
दीननाथ बराल,
पोखरा, २० पुस,
सुन्दर नगरी पोखरामा विद्युतीय तार भूमिगत गर्ने अभियानले हाल तीव्रता पाएको छ । नेपाल विद्युत् प्राधिकरण अन्तर्गत पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाको पोखरामा आगमी ६ महिना भित्र पहिलो चरणमा पोखरामा भूमिगत तार बिछ्याउने काम सम्पन्न गर्ने गरी कामलाई तिब्रता दिएको आयोजनाका प्रमुख इञ्जिनियर आनन्द सुवेदीले पोखराक्लिकलाई बताउनु भयो ।
उक्त परियोजनाको हालसम्म भौतिक प्रगति करिब ६५ प्रतिशत पुगेको छ । आयोजना अन्तर्गत सेती पुलदेखि कुँडहरसम्म केही छुटपुट क्षेत्र बाहेक करिब ५५० घरधुरीमा भूमिगत तार बिछ्याउन र विद्युत् सेवा सञ्चालनमा आइसकेको उहाँले जनाउनु भयो । “वर्षायाम अघि नै भूमिगत तार बिछ्याउने काम सक्ने गरी काम अघि बढाइएका छौं,” उहाँले भन्नुयोे, “पृथ्वीचोकदेखि लेकसाइड क्षेत्रमा हाल तीव्र गतिमा काम भइरहेको छ ।” विसं २०७८ माघमा दुई वर्षे ठेक्कामा गएको आयोजनाको काम ढिलो गरी २०८० वैशाखदेखि सुरु भएको थियो । इञ्जिनियरिङ डिजाइन र उपकरण खरिदमा समय लाग्दा सुरुआती चरणमा प्रगति न्यून रहँदा ठेक्काको म्याद दुई पटक थप्नुपरेको आयोजनाले जनाएको छ ।

भारतीय कम्पनी टाटा प्रोजेक्ट्सले पोखरा र भरतपुरमा तार बिछ्याउन करिब ३ अर्बमा ठेक्का लिएको हो, जसअन्तर्गत पोखरामा मात्र रु एक अर्ब ६० करोड खर्च हुने अनुमान छ । डलरको मुल्य बृद्धि हुनु काम ढिला सम्पन्न हुने कारणले गर्दा लागत करिब ८ देखि १० प्रतिशत बढ्न सक्ने सुवेदीले जनाउनु भयो । हाल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वारदेखि पृथ्वीचोकको सेती पुलसम्म मुख्य क्षेत्रमा तार बिछ्याएर घरघरमा विद्युत् वितरण भइसकेको छ । सिर्जनाचोकदेखि सभागृह, जिरो किलोमिटर र लेकसाइडको जरेबर क्षेत्रसम्म काम जारी छ । जिरो किलोमिटरदेखि प्रसाङसम्म करिब ७५ प्रतिशत भूमिगत तार बिछ्याउने काम सम्पन्न भइसकेको आयोजनाले जनाएको छ ।
न्यूरोड क्षेत्रमा भने शहरका अन्य व्यस्त क्षेत्रको काम सकेपछि अन्तिम चरणमा सबै शक्ति केन्द्रित गरी काम गर्ने तयारी गरिएको छ । “व्यस्त बजार र धेरै घरधुरी भएकाले सेवा अवरुद्ध नहुने गरी काम अघि बढाउने योजना छ,” इञ्जिनियर सुवेदीले बताउनु भयो । आयोजना अन्तर्गत विमानस्थल प्रवेश मार्गदेखि कुँडहरचोक, अमरसिंहचोक, पृथ्वीचोक हुँदै जिरो किलोमिटरसम्मको मुख्य राजमार्गसँगै सिर्जनाचोक, राष्ट्र बैंकचोक, लेकसाइड, सभागृहचोक, न्यूरोड क्षेत्रमा मुख्य र सहायक सडकसम्मै तार भूमिगत गरिनेछ । विद्युत् लाइनसँगै टेलिफोन, केबल र इन्टरनेटका तारका लागि अप्टिकल फाइबर पनि बिछ्याइँदैछ ।
पोखरालाई अव्यवस्थित तार र पोलमुक्त बनाउँदै सहरी सौन्दर्य बढाउने उद्देश्यले आयोजना सञ्चालन गरिएको हो । ‘होरिजेन्टल डाइरेक्सनल ड्रिलिङ’ प्रविधि प्रयोग गरी सडकमा न्यून क्षति हुने गरी तार जमिनमुनि बिछ्याइँदैछ । भूमिगत प्रणाली बढी क्षमतायुक्त र भरपर्दो हुने भएकाले बढ्दो विद्युत् माग धान्न उपयुक्त हुने प्राधिकरणको दाबी छ । इन्टरनेट सेवा प्रदायक संस्थाहरूको सहकार्यमा पोखराको सौन्दर्य कुरूप बनाउने पोलभरि तारका गुजुल्टा हटाउने अभियान अन्तर्गत पहिलो चरणमा करिब २३ किलोमिटर क्षेत्रमा भूमिगत तार बिछ्याइँदैछ । यसमध्ये हालसम्म ६५ प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । चितवनमा दुई बर्ष अघि देखि उक्त अभियान संचालन भएको थियो ।




