२७ औं संस्करणको पोखरा सडक महोत्सव पुष १३ देखि हुने, यस बर्ष थप परिस्कृत गछौंः अध्यक्ष पौडेल

-


     पोखरा क्लिक     
     मंसिर १८ गते २०८२ मा प्रकाशित


मंसिर १८,पोखरा,

पर्यटकिय राजधानी पोखराको लेकसाइडमा अंग्रेजी नयाँ वर्षको अवसरमा २७ औं संस्करणको पोखरा सडक महोत्सव हुने भएको छ । महोत्सवको तयारी तिब्ररुपमा अघि बढेको आयोजक रेवान पोखराले बिहीबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको छ ।

पुष १३ गतेदेखि १७ गतेसम्म लेकसाइडको साढे तीन किलोमिटर क्षेत्रफलमा महोत्सवको आयोजना गरिने सो अवसरमा जानकारी दिइयो । ‘सडकमै खाउँ, सडकमै नाचौं, सडकमै रमाउँ’ भन्ने नाराका साथ आयोजना हुँदै आएको महोत्सवले पोखरालाई आन्तरिक तथा बाह्य पर्यटकलाई अंग्रेजी नया वर्षको गन्तव्य स्थलका रुपमा विकास गरेको रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले पत्रकार सम्मेलनमा बताए । कला संस्कृति प्रवद्र्दन गर्न, स्थानीय स्तरमा उत्पादित सामग्रीको बजारीकरणमा सघाउन, पोखरा र लेकसाईडको प्रचारप्रसार, व्यापार बढाउन, पोखराको ब्राण्डिङ गर्न महोत्सव आयोजना गर्न लागिएको कार्यक्रम संयोजक तथा रेवान पोखराका उपाध्यक्ष वसन्त गौतमले जानकारी दिए ।

गौतमका अनुसार महोत्सवमा मुख्य आर्कषणको रुपमा विभिन्न जातजातीका लोपोन्मुख साँस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रदर्शन, झाँकी प्रदर्शन प्रतियोगिता, राष्ट्रिय तथा अन्तराष्ट्रिय खानाको प्रदर्शन, लाइभ कन्सर्ट, खेलकुद तर्फ डुंगा दौड प्रतियोगिता, वेटर रेस, डोरी तान्ने प्रतियोगिता, मःम तथा ससेज खाने लगायत अन्य थप प्रतियोगिताहरु समावेस गरिने छ । सचेतनामुलक सडक नाटक, सेल्फी फोटो बुथलगायत रहनेछन् । त्यस्तै, महोत्सव अवधीभरमा पोखराको पर्यटनको विकास, प्रवद्र्दन, अवसर तथा चुनौतिका विषय केन्द्रीत अन्र्तक्रिया कार्यक्रम पनि हुने संयोजक गौतमले बताए । प्रवद्र्धकमा नेपाल पर्यटन वोर्ड, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार, पोखरा भ्रमण वर्ष २०२५ र पोखरा पर्यटन परिषद् रहेका छन् । त्यस्तै सिद्धार्थ बैंक लिमिटेड बैंकिङ पार्टनरमा रहेको छ । म पानी, गृहलक्ष्मी ग्याँस, अन्नपूर्ण केवल कार, रेड बुल सहयोगी संस्थामा रहेको रेवान पोखराका महासचिव बीरेन्द्र शेरचनले जानकारी दिए ।

महोत्सवमा पोखरा सेरोफेरोको स्थानीय उत्पादित हस्तकला, चित्रकला, मुर्तिकला तथा कृषि, वनस्पती लगायतका कृषि उपजहरुलाई प्राथमिकता साथ प्रदर्शनी गरिने रेवान पोखराका निर्वतमान अध्यक्ष नरेश भट्टराईले जानकारी दिए । महोत्सवको अवसरमा पोखराका विभिन्न साहसिक गतिविधि समेटिएको वृत्तचित्र प्रदर्शन, पर्यटकीय गन्तब्यको प्रवद्र्दन गरिने उनको भनाई छ । होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पोखरा सडक महोत्सवको आयोजना रेवान पोखराले गरेपनि यो महोत्सव सबैको साझा महोत्सव भएको बताए । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले महोत्सव अवधीभर खानामा गुणस्तर कायम गर्दै बस्ने र खाने कुराको मूल्य आकासिने गरेको गुनासो हरेक वर्ष आउने गरेकाले यस वर्ष विशेष निगरानी राख्न सुझाव दिए । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले महोत्सवलाई सफल बनाउन पोखरेली पत्रकारको सहयोग रहने प्रतिबद्दता जनाए ।