
सहारा क्लब पोखराले यस वर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कार पत्रकार केशव पाठकलाई प्रदान गरेको छ। क्लबको २७ औं साधारणसभा र १४ औं अधिवेशनको अवसरमा शुक्रबार आयोजित समारोहमा प्रमुख अतिथि तथा हिमश्री फुड्स प्रालिका प्रबन्ध निर्देशक प्रकाश केसीले पाठकलाई २५ हजार ५५५ रुपैयाँ नगदसहित सम्मानपत्र हस्तान्तरण गर्नुभयो।
मानार्थ सदस्य अग्रज पत्रकार नारायण कार्कीको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिको निर्णयअनुसार पाठकलाई पुरस्कार दिइएको हो। यसरी सम्मानित हुने उनी १९ औं पत्रकार बनेका छन्। फुटबलमार्फत सामाजिक सेवामा सक्रिय सहारा क्लबले खेलकुद पत्रकारितामा योगदान पुर्याउने एक जना पत्रकारलाई हरेक वर्ष यो पुरस्कार प्रदान गर्दै आएको छ।
पर्वतका स्थायी निवासी पाठक तीन दशकदेखि पोखराको खेलकुद पत्रकारितामा सक्रिय हुनुहुन्छ। उहाँ प्रदेश खेलकुद परिषद् गण्डकीका निवर्तमान बोर्ड सदस्य, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका संस्थापक अध्यक्ष तथा गण्डकी प्रदेश ह्यान्डबल संघका अध्यक्ष पनि हुनुहुन्छ। यस्तै, क्लबले यस वर्षको सहारा उत्कृष्ट सदस्य सम्मान नेहा गुरुङलाई प्रदान गरेको छ। पोखरा–१५ निवासी गुरुङ १० वर्षअघि जुनियर सदस्यको रूपमा क्लबमा प्रवेश गरेकी थिइन्।
उक्त सभामा क्लबले नयाँ कार्यसमिति पनि निर्वाचित गर्ने जानकारी क्लब अध्यक्ष केशवराज बरालले दिनुभयो। नियमित रूपमा आहा रारा पोखरा गोल्डकप आयोजना गर्दै आएको क्लबले हाल सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमी पनि सञ्चालन गरिरहेको छ। क्लब महासचिव रामजीप्रसाद अधिकारीका अनुसार एकेडेमीमा हाल ३० जना बालकले फुटबल सिकिरहेका छन्।





