
दिननाथ बराल,
पोखरा ६, मंसिर
पोखरा महानगरपालिका वडा नम्बर २१ कृस्ती दोपरे हर्राबोट क्षेत्रमा आउदो विहिबार सुन्तला महोत्सव हुने भएको छ । पोखरा महानगरपालिका वडा नम्बर २१ को आयोजनामा पोखरामा यही पुष १० गते (बिहीबार) हुने सुन्तला महोत्सवको तयारी तिव्र पारिएको पोखरा २१ का वडाध्यक्ष दीपक प्रसाद सुवेदीले बताउनु भयो ।
वडास्तरीय कृषि सञ्जालको समन्वय र पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाको संयोजनमा हुन लागेको उक्त महोत्सवमा विभिन्न प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम समेत आयोजना हुने भएको छ । महोत्सवको उद्घाटन पूर्व अवसरमा झ्याँकी सहितको ¥याली हुने भएको छ भने त्यसैगरी सुन्तला ग्रेडिङ गर्ने सुन्तला खाने प्रतियोगिता र बढी सुन्ताला उत्पादन गर्ने कृषकलाई सम्मान गरिने भएको अध्यक्ष सुवेदीले पोखराक्लिकलाई जनाउनु भयो ।
पोखराको सुन्तलाको पकेट क्षेत्र मानिएको पोखरा २१ कृषि क्षेत्रको सुन्तलाको प्रवद्र्धन गर्न पहिलो पटक सुन्तला महोत्सव हुने तयारी भएको पोखरा महानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरियाले बताउनु भयो । पोखरामा उत्पादन हुने सुन्तला मध्ये करिब ५०% जसो सुन्तला उत्पादन हुने पकड क्षेत्र कृषि भएको उहाँले दाबी गर्नुभयो । सुन्तला महोत्सवमा सुन्तलाको पहाड बनाउने साथै स्थानीय स्तरमा उत्पादन भएका फलफुल तरकारी महको समेत बिक्री वितरण र प्रदर्शन हुने भएको छ । सुन्तलाको पहाड बनाई ग्रेडिङ गर्ने र ग्रेडिङ गरेका सुन्तला प्रति केजी १०० रुपैयाँमा बिक्री हुने तयारी गरिएको समेत कडरियाले जनाउनुभयो । पोखरा २१ कृषि क्षेत्रमा करिब १ हजार ५ सय देखि २ हजार टन सुन्तला उत्पादन हुने गरेको उहाँले उल्लेख गर्नुभयो। पछिल्लो केही बर्ष देखि सुन्तलाको वोटमा सिट्रस ग्रिनिङ रोगका कारण धेरै क्षेत्रमा सुन्तला मासिदै गएको हो ।





