
दीननाथ बराल,
पोखरा १४, पुस,
अंग्रेजी नयाँ वर्षको स्वागतार्थ पोखरा सडक महोत्सवमा पर्यटकको चहलपहल बढेको छ । आइतबारदेखि सुरु भएको २७ औं संस्करणको सडक महोत्सवको दोस्रो दिन सोमबार पनि पोखराको लेकसाइड क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरूको भीडभाड बढ्दो व्यवसायीले बताउनु भयो । अघिल्ला संस्करणहरूको तुलनामा एक–दुई दिन अघिदेखिनै यस बर्ष भने पर्यटक आगमन बढ्न थालेको रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले बताउनु भयो ।
जेनजी आन्दोलनपछि केही सुस्तिएको पर्यटन बजार महोत्सवको अवसरमा पुनः उत्साहजनक बनेको उहाँले बताउनु भयो । क्रिसमस डे (पुस १०) बाट सुरु भएको चहलपहल मंगलबार तमु ल्होछार र आगामी नयाँ वर्षको माहोलसँगै लेकसाइड समेत यति वेला झकिझकाउ पारिएकोले पर्यटकहरु निकै उत्साहित भएको उहाँले जनाउनु भयो । पर्यटक भीडलाई व्यवस्थित गर्न करिब साढे ३ किलोमिटर क्षेत्र नो–भेइकल जोन घोषणा गरिएको छ । “महोत्सवको बेला शान्ति–सुरक्षा र ट्राफिक व्यवस्थापन कडाइ गरिएको छ,” अध्यक्ष पौडेलले बताउनु भयो ।
लेकसाइडमा विभिन्न जनजातिका भेषभूषा झल्कने सांस्कृतिक प्रस्तुतिहरुसँगै सिन्धुलीको नौमती बाजा, नवलपुरको थारु नृत्य, तथा कोमागाने पार्कमा पप कन्सर्ट हुँदै आएका छन्। महोत्सव संयोजक बसन्त गौतमका अनुसार करिब ३५ वटा स्टलमार्फत कृषि उपज, स्थानीय उत्पादन, तथा हस्तकला सामग्री प्रदर्शनी र बिक्रीमा राखिएका छन्। महोत्सव प्रवद्र्धकका रूपमा नेपाल पर्यटन वोर्ड, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार, पोखरा भ्रमण वर्ष २०२५, पोखरा पर्यटन परिषद् तथा सिद्धार्थ बैंक लिमिटेड बैंकिङ पार्टनरका रूपमा रहेका छन्। त्यस्तै म पानी, गृहलक्ष्मी ग्याँस, अन्नपूर्ण केबल कार, रेड बुल सहयोगी संस्था रहेको रेवानका महासचिव बिरेन्द्र शेरचनले बताउनु भयो ।
कोमागाने पार्कमा हुने सांगीतिक उत्सवमा पोखरेली चर्चित व्यन्डहरूको प्रस्तुति जारी छ । अल टेक नेपालका सञ्चालक शेरबहादुर गुरुङका अनुसार ९० को दशकबाट चर्चित डि–मर्चा सहित उज्जन शाक्य, लेकाली, देउराली व्यन्ड विशेष आकर्षणका रूपमा प्रस्तुत हुँदैछन्। न्यू इयर इभ स्पेसलमा कार्टुन क्रुजकी भाइरल नृत्याङ्गना आस्मा विश्वकर्मा र सरोज अधिकारीले ‘छिकिरी–छिकिरी’ लगायत गीतमा प्रस्तुति दिने कार्यक्रम तय भएको छ ।
होटल अकुपेन्सी ७५ प्रतिशत,
यसैबिच, पर्यटन राजधानी पोखरामा होटल अकुपेन्सि ७५ प्रतिशत जसो पुगेको छ । पोखरामा हाल पर्यटकीय स्तरका होटलमा औसत अकुपेन्सी ७५ प्रतिशत पुगेको होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनु भयो । “बाह्य र आन्तरिक पर्यटक बढेपछि मुख्य सडक क्षेत्रका होटलहरूमा ८०–९० प्रतिशत सम्म बुकिङ छ,” सुवेदीले भन्नुभयो भित्री बस्तीका केही होटलमा ४०–६० प्रतिशत अकुपेन्सी रहेको छ ।
संघमा करिब ४ सय होटल दर्ता भए पनि यतिनै संख्यामा दर्ताविहीन होटल समेत सञ्चालनमा रहेको भन्दै सुवेदीले मंगलबार र बुधबार होटल अकुपेन्सी ९० प्रतिशत पुग्न सक्ने जनाउनु भयो । पोखरामा हाल एकै रातमा करिब ४० हजार पर्यटकलाई राख्न सक्ने क्षमता रहेको संघले जनाएको छ । जेनजी आन्दोलनपछि भारतीय पर्यटकको आगमन फेरी उत्साहजनक बनेको जनाउँदै सुवेदीले भने, भन्नुभयो “अब चिनीया पर्यटक आकर्षणमा जोड दिनुपर्छ।” पोखरा भ्रमण वर्ष २०२५ अन्तर्गत वर्ष भरी होटलले प्रकाशित मूल्यमा २० प्रतिशत छुट दिँदै आएको संघले जनाएको छ ।
यसैबिच, २७ औं संस्करणको पोखरा सडक महोत्सव अन्तर्गत दोश्रो दिन सोमबार वेटर÷वेट्रेस दौड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा वेटरतर्फ बेञ्जन रेष्टुरेण्टका प्रशान्त रोक्का प्रथम, चिल्ली बारका अमर परियार द्धितिय तथा बेञ्जनकै इमोन थापाले तृतीय स्थान हाँसिल गरे । वेट्रेसतर्फ डुंगा रेष्टुरेण्टका मोनिका नेपाली प्रथम, मोबु रेष्टुरेण्टका रिकिता पौडेल द्धितिय तथा बेलिफ रेष्टुरेण्टका अश्मि घर्ती मगर तृतीय भइन् । उनीहरुले नगद क्रमश ः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ सहित प्रमाण पत्र पुरस्कार प्राप्त गरे । हल्लनेचोकदेखि खहरेचोकसम्म भएको दौड प्रतियोगितामा वेटरतर्फ २० जना वेट्रेसतर्फ ९ जनाले सहभागिता जनाएका थिए । उनीहरुलाई रेवान पोखराका अध्यक्ष विश्वराज पौडेल, महोत्सव संयोजक बसन्त गौतम, खेलकुद कार्यक्रम संयोजक सुमन भट्टराई लगायतले पुरस्कृत गरे ।
लेकसाइडको साढे तीन किलोमिटर क्षेत्रफलमा जारी महोत्सव अन्र्तगत सोमबार सडक बहस कार्यक्रम पनि सम्पन्न भएको छ । अम्मटस्थित सडकमै आयोजित बहसमा नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणीराज लामिछाने, पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समिति संयोजक गोपीबहादुर भट्टराई र अग्रज पर्यटन व्यवसायी टिकाराम सापकोटा वक्ताका रुपमा प्रस्तुत हुनुभएको थियो भने सञ्चारकर्मी जमुना वर्षाले मोडरेट गर्नुभएको थियो । रेवान पोखराका महासचिव बीरेन्द्र शेरचनले कार्यक्रम सञ्चालन गरेका थिए । महोत्सवको मुख्य प्रायोजकमा गोर्खा व्रुअरी प्रालि र सह प्रायोजकमा यति डिष्ट्रिलरी, बोटलर्स नेपाल (तराई) र दि नेपाल डिष्टिलरी प्रालि रहेका छन् । प्रवद्र्धकमा नेपाल पर्यटन वोर्ड, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार, पोखरा भ्रमण वर्ष २०२५ र पोखरा पर्यटन परिषद् रहेका छन् । त्यस्तै सिद्धार्थ बैंक लिमिटेड बैंकिङ पार्टनरमा रहेको छ । म पानी, गृहलक्ष्मी ग्याँस, अन्नपूर्ण केवल कार, रेड बुल सहयोगी संस्था रहेको छ । महोत्सवमा मंगलबार बिहान अम्मट घाटमा डुंगा दौड प्रतियोगित हुँदैछ ।




