बुधबारदेखि पोखराको नयाँबजारमा व्यापार मेला तथा क्यान इन्फोटेक हुने(भिडियो सहित)

-


     पोखरा क्लिक     
     मंसिर १५ गते २०८२ मा प्रकाशित


पोखरा १५, मंसिर,

पोखरामा यही मंसिर १७ गतेबाट पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा आयोजना हुने ‘नेपाल मणिपाल अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक २०८२,पोखरा’को तयारी पूरा भएको छ । आयोजक पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले सोमबार मेलास्थलमा आयोजित पत्रकार सम्मेलनमा मेलाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन् ।

उनका अनुसार मेलाको बुधबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गर्ने छन् । अध्यक्ष कार्कीले जेन–जी आन्दोलनको क्रममा निजी क्षेत्रमाथि भएको आक्रमणपछि खल्बलिएको व्यावसायिक वातावरण पुनः पुरानै अवस्थामा फर्काउन, उद्योगी÷व्यवसायीको मनोवल बढाउन तथा लगानीका नयाँ सम्भावनाको खोजी गर्र्नु मेलाको उद्देश्य रहेको छ । उनले मेला आयोजना स्थल अर्थात् प्रदर्शनी केन्द्रमा खुला ठाउँ कम भए पनि संघको उत्साहमा कुनै कमी नभएको बताउँदै मेला ‘लगानीको सम्वद्र्धन र उद्योग व्यवसायको प्रवद्र्धन’ भन्ने मान्यतामै टिकेर अगाडि बढ्ने बताए । ‘मंसिर १७ देखि २१ गतेसम्म आयोजना हुने मेलामा सूचना प्रविधिका नयाँ उत्पादनदेखि घरायसी सामान, स्वदेशी हस्तकला र महिला उद्यमीका उत्पादन,अटो र औद्योगिक उत्पादनहरु रहने छन्,’अध्यक्ष कार्कीले भने,‘उद्यमशीलता र व्यावसायिक वातावरण निर्माणको लागि नीतिगत पैरवी गर्ने गरी हामीले मेलास्थलमै कृषि,पर्यटन,सरकारले अगाडि ल्याएका आर्थिक नीतिबारे बहसमूलक कार्यक्रम पनि संचालन गर्दैछौँ ।’

२०४२ सालदेखिको मेला आयोजनाको परम्परालाई निरन्तरता दिने क्रममा योपटक हामीसँग पोखरामै रहेको नेपाल मणिपाल अस्पताल सहयोगीको रुपमा जोडिएको तथ्य पेश गर्दै अध्यक्ष कार्कीले पोखरालाई शिक्षा,स्वास्थ्य,पर्यटन र कृषिको सहरको रुपमा विकास गर्नुपर्छ भन्ने हाम्रो मान्यता छ र पोखरा स्वास्थ्य पर्यटनको केन्द्र अनि स्वास्थ्य लाभ गर्न चाहनेको गन्तव्य बन्न सक्छ भन्ने प्रमाणित भएको पनि जिकिर गरे । संघका महासचिव शोभा गौतमका अनुसार कम्प्यूटर एसोसियसन नेपाल महासंघ ९क्यान० कास्की मेलाको सह–आयोजक हो । नेपाल उद्योग वाणिज्य महासंघ र महासंघको गण्डकी प्रदेश संरक्षक रहेको मेलामा पोखरा महानगरपालिका मुख्य प्रवद्र्धक रहेको छ भने गण्डकी प्रदेश सरकार र नेपाल पर्यटन बोर्ड प्रवद्र्धकको भूमिकामा छन् । ग्लोबल आइएमई बैंकले मेलामा सह प्रायोजकको भूमिका निर्वाह गरेको छ ।

टुवर्ग वियर,सोल्टी पानी,पोखरा इन्टरनेट,कुमारी गोल्ड शूद्ध चक्की आँटा,बाग्मती प्लाष्टिक,युनाइटेड अजोड इन्स्योरेन्स,मुक्तिनाथ विकास बैंक,मुक्तिनाथ विकास कृषि कम्पनी,गरिमा विकास बैंक,माछापुच्छे« बैंक,घरायसी विद्युतीय सामग्री बेटर,मंगलम् पाइप,गजवको पीरो चाउचाउ,नेपाल टेलिकम,रेडबुल,डाबर नेपाल,फिस्टेल ड्रिम पार्क,ग्रीन डेभलपमेण्ट बैंक,यूएनभी, माउण्ट कैलाश रिसोर्ट, होटल दीपसागरले पनि मेलालाई विभिन्न विधामा सघाएका छन् । पत्रकार सम्मेलनमा बोल्दै पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा मानार्थ सदस्य एवं नेपाल मणिपाल अस्पतालका लियाजन अफिसर कृष्णमोहन श्रेष्ठले नेपालकै पुरानो संस्थागत मेलासँग मणिपालको सहकार्यले पोखरालाई स्वास्थ्यको केन्द्र बनाउन विशेष योगदान दिने आशा व्यक्त गरे ।

क्यान महासंघ कास्कीका अध्यक्ष पुरुषोत्तम कुँवरले मेलामार्फत् नयाँ युगको आवश्यकता संवोधन गर्ने प्रयत्न गर्ने बताए । उनले मेलामा सूचना प्रविधि क्षेत्रमा पछिल्लो समय बजारमा आएका उत्पादनहरु प्रदर्शनीमा राखिने जानकारी पनि दिए । पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमले यस क्षेत्रको समग्र पर्यटन प्रवद्र्धन,औद्योगिक उत्पादन र उपभोक्ताबीच प्रत्यक्ष भेटघाट गराउने महान उत्सव भएको बताउँदै मेलाको अवसरमा यस क्षेत्रमा मौलिक संंस्कृति प्रदर्शन गर्ने जानकारी दिइन् ।