‘गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनमा मिडियाको भूमिका’ विषयक अन्तरक्रिया(भिडियो सहित)

-


     पोखरा क्लिक     
     पौष ५ गते २०८२ मा प्रकाशित


पोखरा,

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको आयोजनामा ‘गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनमा मिडियाको भूमिका’ विषयक अन्तरक्रिया सम्पन्न भएको छ । अन्तरक्रियाका वक्ताले गण्डकी प्रदेशको पर्यटकीय क्षेत्रको प्रवद्र्धन तथा नयाँ गन्तव्य पहिचानमा मिडियाको भूमिका महत्वपूर्ण हुने विषयमा जोड दिए ।

पर्यटनसम्बद्ध संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको कार्यक्रममा पर्यटन व्यवसायीले समग्र गण्डकीको देशविदेशमा प्रचारप्रसारमा महासंघसँग मिलेर अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरे । महासंघअन्तर्गत गण्डकीका जिल्ला अध्यक्ष, सचिव र कोषाध्यक्षहरुको दुईदिने भेला अवसरमा शनिबार पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) पोखरासमेतको सहकार्यमा उक्त कार्यक्रम भएको हो । कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा पर्यटकीय राजधानी घोषणा भइसकेको र पोखरासहित समग्र गण्डकीकै पर्यटन प्रवद्र्धनमा मिडियाको भूमिका महत्वपूर्ण भएको उल्लेख गरे । हाल पोखरा भ्रमण वर्ष–२०२५ पनि चलिरहेको जनाउँदै महासंघसँग आगामी दिनमा पनि सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए ।

पोखरा पर्यटन परिषद्का प्रथम उपाध्यक्ष हरि भुजेलले ओझेलमा परेका तथा नयाँ नयाँ पर्यटकीय गन्तव्य पहिचानमा ‘मिडिया आवाजविहीनको आवाज’ मिडियाबाट सघाउ पुगेको बताए । सोसल मिडिया, भ्लगहरु, टिकटकसमेत पछिल्लो समय पर्यटन प्रवद्र्धनको भागीदार बन्दै गएको उनको भनाइ थियो । गण्डकीका सबै जिल्लाका पत्रकारसँग अन्तरक्र्रियाको अवसर जुटाइदिएकोमा महासंघप्रति खुसी व्यक्त गर्दै भुजेलले भने, ‘पर्यटनको राजधानी पोखरामा यसप्रकारको पहिलो कार्यक्रम हो, तर अन्तिम नहोस् ।’ विश्वमा पर्यटन चलायमान हुनुमा ७५ प्रतिशत हात मिडियाको रहेको पनि तथ्य प्रस्तुत गरे । उनले विभिन्न जिल्लाका ऐतिहासिक, धार्मिक, भौगोलिक महत्वका विषयवस्तुबारे जानकारी मिडियाले दिनेमा अपेक्षा गर्दै भविष्य पनि हातेमालो गरेर अघि बढ्न तयार रहेको बताए ।

रेवान पोखरा महासचिव वीरेन्द्र शेरचनले अर्को साता हुने २७ औं पोखरा सडक महोत्सव तयारीमा आफूहरु जुटेको जानकारी दिँदै यसबाट जाडोयाममा सुस्ताउने पोखराको पर्यटनमा सडक महोत्सवले प्रवद्र्धन गरेको बताए । यही पुस १३ देखि १७ गतेसम्म हुने सडक महोत्सव सफल पार्न मिडियाबाट विगतमा झैं व्यापक प्रचारप्रसारको अपेक्षा गरे ।टान गण्डकी अध्यक्ष कृष्णप्रसाद आचार्यले टान ११ वटै जिल्लामा फैलिएको र जहाँ गए पनि पर्यटन प्रवद्र्धनमा मिडियाबाट सहयोग हुने गरेको बताए । संरक्षित क्षेत्रमा जाँदा ध्यान दिनुपर्ने उल्लेख गर्दै उनले हिमालको ५ किमी वरिपरि बाटो तथा हाइड्रो जान नहुने बताए । ट्रेकिङका क्रममा यदि कुनै मानवीय क्षति हुन गए त्यसको बदनाम नेपालकै हुने भएकाले ध्यान दिनुपर्ने उनको सुझाव थियो ।

नाट्टा महासचिव संगीता पौडेलले पर्यटनमा ठूलो लगानी गरेर संरचना खोलिएको, तर त्यसको प्रतिफल अझै पाउन नसकिएको गुनासो गरिन् । मिडियाले पर्यटन प्रवद्र्धनमा कलम चलाएमा गण्डकी प्रदेशकै पर्यटनमा टेवा पुग्ने उनले बताइन् ।प्रेस चौतारी गण्डकी अध्यक्ष इन्द्रप्रसाद पौडेलले पर्यटन क्षेत्र संवेदनशील भएकाले मिडियाले पनि सत्य, तथ्य र निष्पक्ष रुपमा कलम चलाउनुपर्ने बताए । उनले भने, ‘यदि नकारात्मक सन्देश प्रवाह भए क्षणभरमै पर्यटनमा कैयौ बुकिङ रद्ध हुने अवस्था हुन्छ । तसर्थ मिडियाकर्मीले पनि ध्यान दिनपर्छ ।’ नेपाल पत्रकार महासंघ अध्यक्ष निर्मला शर्मा, महासचिव रामप्रसाद दाहाललगायतले पर्यटनको प्रवद्र्धनमा पत्रकार महासंघ केन्द्र पनि सहकार्य गर्न सधैँ तयार रहेको बताए ।

सो अवसरमा पत्रकार महासंघ केन्द्रीय सदस्य केवी राना, पत्रकार महासंघ म्याग्दी अध्यक्ष हरिकृष्ण गौतम, तनहुँ अध्यक्ष डिपी अधिकारी, पत्रकार महासंघ गण्डकीका निवर्तमान सचिव यदुनाथ बञ्जारा, प्रेस सेन्टर कास्की अध्यक्ष दीननाथ बराल लगायतले विभिन्न जिज्ञासा राखेका थिए । पत्रकार महासंघ गण्डकी प्रदेश समिति अध्यक्ष रमेश पौडेलले पोखरालाई केन्द्रमा राखेर गण्डकी प्रदेशभर विभिन्न पर्यटकीय गतिविधि सञ्चालन एवं प्रवद्र्धनमा मिडियाले सरोकारवालासँग सहकार्य गर्न तयार रहेको बताए ।

महासंघ गण्डकी उपाध्यक्ष प्रकाश पौडेलले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको संचालन महासचिव जमुना वर्षा शर्मा र धन्यवाद ज्ञापन महिला उपाध्यक्ष माया अधिकारीले गरिन् ।कार्यक्रममा टेवान अध्यक्ष शोभा पाण्डे, गाउँ पर्यटन प्रवद्र्धन मञ्च अध्यक्ष शोभा सापकोटा, एगा पोखरा अध्यक्ष गोकर्ण लम्साल, नाका अध्यक्ष अनिल केसी लगायत पर्यटनसम्बद्ध विभिन्न संघसंस्थाका प्रतिनिधि, महासंघ जिल्लाका अध्यक्ष, सचिव, कोषाध्यक्ष, एवं पत्रकारलगायतको उपस्थिति थियो ।

पत्रकार महासंघ गण्डकीको ११ वटै जिल्लाका अध्यक्ष, सचिव र कोषाध्यक्षको भेला सम्पन्न, १० बुँदे घोषणपत्र जारी

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश आयोजनामा भएको गण्डकीका ११ वटै जिल्लाका अध्यक्ष, सचिव र कोषाध्यक्षको भेलाले १० बुँदे पोखरा घोषणापत्र जारी गरेको छ । महासंघ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, पत्रकारको हकहित, पेशागत सुरक्षाका लागि निरन्तर संघर्षरत रहने प्रतिबद्धता व्यक्त गरिएको छ । नेपाली पत्रकारिता आज गहिरो आर्थिक संकटमा पुगेको ठहर गर्दै मिडिया हाउसको आम्दानी घट्नु, विज्ञापन बजार असन्तुलित हुनु, डिजिटल प्लेटफर्मको प्रभाव र राज्यको नीतिगत उदासीनताले पत्रकारको जीविकोपार्जन असुरक्षित बनेको जनाइएको छ । भेलाले देशभर तथा विशेषतः गण्डकी प्रदेशका पत्रकारहरूले भोग्दै आएका आर्थिक, पेशागत र संस्थागत समस्याका साथै समसामयिक राष्ट्रिय विषयमा गम्भीर छलफल गरेको छ ।

महासंघ गण्डकी अध्यक्ष रमेश पौडेलद्वारा जारी घोषणापत्रमा भनिएको छ, ‘तीन तहकै सरकारबाट पत्रकारिता क्षेत्रलाई सार्वजनिक सरोकारको रणनीतिक क्षेत्रका रूपमा स्वीकार गर्दै श्रमजीवी पत्रकार ऐन, न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा कोष कार्यान्वयन सुनिश्चित गरिनुपर्दछ । प्रदेश सरकार र स्थानीय तहले पत्रकार कल्याण, विज्ञापन नीति र सञ्चार कार्यविधिलाई व्यावहारिक र सहज बनाउनुका साथै पत्रकार र सञ्चारमाध्यमलाई विकास साझेदारका रूपमा स्वीकार गर्दै सूचना र विज्ञापनमा स्थानीय मिडियालाई प्राथमिकता दिन आग्रह गर्दछांै ।’

नवयुवा पुस्तालाई पत्रकारितामा आकर्षित गर्न र कार्यरत पत्रकारलाई पेशामा टिकाइराख्न सुरक्षित आम्दानी, करियर विकास, तालिम र प्रविधिमा लगानी अपरिहार्य भएको ठहर गरेको छ । मिथ्या तथा भ्रामक सूचनाको बढ्दो जोखिम मध्यनजर गर्दै पत्रकारले तथ्य जाँच, स्रोतको विश्वसनीयता, सन्तुलन र पेशागत आचारसंहिताको कडाइका साथ पालना गरी समग्र पत्रकारिताप्रतिको जनविश्वास अभिवृद्धि गर्नुपर्नेमा जोड दिइएको छ ।

संघ सरकारबाट उपलब्ध गराइने लोककल्याणकारी विज्ञापन र पत्रिका वर्गीकरण प्रणाली अझै व्यावहारिक, पारदर्शी र मिडियामैत्री बनाउन माग गरिएको छ । यसैगरी, विज्ञापन बोर्डले मिडियालाई अलमल पार्नेभन्दा सहज, सहजीकरणमुखी र विश्वासयोग्य बनाउनुपर्ने, गण्डकीभित्रका सञ्चारमाध्यम प्रदेशकै प्रेस रजिस्टारको कार्यालय वा जिल्ला हुलाक कार्यालयमार्फत् दर्ता र नवीकरण हुने प्रबन्ध मिलाउनुपर्ने, प्रदेश सरकारले उपलब्ध गराउने लोककल्याणकारी विज्ञापन रकम अत्यन्त कम र कार्यविधि झन्झटिलो भएकाले तत्काल परिमार्जन गर्न पनि आग्रह गरिएको छ । जेनजी आन्दोलनमा क्षति पुगेका मिडिया हाउस र पत्रकारलाई यथोचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरिएको छ ।

हालको अन्योलपूर्ण अवस्थाको निकास र संविधान रक्षाका लागि यथासमयमा भयरहित निर्वाचन गर्न र गराउन सरकार तथा दलहरूलाई आग्रह गरिएको छ । पोखरा तथा समग्र गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनमा पत्रकारिताको क्षेत्रबाट सक्रिय सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै त्यसका लागि आवश्यक पूर्वाधार र अनुकूल वातावरण निर्माणमा सरकार र सरोकारवाला निकायको ध्यानाकर्षण गराइएको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्माको प्रमुख आतिथ्यमा भएको भेलामा ११ वटै जिल्ला शाखाले एकवर्षे कार्यकालको प्रगति विवरण, चुनौती तथा भावी योजना प्रस्तुत गरेका थिए ।

कार्यक्रममा महासंघ अध्यक्ष शर्मा, वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, महासचिव रामप्रसाद दाहाललगायतले महासंघका गतिविधिबारे जानकारी दिँदै पत्रकारका जिज्ञासाका जवाफ दिएका थिए । उनीहरुले महासंघका सदस्यको पेसागत हकहित र सुरक्षामा महासंघ सधैँ साथमा रहेको बताए । शुक्रबार उद्घाटन समारोहमा गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार बिमला भण्डारीले पत्रकारको पेसामाथि संकट गहिरिँदै गएको, परम्परागत मिडियाले डिजिटल युगको चुनौती सामना गर्न नसकिरहेको अवस्थामा प्रेस रजिष्ट्रार कार्यालय नियामक निकाय मात्र नभई, पत्रकारको क्षमता र वृत्ति विकासमा पनि सहयोग गर्न तयार रहेको बताइन् ।

भेलामा महासंघका केन्द्रीय सदस्यहरु छविलाल तिवारी, केवी राना, कृष्ण केसी, महासंघ गण्डकी सल्लाहकार गोविन्द सुवेदी, नारायण शर्मा, महासंघ गण्डकी महिला उपाध्यक्ष माया अधिकारी लगायतले बोलेका थिए । महासंघ गण्डकी अध्यक्ष रमेश पौडेलले महासंघका विधानतः व्यवस्थाबमोजिम गण्डकीले भेला आयोजना गरेको प्रस्ट पारे । उनको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष प्रकाश पौडेल, सञ्चालन महासचिव जमुना वर्षा शर्मा र धन्यवाद ज्ञापन भेला आयोजक समिति संयोजक एवं महासंघ गण्डकी सचिव भविश्वर पाण्डेले गरे ।

यसैबीच, महासंघले पत्रकारलाई ‘क्षमता अभिवृद्धि तालिम’ पनि दिएको छ । तालिमको सहजीकरण गर्दै पत्रकार भरत कोइरालाले ‘पत्रकारिताः चुनौती र नवीनता’ विषयमा कार्यपत्र प्रस्तुत गरे । पछिल्लो समय छापा तथा एफएम रेडियो बन्द हुुने क्रम नेपालमात्र नभई विश्वभर तीव्र रहेको, पत्रकारको पेसा संकटमा परेको र न्यू मिडियाले अवसर पनि लिएर आउने गरेको बताए । संसदीय पत्रकार मञ्च गण्डकीका निवर्तमान अध्यक्ष समेत रहेका कोइरालाले पत्रकार महासंघको विधानमा उल्लेखित शाखा अध्यक्ष, सचिव र कोषाध्यक्षको काम, कर्तव्य र अधिकारबारे जानकारी दिए ।