पोखराको झण्डा पार्कमा नयाँ झाण्डा फेरियोः पोखराका मेयर आचार्यद्धारा नागरिक अधिकारको प्रत्याभूतिको लागि कर्तव्य पालना गर्न जोड

-


     पोखरा क्लिक     
     असाेज ३ गते २०८२ मा प्रकाशित


पोखरा, असोज ३ ,

जेनजी आन्दोलनको क्रममा पोखराको झण्डा पार्कमा राखिएका विभिन्न देशका झाण्डा च्यात्ने त केही झण्डा नै चोरी भएको अबस्थामा आज संविधान दिवसको अवसरमा नयाँ झण्डा फेरिएको छ । पोखराका मेयर धनराज आचार्यले नेपालको राष्ट्रिय भण्डोतोलन गरी उक्त झाण्डा पार्कमा नयाँ झण्डा पुनः राखिएको वा फेरिएको हो । कार्यक्रममा बोल्दै मेयर आचार्यले संविधानले प्रत्याभूति गरेका नागरिकका अधिकारहरूको पूर्ण संरक्षण र कार्यान्वयनमा पोखरा महानगर पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।

राष्ट्रिय एकतालाई सुदृढ बनाउँदै समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणको आधारशिला संविधान भएकाले यसको पूर्ण कार्यान्वयन अपरिहार्य रहेको उनले बताए। उनका अनुसार अधिकारको प्रयोगसँगै हरेक नागरिकले आफ्नो कर्तव्यबोध गर्नुपर्नेछ । “सामाजिक न्याय र सुरक्षित समाज निर्माणका लागि कानुनको पालकका रूपमा आम नागरिकहरूले पनि आफ्नो दायित्व इमानदारीका साथ पूरा गर्नुपर्छ,” आचार्यले भने, “अधिकार मात्र होइन, कर्तव्य पालनामा पनि हामी उत्तिकै प्रतिबद्ध हुनुपर्छ।”

कार्यक्रममा पोखरा–९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानीले अन्तर्राष्ट्रिय झण्डा पार्कमा रहेका सम्पत्तिहरू सबै पोखरेलीहरूको साझा सम्पत्ति भएकोले यसको संरक्षण गर्नु प्रत्येक नागरिकको कर्तव्य रहेको उल्लेख गरे। उक्त पार्कमा संयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूको झन्डासँगै नेपालको ठूलो राष्ट्रिय झन्डा समेत राखिएको छ, जसले राष्ट्रिय गौरव र एकताको प्रतीकको रूपमा सन्देश दिइरहेको छ।