
दीननाथ बराल,
पोखरा, २० माघ,
नेपालको खेलकुद विकासलाई थप व्यवस्थित, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउन नीतिगत सुधार, पूर्वाधार विकास र दीर्घकालीन लगानी अपरिहार्य रहेको निष्कर्ष सहित पश्चिम पृतना हेडक्वाटरमा एकदिने गोष्ठी सम्पन्न भएको छ । नेपाली सेनाको पश्चिम पृतना हेड क्वाटरमा सोमबार आयोजित “नेपाली सेनाको खेलकुद विकासलाई स्तर अभिवृद्धि गर्न अपनाउनु पर्ने उपाय” विषयक गोष्ठीमा सहभागि खेल विज्ञ, खेलकुद संघ संस्थाका पदाधिकारी तथा सरोकारवालाहरुले खेलकुदमा अझ बढी राजनीति हुदा पनि नेपाली खेलकुदलाई अझ बढी प्रभावकारी बनाउन नसकिएको बताउनु भएको थियो ।

पृतना हे.क्वा.का पृतनापति उपरथी भोलानाथ थापाकोे प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा सहभागिहरुले नेपाली सेनाले हालसम्म अन्तराष्ट्रिय पदकमा र राष्ट्रिय प्रतियोगितामा नेपाली सेनाले खेलकुदमा पुर्याएको योगदानको प्रशंसा गर्दै अझ अन्तराष्ट्रिय , हुदै एसियन सहित ओलम्पिकमा पदक ल्याउने गरी नेपाली सेनाको खेलकुद क्षेत्रमा राज्यले थप लगानी गर्न सुझाव दिनु भएको छ ।

गोष्ठीमा राष्ट्रिय खेलकुद परिषद (राखेप) का वोर्ड सदस्य डा. मधुसूदन सुवेदीले “राष्ट्रिय खेलकुदको विकासका लागि राष्ट्रिय खेलकुद परिषदको नीति तथा कार्यक्रम” विषयमा प्रस्तुतिकरण गर्नुभयो। त्यस्तै, नेशनल ओलम्पिक एकेडेमीका अध्यक्ष तेज गुरुङले “ओलम्पिक अभियान, नेपाली खेलकुद र नेपाली सेना” तथा पश्चिम पृतना हे.क्वा.का सेनानी हुमान सिंह कुँवरले “नेपाली खेलकुदको विकासमा नेपाली सेनाको योगदान तथा वर्तमान अवस्था” बारे प्रस्तुति दिनुभयो।
कार्यक्रममा बोल्दै पृतनापति उपरथी भोलानाथ थापाले गोष्ठीबाट प्राप्त महत्वपूर्ण सुझाव, सहकार्य र मार्गदर्शनलाई आत्मसात गर्दै केही नीतिगत बिषयमा सम्बन्धित ठाँउमा पेश गर्नु जनाउनु भयो । उहाँले नेपाली सेनाको खेलकुद विकास मार्फत समग्र राष्ट्रिय खेलकुदको उन्नतिमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। छलफल कार्यक्रममा प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्मा, भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष दिलबहादुर गुरुङ, पूर्व अध्यक्ष खड्गबहादुर रानाभाट, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्कीका अध्यक्ष राजन पौडेल, अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी तथा प्रशिक्षक बिद्या मर्सानी, पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदार, कास्की जिल्ला एथलेटिक्स संघका सचिव सिद्धान्त अधिकारी तथा खेल पत्रकार दीननाथ बराल लगायतले खेलकुद क्षेत्रमा देखिएका नीतिगत कमजोरी सुधार गर्न सुझाव दिदै, प्रतिभावान खेलाडी हुँदाहुँदै कोटा प्रणालीमार्फत छनोट गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने, दक्ष प्रशिक्षकको गम्भीर अभाव समाधान गर्नुपर्ने, खेलकुद पूर्वाधार दिगो र अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गर्नुपर्नेमा जोड दिनुभयो। साथै, खेलकुद क्षेत्रमा अनावश्यक राजनीतिक हस्तक्षेप रोक्नुपर्ने र राजनीतिक दलका नेताहरूलाई खेलकुद संघ–संस्थाको नेतृत्व दिन नहुने स्पष्ट धारणा राख्नुभयो ।
छलफलमा सहभागीहरूले नेपाली खेलकुदको दीर्घकालीन विकासका लागि स्थानीय, प्रदेश र संघीय सरकारको स्पष्ट भिजन र पर्याप्त लगानी आवश्यक रहेको औँल्याउनु भयो । खेलाडीको भविष्य सुनिश्चित गर्न बीमा, रोजगारी र रिटायरपछिको जीवन व्यवस्थापन सम्बन्धी ग्यारेन्टी आवश्यक रहेको सुझाव पनि दिइएको थियो । नेपालले पदक जित्ने उच्च सम्भावना रहेका अल्ट्रा म्याराथन, पर्वतीय दौड, हाई–अल्टिच्युड खेलकुद प्रतियोगिता जस्ता इभेन्टको वल्र्ड कप नेपालमै आयोजना गर्न सके खेल पर्यटनमार्फत ठूलो आर्थिक लाभ लिन सकिने दाबी सहभागीहरूले गर्नु भएको भयो । विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय पदक तालिकामा नेपाली सेनाको योगदान ६० प्रतिशत रहेको सेनानी हुमान सिंह कुंवरले पोखराक्लिकलाई बताउनु भयो ।
यसै अवसरमा राखेप सदस्य डा. मधुसूदन सुवेदीले पछिल्लो करिब डेढ वर्षमा सात वटा बैठक बसे पनि ती बैठकहरू दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति सार्ने विषयमै सीमित भएको भन्दै नीतिगत सुधार र खेलकुदलाई व्यवस्थित रूपमा अगाडि बढाउने कार्यक्रमको अभाव रहेको गुनासो व्यक्त गर्नुभयो।




