
दीननाथ बराल,
पोखरा ५, असोज,
कास्कीको ऐतिहासिक धार्मिक तथा पर्यटकीय तिर्थ स्थल विन्ध्यवासिनी मन्दिर परिसरमा यस वर्ष पनि विन्ध्यवासिनी नवदुर्गा महोत्सव–२०८२ आयोजना हुने भएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा घटस्थापनाको दिन भालि(सोमबार) बिहान ९ बजे सुरु उक्त महोत्सव हुने भएको समितिका अध्यक्ष गणेश बहादुर श्रेष्ठले पोखराक्लिकलाई बताउनु भयो ।
उक्त महायज्ञ महानवमीको दिन मध्यान्ह १२ बजेसम्म निरन्तर सञ्चालन हुने उहाँले जनाउनु भयो । गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनको घटनाले तयारीमा अवरोध पु¥याएकाले यसपटक परम्परागत रुपमा हुँदै आएको नवदुर्गा शोभायात्रा भने स्थगित गरिएको समितिले स्पष्ट पारेको छ । श्रीमद्देवी भागवत ज्ञान महायज्ञलाई भने निरन्तरता दिइने समितिका अध्यक्ष श्रेष्ठले जनाउनु भयो । महायज्ञमा वाचकका रुपमा श्रीकृष्णनुरागी पण्डित पशुपति पौडेल रहनु हुनु भएको छ । समितिले सार्वजनिक गरेको कार्यक्रमअनुसार प्रत्येक दिन बिहान ६ बजेदेखि ९ बजेसम्म श्री सतचण्डी महानुष्ठान सञ्चालन हुनेछ भने अपरान्ह २ बजेदेखि ४ बजेसम्म भजन–कीर्तन हुनेछ। विजया दशमी अवधिभर मन्दिरमा बिहान ४ बजेदेखि नित्य पूजा सुरु हुनेछ, दर्शनका लागि मन्दिर बिहान ५ बजेदेखि भक्तजनका लागि खुला गरिनेछ र प्रत्येक साँझ ६ बजे आरती हुनेछ । विन्ध्यवासिनी मन्दिरलाई शक्ति स्थलका रुपमा अज्ञात कालखण्डदेखि नै पूजा आज गरिदै आएको पाइन्छ । मनोकाक्षा पूरा हुने धार्मिक विश्वासका साथ बार्षिक लाखौं पर्यटक मन्दिर आउने गर्नु भएको छ ।
२०५१ सालमा स्थापना गरिएको विन्ध्यवासिनी गुरुकुल विद्याश्रम मार्फत हाल कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई निःशुल्क आवासीय शिक्षा दिइँदै आएको छ । यसलाई कक्षा १२ सम्म विस्तार गर्ने योजनाअनुसार पोखरा महानगरपालिका–१८ स्थित गुठी स्वामित्वको २६ रोपनी जग्गामा नयाँ भवन निर्माण अन्तिम चरणमा पुगेको छ। त्यस्तै, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला र अशक्त व्यक्तिहरूका लागि मन्दिरमा लिफ्ट जडान गरिएको छ र उनीहरूका लागि निःशुल्क उपलब्ध गराइएको छ । २०७२ सालदेखि ज्येष्ठ नागरिक मिलन केन्द्रमार्फत दिवा सेवा सञ्चालन हुँदै आएको छ भने भक्तजन र स्थानीय समुदायलाई लक्षित गरी एम्बुलेन्स सेवा पनि उपलब्ध गराइएको समितिले जनाएको छ। साथै वैदिक सनातन संस्कृतिको अङ्गका रुपमा रहेको प्राकृतिक चिकित्सा पद्धतिका आधारमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले विन्ध्यवासिनी प्राकृतिक चिकित्सालय सञ्चालनमा ल्याइएको छ जसको भौतिक पूर्वाधार निर्माण कार्य जारी छ ।





