जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन

-


     पोखरा क्लिक     
     असाेज १ गते २०८२ मा प्रकाशित


पोखरा, १ असोज,

जेनजी आन्दोलनमा दिवंगत भएकाहरूको सम्झनामा आज देश भरका विभिन्न ठाँउमा आज साँझ दीप प्रज्वलन गरिएको छ ।
यसैक्रममा पोखराका पर्यटन, खेलकुद, राजनीतिककर्मी, संचारकर्मी सहित विभिन्न पेशा व्यवसायमा आबद्ध भएका तथा विभिन्न संघ संस्था र सबै उमेर समुहले दीप प्रज्वलन गर्नु भएको हो ।

बेगनास ताल तथा पोखरा ३२ तल्लो गगनगौंडा चोकमा समेत दीप प्रज्वलन गरिएको पत्रकार बासु पौडेलले बताउनु भयो ।
पृथ्वी राजमार्ग अन्तर्गतको उक्त स्थानमा तल्लो गगनगौडा र आसपास क्षेत्रका स्थानीयवासीहरूले सामूहिक रुपमा उपस्थित भई दीप प्रज्वलन गरेको नेपाल रेडक्रस सोसाइटी पोखरा महानगरपालिका वडा नं ३२ का निवर्तमान सभापति किसान परियारले जानकारी दिनुुभयो ।

जेनजी आन्दोलनका क्रममा उठाइएका जायज मागहरूको राज्यबाट उचित सम्बोधन हुनुपर्नेमा उहाँले जोड दिनुुभयो । निस्कृय पारिएको सामाजिक सञ्जाल खुलाउनुुपर्ने, भ्रष्ट्राचारको अन्त्य हुनुपर्ने, जवाफदेहिता र पारदर्शिता कायम गर्नुुपर्ने लगायतका माग राखी यही भदौ २३ र २४ गते देशव्यापी रुपमा भएको जेनजी आन्दोलनका क्रममा ठूलो संख्यामा युवाहरूले ज्यान गुमाउनु भएको थियो ।

आन्दोलनका क्रममा देशभर हालसम्म ७३ जनाले ज्यान गुमाइसकेका छन् भने ठूलो संख्यामा उपचाररत हुनुहुन्छ । पोखराको शहिद चोक, शहिद पार्क सहित महेन्द्रपुल, चिप्लेढुंगा, पृथ्बीचोक सहितका ठाँउमा दीप प्रज्वलन गरिएको छ ।