
पोखरा, असोज १८,
निरन्तर वर्षाको पूर्वानुमानसँगै कास्की जिल्लामा पनि तीन दिनका लागि लामो दूरीका सवारीसाधन आवतजावतमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय, कास्कीले शनिबार सूचना जारी गर्दै असोज १८ देखि २० गतेसम्म लामो दूरीका साथै काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी सञ्चालन रोकिएको जानकारी दिएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्सालका अनुसार जल तथा मौसम विज्ञान विभागको प्रक्षेपणअनुसार गण्डकी प्रदेशसहित देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको र त्यसअनुसार बाढी, पहिरो, डुबानजस्ता विपद् जोखिम न्यूनिकरणका लागि यो निर्णय गरिएको हो। “जनताको ज्यान र सुरक्षालाई प्राथमिकतामा राख्दै असोज १८ देखि २० गतेसम्म कास्की हुँदै वाग्मती, लुम्बिनी र मधेश प्रदेशतर्फका लामो दूरीका सवारी सञ्चालनमा पूर्ण रोक लगाइएको छ,” लम्सालले भने।
प्रशासनले स्याङ्जा, बाग्लुङ, पर्वत र म्याग्दी जिल्लाबाट कास्की हुँदै सञ्चालन हुने लामो दूरीका सवारीसाधन पनि रोकिने जानकारी दिएको छ । यातायात व्यवसायीलाई यस अवधिमा सवारी सञ्चालन नगर्न अनुरोध गरिएको छ । यसबीच, मौसमी प्रणालीका कारण उच्च हिमाली क्षेत्रहरूमा हिमपातको सम्भावना रहेको भन्दै अन्नपूर्ण, मर्दी लगायतका पदयात्रा क्षेत्रमा विशेष सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ । प्रशासनले पोखरा जोड्ने मुख्य राजमार्ग र जोखिमयुक्त सडकखण्डहरूमा डोजर, एक्साभेटर, लोडरजस्ता उपकरण तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। त्यस्तै, सोमबारसम्म राजमार्ग तथा ग्रामीण सडकमा संयमपूर्वक सवारी सञ्चालन गर्न, क्षमताभन्दा बढी यात्रु नचढाउन र अनावश्यक आवतजावत नगर्न सबैलाई अनुरोध गरिएको छ।
पोखरा–घान्द्रुक, लुम्ले–लान्द्रुक, काहुँखोला–सिक्लेसजस्ता मार्गमा हिजोदेखि दिउँसो ४ बजेसम्म सवारी छुट्ने र फर्किने सवारी शनिबार बिहान ५ बजेपछि मात्र छुट्ने व्यवस्था गरिएको प्रशासनले जनाएको छ। प्रशासनले नागरिकलाई अत्यावश्यक कामबाहेक घरमै सुरक्षित बस्न र सम्भावित विपद् जोखिमका बेला सचेत रहन अपिल गरेको छ।




