कास्कीमा पहिलोपटक उज्यालो नेपाल पार्टीद्वारा २१ बुँदे चुनावी घोषणापत्र सार्वजनिक (भिडियो सहित) पोखरामा अन्तर्राष्ट्रिय हवाई उडानदेखि फोहोरको दिगो व्यवस्थापनसम्मका स्पष्ट योजना

-


     पोखरा क्लिक     
     माघ २७ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,
पोखरा २७, माघ

उज्यालो नेपाल पार्टीबाट कास्की क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार कुशल गुरुङले पोखराको दिगो विकास, पर्यावरण संरक्षण र आर्थिक रूपान्तरणलाई केन्द्रमा राख्दै आफ्नो २१ बुँदे चुनावी घोषणापत्र सार्वजनिक गरेका छन्।आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा घोषणापत्र सार्वजनिक गर्दै गुरुङले भाषण र नाराभन्दा काम र परिणाममा आधारित राजनीति गर्ने प्रतिबद्धता जनाए। पोखरा कुनै सरकारी घोषणाले होइन, यहाँको अनुपम प्राकृतिक सौन्दर्यका कारण पर्यटनको राजधानी बनेको सहर भएको उनको भनाइ थियो।

गुरुङका अनुसार विश्वका १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमालमध्ये अन्नपूर्ण, धौलागिरी र मनास्लु पोखराबाट देखिनुका साथै विश्व रामसार सूचीमा सूचीकृत आठवटा तालहरूले पोखराको पर्यावरणीय सन्तुलन, पानीको सुनिश्चितता र सहरको शीतलता कायम राखेका छन्। तर पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनका कारण पोखरा गम्भीर संकटतर्फ उन्मुख हुँदै गएको उल्लेख गर्दै उनले ताल सुक्दै जानु र हिमालका हिउँ पग्लिनु पोखरेली जनताको दोष नभई विश्वका औद्योगिक राष्ट्रहरूले गरिरहेको अत्यधिक कार्बन उत्सर्जनको परिणाम भएको धारणा राखे। जलवायु परिवर्तनबाट भएको क्षतिका लागि संयुक्त राष्ट्रसंघको हरित जलवायु कोषमार्फत अन्तर्राष्ट्रिय क्षतिपूर्ति प्राप्त गर्न संसदमा बलियो आवाज उठाइने उनले बताए।

पर्यटन, पूर्वाधार र वातावरण संरक्षण

पर्यटन प्रवर्द्धनतर्फ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान सञ्चालन गरी वार्षिक ३० लाख पर्यटक भित्र्याउने ठोस योजना कार्यान्वयन गरिने गुरुङले प्रतिबद्धता जनाए। पृथ्वीचोकस्थित बसपार्कलाई विस्तार तथा व्यवस्थित गर्दै अपांगमैत्री संरचना, सार्वजनिक शौचालय, स्तनपान कक्ष, स्नानगृह, बहुधार्मिक प्रार्थना स्थल र सुविधायुक्त प्रतीक्षालयसहित आधुनिक बसपार्क निर्माण गरिने उल्लेख गरे।

तालतलैया र सिमसार संरक्षणलाई प्राथमिकतामा राख्दै फेवाताललाई रामसार मापदण्डअनुसार संरक्षण गर्ने, अतिक्रमण नियन्त्रण, ढल व्यवस्थापन र जैविक विविधता संरक्षण सुनिश्चित गर्ने योजना सार्वजनिक गरिएको छ। सेती कोरिडोर विकास योजनाअन्तर्गत शान्ति वन जैविक विविधता उद्यानको सुधार, रामघाट जलाधारलाई जलविहार तथा मनोरञ्जन केन्द्रका रूपमा विकास गर्ने तथा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयदेखि बागमारा क्षेत्रसम्मलाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने एजेन्डा समेटिएको छ।

रोजगारी, कृषि र डिजिटल अर्थतन्त्र

पोखरालाई साहसिक खेलकुदको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा विकास गर्दै खेलकुद पर्यटनमार्फत ठूलो मात्रामा स्वरोजगारी सिर्जना गरिने गुरुङले बताए। वन डढेलो नियन्त्रणका लागि आधुनिक प्रविधि, तालिमप्राप्त जनशक्ति र सामुदायिक वन उपभोक्ता समितिलाई आवश्यक स्रोतसाधन उपलब्ध गराई तत्काल प्रतिक्रिया प्रणाली लागू गरिने उनको भनाइ छ।

कृषि र ऊर्जा क्षेत्रको रूपान्तरणअन्तर्गत जलवायु उत्थानशील कृषि प्रणाली लागू गरी कृषकलाई जलवायु जोखिम बीमाको पहुँचमा ल्याइने, अन्तर्राष्ट्रिय जलवायु वित्तमार्फत ‘जलवायु कोष’ स्थापना गरिने र जलविद्युत आयोजनामा जलवायु उत्थानशील प्रविधि अपनाइने उल्लेख छ। साथै एयपजबचब म्ष्नष्तब िभ्अयकथकतझ स्थापना गरी २५ हजार नयाँ रोजगारी सिर्जना गर्ने दाबी गरिएको छ।

शिक्षा, स्वास्थ्य र सुशासन

शिक्षा तथा प्रविधिको क्षेत्रमा सामुदायिक विद्यालयदेखि विश्वविद्यालयसम्म आर्टिफिसियल इन्टेलिजेन्स ९ब्क्ष्० आधारित शिक्षा र तालिम लागू गरिने घोषणापत्रमा उल्लेख छ। कास्की, स्याङ्जा र तनहुँका स्थानीय तहलाई समेट्दै एकीकृत फोहोरमैला व्यवस्थापनको दीर्घकालीन समाधान कार्यान्वयन गरिने प्रतिबद्धता पनि जनाइएको छ।

स्वास्थ्य र सुशासनतर्फ सरकारी अस्पताल तथा स्वास्थ्य चौकी स्तरोन्नति गर्दै विशेषज्ञ सेवा विस्तार, आधुनिक स्वास्थ्य बीमा प्रणाली प्रभावकारी बनाउने तथा कर्मचारीतन्त्रको कार्यसम्पादन मूल्याङ्कन, वित्तीय अनुशासन र वैज्ञानिक लेखापरीक्षणमार्फत ब्क्ष् आधारित सुशासन प्रणाली लागू गरिने गुरुङले बताए।

सामाजिक न्याय, संस्कृति र ग्रामीण विकास

सामाजिक न्यायका विषयमा सुकुम्बासी, भूमिहीन तथा अव्यवस्थित बस्तीहरूको न्यायपूर्ण, व्यावहारिक र दिगो समाधान सुनिश्चित गरिने घोषणापत्रमा उल्लेख छ। संस्कृति र ग्रामीण अर्थतन्त्र प्रवर्द्धनका लागि बाटुलेचौरमा ‘सारङ्गी घर’ निर्माण गरी गन्दर्भ समुदायको व्यवस्थापनमा रैथाने संगीत केन्द्र स्थापना गरिने योजना सार्वजनिक गरिएको छ।

भलाम, आँटीघर, मौजा, अर्मला लगायत ग्रामीण क्षेत्रलाई कृषि–पर्यटन तथा पूर्ण अर्गानिक उत्पादन क्षेत्रका रूपमा विकास गरिने तथा कृष्तिदेखि भरतपोखरी र निर्मलपोखरीसम्म फैलिएको सुन्तला पकेट क्षेत्रमा देखिएको सिट्रस ग्रिनिङ रोगको वैज्ञानिक समाधान गर्दै किसानलाई अनुदानसहित नयाँ बिरुवा वितरण गरिने प्रतिबद्धता जनाइएको छ।

सहकारी ठगी र सुशासन

अन्त्यमा गुरुङले सहकारी संस्थामा बचतकर्ताको रकम हिनामिना गर्ने व्यक्ति तथा गिरोहमाथि तत्काल कानुनी कारबाही अघि बढाइने र पीडितको बचत फिर्ता प्रक्रिया तुरुन्त सुरु गरिने स्पष्ट पार्दै सहकारी ठगीलाई कुनै पनि हालतमा राजनीतिक सौदाबाजीको विषय नबनाइने दोहो¥याए।

कार्यक्रममा उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार सीता पाण्डेले जेनजी आन्दोलनका क्रममा आफ्नो छोरा गोली लागेर घाइते भएको तर राज्यबाट प्रमाणपत्र नपाउँदा उपचार तथा विदेश जान समस्या भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण गराइन्। आन्दोलनका माग पूरा गर्न आफूहरू पार्टीमार्फत निरन्तर आवाज उठाउँदै आएको र आन्दोलनकारीलाई आतंककारीको रूपमा चित्रित गर्नु गलत भएको उनको भनाइ थियो।