
दीननाथ बराल,
पोखरा ७, असोज,
पोखरामा साहसिक खेल हट एयर बेलुन यही असोज ९ गते (सेप्टेम्बर २५ तारिख) बाट पुनः सुचारु हुने भएको छ । बर्षादको मौसममा केही समय स्थगित भएको हट एयर बेलुन पर्यटनको सिजन सुरु भएसंगै आउँदो विहिबार देखि सुरु हुने भएको बलुन नेपालका अध्यक्ष विक्रम बाडेले पोखराक्लिकलाई बताए ।
स्वदेशी तथा विदेशी पर्यटकहरुका लागि अग्रिम बुकिङ खुला गरिएको उनले जनाए । उक्त उडान बिहान ६ बजेदेखि ९ बजेसम्म र बेलुका ४ बजेदेखि साँझ ६ बजेसम्म दुई सिफ्टमा हुनेछ । पामेबाट सुरु भएर इन्द्रपुर लेकसम्मको करिब ४ किलोमिटर दूरीमा आधा घण्टादेखि ४० मिनेटसम्म उडान हुने भएको छ ।
करिब ९ हजार फिट उचाइमा उड्ने बेलुनबाट माछापुच्छ्रे, अन्नपूर्ण सहितका हिमशृङ्खलाको मनोरम दृश्य संगैै फेवाताल, पोखराको बजार, पुम्दिकोट बिशाल महादेवको मुर्ति, विश्व शान्ति स्तुपः, बुद्ध पार्क, सराङकोट, हरियो वन जंगल लगायतको दृश्य ३६० डिग्री मनोरम दृश्य नजिकैबाट अवलोकन गर्न सकिन्छ । प्रति नेपालीका लागि ११ हजार, सार्क मुलुक र चिनियाँ पर्यटकका लागि १२० अमेरिकी डलर र अन्य देशका लागि भने १५० अमेरिकी डलर शुल्क लिने भएको बलुन नेपालले जनाएको छ । यस प्याकेजमा पोखराको लेकसाइडबाट पिकअप, ड्रप, उडान, फोटो र भिडियो सेवा सहितको सुविधा उपलब्ध हुने भएको छ । ३ वटा बेलुन रहेको उक्त कम्पनीमा अनुभवी दुई जना विदेशी बेलुन पाइलटहरु रहेकाछन् ।
यसैबिच, जेनजी आन्दोलनको क्रममा पोखराको लेकसाइडमा रहेको बलुन नेपालको कार्यालयमा तोडफोड तथा चोरी हुँदा करिब ३० लाख मुल्य बराबरको क्षति भएको अध्यक्ष बाडेले बताए । गण्डकी प्रदेशका सांसद देवका पहारीको घर भाडामा उक्त कार्यालय स्थापना गरेका बलुन नेपालको कार्यालयमा आन्दोलनकारीले तोडफोड सहित चोरी गरेको बताइन्छ । यसअघि पोखरामा भएको नेपालकै पहिलो अन्तर्राष्ट्रिय हट एयर बेलुन फेस्टिभलले नेपाललाई विश्व पर्यटन नक्सामा फरक पहिचान दिलाएको थियो, जसको कभरेज सीएनएन, बीबीसीदेखि वल्र्ड स्ट्रिट जर्नीजस्ता अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले गरेका थिए ।





