
पोखरा,
नेपालको विज्ञान, प्रविधि र अनुसन्धान क्षेत्रमा अन्तर्राष्ट्रिय पहिचान बनाएका वैज्ञानिक डा. निरञ्जन कोइरालाले कास्की क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन्। दशकौँ देखि दलगत राजनीतिले जनताको अपेक्षा पूरा गर्न नसकेको निष्कर्ष सहित उनी “विकास, नीति र इमानदारी”को नयाँ राजनीतिक अभ्यासका लागि चुनावी मैदानमा उत्रिएका हुन्।

डा.कोइरालाका अनुसार अहिलेको दलमुखी राजनीति व्यक्ति र क्षेत्रभन्दा पनि गुट, स्वार्थ र शक्ति केन्द्रित हुँदै गएको छ। “राजनीति सेवा होइन, सौदाबाजी बन्दै गइरहेको छ। यस्तो अवस्थामा विज्ञान, तथ्य र नीतिमा आधारित निर्णय गर्ने स्वतन्त्र आवाज संसदमा आवश्यक छ,” उनले पोखराक्लिकलाई भने।
विज्ञानबाट राजनीतितर्फ किन
दक्षिण कोरियाको सनमुन युनिभर्सिटीबाट बायोकेमिस्ट्री (फार्मास्युटिकल) विषयमा पीएचडी (२०१६) गरेका डा. कोइरालाले मेक्सिकोको र चीनको मकाउ विश्वविद्यालयमा पोस्टडक्टोरल अनुसन्धान पूरा गरेका छन्। उनीद्वारा गरिएका अनुसन्धानहरू हालसम्म अन्तर्राष्ट्रिय समुदायमा झण्डै ५,५०० भन्दा बढी पटक उद्धृत भइसकेका छन्। कोरियाली बौद्धिक सम्पत्ति कार्यालय (Kipo Korea) बाट पेटेन्ट प्राप्त उनका अनुसन्धानहरूले उनीलाई विश्वस्तरमा स्थापित वैज्ञानिक बनाएको छ ।
यति हुँदाहुँदै पनि उनले नेपालमै बसेर सेवा गर्ने बाटो रोजे। पोखरा विश्वविद्यालयसँग सम्बन्धन प्राप्त कलेजमा विभागीय प्रमुखको जिम्मेवारी सम्हालेका उनले कोभिड–१९ पछि गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठान (NAST) मा वैज्ञानिक तथा प्रवक्ताको भूमिका निर्वाह गरे। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९ल्ब्क्त्० का रिसर्च फेलो समेत रहेका डा। कोइराला भन्छन्, “नीति तहमा वैज्ञानिक सोच नपुगेसम्म देशले दीर्घकालीन फड्को मार्न सक्दैन।”
दल होइन, जनताप्रति उत्तरदायी राजनीति
उनको स्वतन्त्र उम्मेदवारी कुनै दलप्रतिको असन्तुष्टि मात्र होइन, जनताप्रति प्रत्यक्ष उत्तरदायी हुने प्रतिबद्धताको परिणाम हो। “दलको ह्विपले होइन, जनताको विवेकले संसद चल्नुपर्छ,” उनको भनाइ छ। शिक्षा, स्वास्थ्य, रोजगारी, अनुसन्धान, नवप्रवर्तन र युवालाई देशमै रोक्ने नीतिलाई उनले आफ्नो मुख्य एजेन्डा बनाएका छन्।
सम्मान र पहिचान, तर सादगी जीवन
नेपाल सरकारबाट नेपाल विद्याभूषण ‘ए’ पदक बाट विज्ञान तथा प्रविधि युवा पुरस्कार, भारतको (BRICPL) युवा वैज्ञानिक पुरस्कार, तथा सनमुन युनिभर्सिटीको डीन च्वाइस अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरिसकेका डा। कोइराला हालै स्ट्यानफोर्ड विश्वविद्यालयले तयार पारेको विश्वका शीर्ष २ प्रतिशत वैज्ञानिकहरूको सूचीमा समेत सूचीकृत छन्।यति ठूलो अन्तर्राष्ट्रिय पहिचान हुँदाहुँदै पनि उनी आफूलाई “साधारण पोखरेली नागरिक”कै रूपमा प्रस्तुत गर्छन्। “मेरो शक्ति पद होइन, ज्ञान र इमान हो,” उनी भन्छन्।
कास्की–२ मा नयाँ राजनीतिक बहस
डा। निरञ्जन कोइरालाको उम्मेदवारीले कास्की–२ मा वैकल्पिक राजनीतिमाथि नयाँ बहस सुरु गराएको छ। परम्परागत दलहरूबाट आजित मतदाताका लागि उनी आशाको नयाँ प्रतिनिधि बनेर उदाएका छन्। “राजनीति करियर होइन, जिम्मेवारी हो,” भन्ने मूलमन्त्रसहित उनी कास्की–२ बाट संसदमा वैज्ञानिक सोच, नैतिकता र तथ्यमा आधारित आवाज पुर्याउने अठोटका साथ चुनावी अभियानमा छन्।







