
दीननाथ बराल,
पोखरा, १७ पुस
युनाइटेड क्लब पोखराको आयोजनामा यही पुस २९ गतेदेखि सुरु हुने १४औं संस्करणको पोखरा महोत्सवको अन्तिम तयारी तिव्र पारिएको छ । पोखराको अमरसिंह मा.वि.को विशाल खेल मैदानमा माघ ११ गतेसम्म संचालन हुने महोत्सवको अन्तिम तयारी तिव्र पारिएको क्लवले पोखराक्लिकलाई जनाएको छ ।
महोत्सवमा कृषि, उद्योग, हस्तकला, सेवा, अटो लगायतका क्षेत्र समेटेर २ सय ५० स्टल रहने भएको क्लबका अध्यक्ष लोकबहादुर थापाले बताउनु भयो । महोत्सवमा पर्यटकीय स्थलको बारेमा जानकारी दिने संघ संस्थाहरुलाई निःशुल्क स्टल उपलब्ध गराइने भएको उहाँले जनाउनु भयो । क्लबले महोत्सवकै आम्दानीबाट पोखरा र आसपासका २० सामुदायिक विद्यालयमा छात्रवृत्ति अक्षयकोष स्थापना तथा शैक्षिक सामग्री वितरण गर्दै आएको छ । स्वास्थ्य अन्तर्गत ग्रामीण क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने, खेलकुद प्रतियोगितामा प्रायोजन गर्ने तथा पचभैया क्षेत्रमा खुला चिडियाखाना निर्माणका लागि पहल अघि बढाइरहेको जानकारी पनि दिइएको छ ।
महोत्सवले देशको कला, संस्कृति, भेषभूषा संरक्षणसहित शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्य लिएको छ । आन्तरिक–बाह्य बजारमा उत्पादित वस्तुको बजारीकरण, नव प्रतिभा परिचय, रोजगार सिर्जना र क्षेत्रीय विकासमा मद्दत गर्ने अपेक्षा आयोजकले राखेको छ । महोत्सवबाट १ करोड ५१ लाख ७५ हजार रुपैयाँ आम्दानी र १ करोड २३ लाख ६० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । मनोरञ्जनतर्फ यस वर्षको मुख्य आकर्षण लाईभ कन्सर्ट रहनेछ, जसमा पूर्ण राई, डी मर्चा, लेकाली, जेम्सी, सबिन राई, भिटेन, लाहुरे, टुकी लगायतका कलाकारको प्रस्तुती हुने भएको छ । त्यस्तै बाल उद्यान, विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, छेलो, झाँकी तथा विज्ञान प्रदर्शनीसहित विभिन्न सांस्कृतिक कार्यक्रम महोत्सवमा समेटिनेछन् ।
१३ दिन सञ्चालन हुने महोत्सवमा फरक क्षमता भएका व्यक्तिहरू, बृद्धबृद्धा, एकल महिला, विदेशी पर्यटक तथा ५ वर्ष मुनिका बालबालिकालाई निःशुल्क प्रवेश गराइने प्रचार–प्रसार उपसमितिका संयोजक दिनेश सुनारले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा अध्यक्ष थापा, उपाध्यक्ष गणेश तिमिल्सिना, पूर्व अध्यक्ष राजु श्रेष्ठ र अमरसिंह मा.वि. व्यवस्थापन समितिका अध्यक्ष कृष्ण कोइरालाले महोत्सवबारे आ–आफ्नो धारणा राख्दै सबैलाई सहभागितामूलक साथ र सहयोगको अपिल गर्नुभयो ।




