
दीननाथ बराल,
पोखरा, १३ माघ,
पोखरा र कास्कीका प्रमुख पर्यटकीय गन्तव्यतर्फ भारतीय निजी सवारी साधनहरू प्रयोजन विपरीत सञ्चालन हुँदा स्थानीय पर्यटन तथा यातायात व्यवसायी प्रत्यक्ष रूपमा मर्कामा परेपछि अब ती सवारी साधनहरूको कडाइका साथ अनुगमन हुने भएको छ ।
भारतीय सेतो नम्बर प्लेटका निजी सवारी साधनहरूले भारतबाटै यात्रु बोकेर पोखरा, मुस्ताङ, मुक्तिनाथ, मनाङल गायतका पर्यटकीय गन्तव्यसम्म सिधै ओसारपसार गर्न थालेपछि स्थानीय व्यवसाय धरासायी बन्दै गएको भन्दै नेपाल पर्यटक यातायात व्यवसायी संघ, गण्डकी प्रदेशले जिल्ला प्रशासन कार्यालय कास्कीमा औपचारिक रूपमा ध्यानाकर्षण पत्र बुझाएको थियो ।व्यवसायीको गुनासोलाई गम्भीर रूपमा लिँदै जिल्ला प्रशासन कार्यालय कास्कीले भारतीय सवारी साधनको चेकजाँच तथा नियमनका लागि जिल्ला प्रहरी कार्यालय कास्की र यातायात व्यवस्था कार्यालय सवारी, कास्कीलाई पत्राचार गरी प्रभावकारी अनुगमन गर्न निर्देशन दिएको छ ।
नेपाल पर्यटक यातायात व्यवसायी संघका अध्यक्ष दुर्गादत्त दाहालले प्रशासनको उत्तः निर्णयले आफुहरुमा ठूलो राहत मिलेको पोखराक्लिकलाई बताउनु भयो । “नेपालमै महँगो मूल्य तिरेर सवारी साधन सञ्चालन गर्नुभएको छ, तर भारतीय निजी गाडीहरूले बिना रुट परमिट सिधै पर्यटक बोकेर गन्तव्यसम्म पुग्दा हाम्रो व्यवसाय संकटमा परेको छ,” उहाँले भन्नुभयो “प्रशासनको पछिल्लो कदमले अब केही हदसम्म समस्या समाधान हुने हामीलाई विश्वास छ ।”
भारतमा करिब २० लाख रुपैयाँ पर्ने सवारी साधन नेपालमा ७०–८० लाख रुपैयाँसम्म खर्च गरेर चलाउनुपर्ने अवस्था छ । यस्तो असमान प्रतिस्पर्धाका बीच भारतीय निजी सवारी साधनले प्रयोजनविपरीत यात्रु बोक्दा तपाईँको आम्दानी घट्नु स्वाभाविक भएको व्यवसायीहरूको गुनासो छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख सुजितकुमार देवकोटाले तपाईँहरूबाट आएको गुनासोको आधारमा अब रुट परमिट, भन्सार जाँचपास र अनुमति पत्रको कडाइका साथ अनुगमन गरिने जानकारी दिनुभएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा तथा प्रहरी प्रमुख एसपी नवीन कार्कीको निर्देशनअनुसार निगरानी बढाइएको उहाँको भनाइ छ ।
यता, होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले भारतीय सवारी साधन प्रयोग गरेर एकै दिनमा तराईदेखि उच्च हिमाली क्षेत्रसम्म पर्यटक पु¥याउँदा स्वास्थ्य समेत जोखिममा पर्ने चेतावनी दिनुभएको छ । लेक लाग्ने समस्या र सडक दुर्घटनाको सम्भावना बढ्ने भएकाले व्यवस्थापन अनिवार्य भएको उहाँको भनाइ छ । अब भारतीय निजी सवारी साधनलाई पोखरासम्म मात्र ल्याएर यहीं पार्किङ गराई मुस्ताङ, मनाङ जस्ता गन्तव्यमा नेपाली सार्वजनिक तथा पर्यटक सवारी साधन प्रयोग गराउन व्यवसयाीहरुको माग रहेको छ ।



