए । उनका अनुसार केक काट्ने विशेष व्यवस्था समेत मिलाइनेछ भने जोडीलाई रोमाञ्चक वातावरणमा अविस्मरणीय क्षण बिताउने अवसर दिन प्याकेज तयार गरिएको हो। अफरअन्तर्गत अतिरिक्त अतिथिका लागि १५ प्रतिशत छुटको सुविधा राखिएको छ। साथै भाग्यशाली पाँच जोडीलाई डिनर कुपनसहित होटलमा एक रात निःशुल्क बसाइको कुपन लक्की ड्रमार्फत प्रदान गरिने कम्पनीले जनाएको छ।

यस प्याकेजमा सहभागी हुन कम्पनीको आधिकारिक फेसबुक पेजमा राखिएको भिडियो फेसबुक, टिकटक र इन्स्टाग्राममा सेयर गर्नुपर्नेछ। सेयर गर्ने सहभागीमध्येबाट एक जनालाई थप एक निःशुल्क डिनर कुपन उपलब्ध गराइने जनाइएको छ। अफरका लागि अग्रिम बुकिङ अनिवार्य गरिएको छ भने इच्छुक सेवाग्राहीले आधिकारिक पेजमार्फत कल वा ह्वाट्सएप सन्देश पठाएर बुकिङ गर्न सक्नेछन्। लेकसाइडस्थित सेती बगरबाट सञ्चालन हुने केबलकारले करिब ९ मिनेटमै सराङकोट पुग्ने सुविधा दिन्छ। यात्राका क्रममा हरियाली वन–जंगल, पोखरा सहर, फेवाताल, पुम्दी भुम्दीमा रहेको विश्व शान्ति स्तुप, बिशाल महादेवको मुर्ति, नयाँ विमानस्थल तथा हर्पन खोलाको नागबेली दृश्य अवलोकन गर्न सकिन्छ। माथिल्लो स्टेशनबाट केही मिनेट पैदल हिँडेर पुग्न सकिन्छ, जहाँबाट अन्नपूर्ण–माछापुच्छ्रे हिमशृङ्खलाको मनमोहक दृश्य नियाल्न सकिन्छ।

सूर्योदय र सूर्यास्तका लागि लोकप्रिय सराङकोट डाँडासम्म सहज पहुँच दिने यो सेवा बिहानैदेखि सञ्चालन हुने कम्पनीले जनाएको छ। लेकसाइडबाट निःशुल्क सटल बस सुविधा उपलब्ध छ भने दुईतर्फी टिकट ७ सय र एकतर्फी टिकट ४ सय रुपैयाँ तोकिएको छ।



This will close in 20 seconds