
पोखरा, २ माघ,
पोखराको मालेपाटन रंगशालामा यही माघ ४ गतेदेखि आयोजना हुने अन्तरविद्यालय स्तरिय क्रिकेट प्रतियोगिता ‘एलिट ट्रफी’ को हुने भएको छ । प्रतियोगिता माघ ८ गतेसम्म सञ्चालन हुने शुक्रबार पोखरा ट्रेड मल स्थित क्लासिक चुल्होमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जनाकारी गराइएको हो ।
प्रतियोगिता संयोजक तथा लियो जिल्ला परिषद् ३२५ एम नेपाल एमका विभागीय अध्यक्ष सुन्दर कार्कीले प्रतियोगिता युवाहरूका लागि महत्वपूर्ण अवसर हुने बताए। उनले एलिट ट्रफीको इतिहासबारे जानकारी दिँदै लियो क्लब अफ पोखरा सेन्ट्रल टाउनको पहलमा यसअघि स्नातक तह लक्षित प्रतियोगिता सुरु गरिएको र हालसम्म दुई संस्करण सम्पन्न भइसकेको उल्लेख गरे। विद्यालय स्तरको यस एलिट ट्रफीमा पावरहाउस क्ल्याशर्स सहयोगी साझेदार रहेको छ । कार्कीका अनुसार प्रतियोगिता लियो क्लब अफ पोखरा सेन्ट्रल टाउनले पावरहाउस क्ल्याशर्स र पोखरा फिनिक्स क्रिकेट क्लबसँगको सहकार्यमा संयुक्त रूपमा आयोजना गरेको हो । पहिलो सिजनमै पोखरा उपत्यकाका १४ वटा विद्यालयको सहभागिता रहेको कार्कीले बताए । उनका अनुसार पहिलो संस्करणमै यति ठूलो सहभागिता हुनु आयोजक समितिका लागि ठूलो उपलब्धि हो ।
प्रतियोगितामा प्रथम हुने टोलीले १० हजार रुपैयाँ र उपविजेता टोलीले ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै विजेता टोलीलाई कक्षा ११ र १२ मा ८० हजार रुपैयाँ बराबरको पूर्ण छात्रवृत्ति तथा उपविजेता टोलीलाई ७० हजार रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरिनेछ। यसका साथै उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र म्यान अफ द टुर्नामेन्टलाई विशेष पुरस्कार प्रदान गरिनेछ। विजेता खेलाडीहरूलाई नगद पुरस्कार, प्रमाणपत्र र पदक तथा टोलीहरूलाई ट्रफी प्रदान गरिनेछ। प्रतियोगितामा दर्शक फ्यानहरूद्वारा मनपर्ने टोलीलाई ५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार दिने व्यवस्था गरिएको छ, जुन शीर्षक प्रायोजक बीसीसी ग्लोबलले प्रदान गर्नेछ। प्रतियोगिता आईसीसीका नियमअनुसार टी–१० ढाँचामा खेलाइनेछ। खेलहरू रातो क्रिकेट टेनिस बल प्रयोग गरी कार्पेट पिचमा सञ्चालन गरिनेछ। पावरहाउस क्ल्याशर्सका अध्यक्ष सन्तोष खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतियोगिता उपसंयोजक दीपक क्षेत्रीले सञ्चालन गरेका थिए।





